'समस्या नेतृत्वबीच राखेर समाधान गर्नुपर्छ'

'समस्या नेतृत्वबीच राखेर समाधान गर्नुपर्छ'

काठमाडौं : असोज १७ पछि एमाले–माओवादी केन्द्रको पार्टी एकताले दुवै दलसहित देशको राजनीति तरंगित रहँदै आएको छ । तीनै तहका चुनाव सम्पन्न भएको र वाम गठबन्धनले दुई तिहाइभन्दा बढी मतको संघीय सरकार गठन भएको करिब तीन महिनामा समेत पार्टी एकीकरणको मिति टुंगो लागेको छैन ।

एकीकरण मिति कहिले कम्युनिस्ट पार्टी स्थापना दिवस वैशाख ९ त कहिले माक्र्स जयन्ती र कहिले मजुदर दिवस मे १ तारिख भने पनि यथार्थमा नेतृत्व हौसिएको मात्र हो मिति तोकिएको होइन भन्ने धारणा जिम्मेवार नेतृत्व तहबाटै व्यक्त हुन थालेको छ ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कोर्टमा एकताको बल रहेको धारणा दुवै दलका नेताहरूको छ । खासगरी माओवादी ‘जनयुद्ध’, चुनाव चिह्न, संगठनमा सहभागिताको अनुपात र एकता महाधिवेशनबाट दाहाललाई अध्यक्ष पदको सुनिश्चितता जस्ता विषयमा एमाले र माओवादीबीच कुरा नमिलेको माओवादी पक्ष खुलेरै राख्छ भने एमाले सांकेतिक रूपमा राख्छ । एमाले नेतृत्व माओवादीलाई ५०÷५० अनुपातमा र विधानमै जनयुद्ध राख्न अस्वीकार गरिरहेको छ । यी विषयले निकास नपाउँदा वैशाख ९ मा हुने भनिएको एकता प्रक्रिया रोकिएको हो ।

एमाले उपमहासचिव घनश्याम भुषालले पार्टी एकता ढिलो हुनु नै समस्या हो भने एकता किन र के कारणले हुन सकेन जानकारी नदिनु अर्को समस्या रहेको बताए । उनले शनिबार भने, ‘एकता नभएपछि नमिलेको कुरा के हो ? किन बताउँदैनन् हाम्रा नेताहरू ? ’ सामान्यतया पार्टी एकीकरण प्रक्रिया अत्यन्त जटिल हो भने यसमा समस्या कहाँं छ, स्पष्ट गर्नैपर्ने उनको धारणा छ । कम्तिमा पनि नेतृत्वले दुई पार्टीबीच अवरोध के हुन् र निकास के हुन सक्छ बताउनै पर्नेमा उनले जोड दिए । उनले ओली र दाहाल धेरै समस्याबीच जेलिएका र तिनबाट निकास पाउन दुवैले नेतृत्व पंक्तिलाई सहयोगी भूमिकामा राख्नैपर्ने धारणा उनले राखे । यसो गरे मात्र एकता प्रक्रियामा सर्वपक्षीय स्वामित्व हुने दाबी उनको थियो । वैशाख ९ र १८ गतेको एकता मिति आधिकारिक होइन भन्दै उनले भने, ‘ओली र दाहाल हौसिएको मात्र हो, एकता हुन्छ तर समय लाग्छ ।’

विधि र नीतिको साटो व्यक्तिमा विवाद

एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वराजदूत महेन्द्रबहादुर पाण्डेले ओली–दाहाल वार्ता विधि र नीतिमा नभएर व्यक्तिको विवादका कारण भइरहेको बताए । ‘व्यक्ति विवाद भन्नाले दुवै पार्टीका दोस्रो पुस्ताका नेता र दायाँंबायाँं गर्नेले एकतापछि पाउने स्थान, मान र सम्मानको कुरा हो । उनीहरू भन्दैछन्, हाम्रो व्यवस्थापन नभए तिमी र तिम्रो पार्टीको व्यवस्थापन कसरी हुन्छ ? ’ उनले भने । एकता विवाद लम्बिँदा घरको विवादमा छिमेकीले आफ्नो स्वार्थ सिद्ध गर्नु नौलो र अनौठो नहुने उनले टिप्पणी गरे । उनले भने, ‘यो समस्या धेरै माओवादीमा छ भने एमाले पनि अछुतो छैन । प्रधानमन्त्री कि पार्टी अध्यक्षमध्ये एक चाहियो भन्नुले सबै स्पष्ट गर्छ ।’

‘वैचारिक आधार नभई एकता हुँदैन’

माओवादी पोलिटब्युरो सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री सुरेश कार्कीले दुई पार्टीको एकताको जग वैचारिक आधारसहितको हुनुपर्ने बताए । एकतामा नेताद्वयका साथै पार्टीका सबै सक्रिय नहुनुले जटिलता आएको धारणा उनले राखे । इतिहासप्रति जिम्मेवार र जवाफदेही हुने गरी गरिने एकताको गृहकार्य केही लम्बिनु स्वाभाविक हुने कार्कीले बताए । उनले भने, ‘मैले एकतामा विदेशी षड्यन्त्र देखेको छैन । कसैका व्यक्तिगत चाहना हुन सक्छन्, त्यस्ता आकांक्षाले एकीकरणमा अप्ठ्यारो पार्दैन ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.