ग्राफिक डिजाइनमा महिला

ग्राफिक डिजाइनमा महिला

प्रतीक्षा वाइवा, १६ वर्षमा टेक्दै गर्दा ग्राफिक डिजाइनमा पोख्त भइसकिन्। यही ज्ञानबाट आफ्ना सबै सपनाहरू पूरा गर्ने आत्मविश्वास बटुल्दै छिन्, उनी। ग्राफिकसम्बन्धी ज्ञान आफ्नै बुबा र दिदीहरूबाट सिकिन्, उनले। यसका लागि कुनै इन्स्टिच्युट चहार्नु परेन।

यो पेसाप्रति पुरुषहरूको विशेष आकर्षण रहँदै आएको छ तर, आजभोलि महिला पनि यो पेसामा आउन थालेका छन्। प्रतीक्षाकै कुरा गरौं। ग्राफिक डिजाइनका सबै काम गर्न माहिर छिन्, उनी। ‘ब्राउसर, सर्टिफिकेट, लेटरप्याड, क्यालेन्डर, लोगो, फ्लेक्स डिजाइन, किताबको कभर, टिसर्ट, कपमा प्रिन्टिङ आदि सबै काम गर्न सक्छु’, उनी बताउँछिन्। यसरी प्रतीक्षालाई सबैभन्दा कान्छी ग्राफिक डिजाइनर भने पनि फरक नपर्ला।

पढाइमा अब्बल प्रतीक्षा भीएस् निकेतनमा कक्षा ११ मा कम्प्युटर साइन्स पढ्दैछिन्। ‘म दिनहुँ ग्राफिक डिजाइनको काम गर्छु,’ सुरुमा यो काममा रुचि थिएन। बुवाको ग्राफिक डिजाइनको पसल भएकाले उनले यो सीप हेरेर आपसेआप सिक्दै गइन्। यस कामले उनको क्षमता र सिर्जनशीलता त बढेकै छ, साथै कामको चापअनुसार एकै दिनमा दसौं हजारसमेत कमाउँछिन्।

प्रतीक्षाकी दिदी संगीता वाइवा पनि राम्रो ग्राफिक डिजाइनर हुन्। उनी हाल अध्ययनका क्रममा जापान छिन्। प्रतीक्षा भने पढाइसँगै बुबालाई पसलमा ग्राफिक डिजाइनिङमा सघाउँछिन्। ‘कलेजमा मेरा कुनै पनि साथीले मैले जानेको सीप सिकेका छैनन्। त्यसैले, उनीहरूले आफ्नो डिजाइनका काम पनि मलाई नै दिन्छन्,’ उनले भनिन्। उनी आईटीसम्बन्धी अन्य कोर्स पनि गर्न चाहन्छिन्।

लाजिम्पाट निवासी २८ वर्षीया संगीता महर्जन पनि ग्राफिक डिजाइन गर्छिन्। दुई वर्षदेखि यो काम सम्हालेकी उनले फ्लेक्स प्रिन्ट, होडिङबोर्ड, कार्ड, ब्रोसर आदि छिनभरमै बनाउँछिन्। ‘महिलाहरू यो पेसामा धेरै छैनन्। प्रायः सबै पुरुषहरू नै छन्’, उनले भनिन्। फेसन, इन्टेरिएर डिजाइनमा महिलाको आकर्षण बढ्दै गए पनि ग्राफिकतिर आकर्षित हुन नसकेको उनको बुझाइ छ। विवाहित संगीता आफ्नै हातमा सीप हुँदा परिवारले पनि सम्मान गर्ने गरेको बताउँछिन्।

विगत आठ/नौ वर्षदेखि पुनम नापित पनि ग्राफिक डिजाइनको काम गर्दै छिन्। ग्राफिकमा महिलाको लागि स्कोप देख्छिन् उनी। पुनम सुरुसुरुमा सिलाइबुनाइको काम गर्थिन्। त्यो छाडेर ग्राफिकमा आइन्। ‘काम सिक्न दुईतीन महिना लाग्यो, त्यसपछि सिक्दै जाँदा रमाइलो लाग्यो,’ पुनमले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘कमाइ राम्रै हुन्छ, सीप सिक्ने र आर्थिक रूपमा सक्षम बन्न चाहने सोच भएकालाई महिलाको लागि यो पेसा राम्रो छ।’

ग्राफिक डिजाइन कोर्स पूरा गरिसकेपछि विज्ञापन एजेन्सी, प्रकाशन गृह, प्रिन्ट मिडिया, वेभ डेभलपमेन्टलगायत कम्पनीमा काम गर्ने अवसर पाइन्छ। यसमा महिलाको पनि आकर्षण बढ्दै गएको छ।

यता २१ वर्षीया मन्सु श्रेष्ठ पनि ग्राफिक डिजाइनतर्फ आकर्षित भएकी छन्। ‘दुई महिनादेखि ग्राफिक सिक्दै छु,’ उनले भनिन्। पीके क्याम्पसमा व्यवस्थापन विषय अध्ययन गरिरहेकी मन्सु ग्राफिक डिजाइनमा स्कोप रहेको कुरा धेरैलाई थाहा नभएको बताउँछिन्।

ग्राफिक डिजाइन सिकाउने इन्स्टिच्युट थुप्रै छन्। त्यहाँबाट सामान्य प्राविधिक विषयहरू सिक्न सकिन्छ। त्यसपछि आफैं हात बसाल्ने हो। संगीताले भने ग्राफिकसम्बन्धी ज्ञान आफ्नो दाइबाट सिकिन्। ‘सुरुसुरुमा मलाई कम्प्युटरमा काम गर्न मन लाग्दैनथियो। तर अहिले रमाइलो लाग्छ’, उनले भनिन्। कालिमाटीको सरस्वती आर्टमा ग्राफिकसम्बन्धी काम गर्दै आएकी संगीतालाई दिनभरिजस्तो कामको व्यस्तता रहन्छ।

‘सुरुमा एकाउन्टेन्ट बन्ने इच्छा थियो, मैले सीएको परीक्षा पनि दिएँ तर सफल भइएन। पछि परिवारको करमा ग्राफिक सिक्न थालेँ।’ उनले बताइन्। अरूले ग्राफिक डिजाइनलाई सानो पेसा मान्ने गरेको जस्तो उनलाई लाग्छ। ‘सुरुमा काम खोज्दा पत्रिकाको वर्गीकृत विज्ञापनमा ग्राफिक डिजाइनर मागेको भ्याकेन्सी देखेँ। खासै आकर्षित भइन् तर मलाई काम चाहिएको थियो। आज राम्रै गरेँ जस्तो लाग्छ।’ उनले खुसी हुँदै भनिन्। अफिस, स्कुल, रेस्टुरेन्ट, फाउन्डेसन, अर्गनाइजेसन, एनजीओबाट ग्राफिक डिजाइनका काम आउने गरेको उनले बताइन्। ‘यसमा पनि राम्रो करियर छ। केटीहरूको लागि राम्रो अवसरसहितको पेसा हो,’ उनले भनिन्।

आईटीसम्बन्धी काम गर्दै आएका मुस्कान थापा भन्छन्, ‘यस क्षेत्रमा भविष्य सुरक्षित छ। औपचारिक पढाइलाई नै सबैथोक मानेर बस्नु पर्दैन।’ यो एक प्राक्टिकल विषय भएको उनको बुझाइ छ। ‘आईटीभित्रै पर्ने ग्राफिक सिक्दा धेरै पैसा पर्दैन। सर्टिफिकेट नै लिने हो भने पढाइ अविधिभर दुई लाखसम्म खर्च हुन सक्छ। अहिले सेमिस्टर वाइज पढाइ पनि हुन्छ’, उनले भने, ‘पढाइ सकिएपछि यो पेसामा पैसा कमाउन गाह्रो छैन। प्रविधिको युगमा यो अझै महŒवपूर्ण बनेको छ।’

आईटी टे«निङ नेपाल प्रालिका सीईओ शैलेन्द्र बस्नेतका अनुसार ग्राफिक डिजाइनको कोर्स नेपालमा सिजनल छ। ‘केही महिनाको कोर्स हुन्छ, तालिम लिने विद्यार्थी आउनेजाने भइरहन्छ तर पुरुषभन्दा महिला विद्यार्थीको उपस्थिति न्यून छ।’ ‘एउटा ग्रुपमा एकदुई जनामात्र केटी विद्यार्थी आउँछन्’, उनले भने। बस्नेतका अनुसार महिलाको सहभागिता थोरै भए पनि जतिले सिकेका छन्, ती सफल ग्राफिक डिजाइनर बनेका छन्। यो आईटी कोर्सभित्र पर्छ तर धेरै युवाहरू आफ्नै आफन्तजनबाट सिक्दै यो पेसामा अगाडि बढेको पाइन्छ।

तीनकुनेमा रहेको बोर्डवे इन्फोसिस् नेपालका मार्केटिङ डिपार्टमेन्ट हेड उत्तम अधिकारका अनुसार आजभोलि महिला पनि यो पेसाप्रति आकर्षित भएका छन्। ‘ग्राफिक डिजाइन एक क्रिएटिभ काम हो। भविष्य सुरक्षित भएकाले पनि आकर्षित भएको हुन सक्छ’, उनले भने। आजभोलि भिजुअल र ग्राफिक आर्टको माग बढ्दै गएको अधिकारी बताउँछन्। ‘डिजिटिल युगको कारणले यसको डिमान्ड बढेको हो। यही कारण पनि यसमा लाग्दा भविष्य उज्ज्वल छ।’

ग्राफिक डिजाइनिङले कुनै पनि संघसस्थालाई उसको अलग पहिचान दिने अधिकारीको भनाइ छ। यसका लागि सामान्यतया पावर पोइन्ट, फोटोसप, इन डिजाइन, इलुस्टे«सन, फ्रि ह्यान्डलगायत सफ्टवेयरबारे जानकारी हुनुपर्छ। ग्राफिक डिजाइनिङमा बेसिक कोर्सदेखि डिप्लोमा कोर्ससम्म पनि गर्न सकिन्छ। यो कोर्स पूरा गरिसकेपछि विज्ञापन एजेन्सी, प्रकाशन गृह, कम्प्युटर डिजाइनिङ एजेन्सी, प्रिन्ट मिडिया, वेभ डेभलपमेन्ट कम्पनीहरूमा काम गर्ने अवसर पाइन्छ।


अन्नपूर्ण करिअरका अन्य सामग्रीहरू

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.