पुरुषले गर्दैनन् बन्ध्याकरण

पुरुषले गर्दैनन् बन्ध्याकरण

 

जनकपुरधाम : ३० कात्तिकपछि जनकपुर अञ्चल अस्पतालमा एक सय ९६ जनाले बन्ध्याकरण गरे तर सबै महिलाले। यही अस्पतालमा गत वर्ष तीन सय ५० जनाले बन्ध्याकरण गरेका थिए, जसमा पुरुषको संख्या तीन मात्र रहेको परिवार नियोजन शाखाले जनाएको छ।

पुस महिना सुरु भएसँगै धनुषामा परिवार नियोजनको स्थायी साधन बन्ध्याकरण गराउन स्वास्थ्य संस्था भरिभराउ हुन थालेका छन्। तर, सबै महिला मात्र। अञ्चल अस्पतालमै दैनिक २० देखि ३० जना बन्ध्याकरण गराउन आउने गरेकोमा पुरुष भने एक जना पनि नरहेको परिवार नियोजन शाखा प्रमुख राजकुमारी यादवले बताइन्।

बन्ध्याकरणका लागि महिलाले मिनिल्याप र पुरुषले भ्याक्सेटोमी गर्छन्। यादव भन्छिन्, ‘भ्यासेक्टोमी सेवा लिन एक जना पुरुष पनि आएका छैनन्।' परिवार नियोजन गर्न नहुने धार्मिक मान्यता राख्ने मुस्लिम समुदायका महिलासमेत मिनिल्यापप्रति आकर्षित भइरहेका छन्।

धनुषामा बन्ध्याकरण गर्नु महिलाको ‘ठेक्का'जस्तै भएको छ। पुरुष एक प्रतिशतले पनि बन्ध्याकरण गरेका छैनन्।

गत वर्ष जिल्लाबाट आठ मुस्लिम महिलाले मिनिल्याप सेवा लिएका थिए। एक मुस्लिम महिलाले पुरुषले परिवार नियोजनका अस्थायी साधन प्र्रयोग नगर्ने भएकाले बन्ध्याकरण गरेको बताएकी थिइन्। यो वर्ष भने अहिलेसम्म मुस्लिम महिलाले बन्ध्याकरण सेवा लिएका छैनन्। परिवार नियोजन सेवा लिने अन्य समुदायका पुरुष भने बन्ध्याकरण गर्ने ‘ठेक्का' महिलाको ठानिरहेका छन्।

स्वास्थ्यकर्मी सञ्जय चौधरी महिलाले बन्ध्याकरण गर्नुपर्ने सोचका कारण पुरुष यसबाट पन्छिरहेको बताउँछन्। ‘बन्ध्याकरण गर्‍यो वा परिवार नियोजनको साधन प्रयोग गर्‍यो भने ‘पुरुषत्व'माथि प्रभाव पर्ने संकीर्ण सोचका कारण पनि बन्ध्याकरण गर्न महिलालाई बाध्य पार्ने गरिन्छ', उनी भन्छन्।

अधिकांश पुरुषले बच्चा पाउने वा नपाउने मुख्य जिम्मेवारी महिलाको ठानेर बन्ध्याकरण वा परिवार नियोजनका साधन प्रयोगमा चासो नदेखाएको हुन सक्ने शाखा प्रमुख यादवको ठम्याइ छ। सन्तान पाउनका लागि महिला र पुरुषको जिम्मेवारी एकनासको हुने भएकाले बन्ध्याकरण पनि दुवैले गर्न सक्ने उनी बताउँछिन्।

बन्ध्याकरण वा परिवार नियोजनका अस्थायी साधन प्रयोगमा पुरुषको दबाब हुने गरेको बन्ध्याकरण गर्न आउने महिला बताउँछन्। सामुदायिक अस्पतालमा बन्ध्याकरण गराउन आउनेलाई दुई सय ५० रुपैयाँ यातायात खर्च दिएर प्रोत्साहन गरिन्छ। यो नीतिले पुरुषलाई भ्यासेक्टोमीमा आकर्षित गर्न सकेको देखिएको छैन।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.