सत्तापक्षकै प्रस्तावमा लेखा समितिमा प्रतिपक्ष सभापति
पोखरा : सत्ता पक्षकै प्रस्तावमा प्रदेश ४ को प्रदेशसभाको सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद कुमार खड्का निर्विरोध भएका छन् । संसद्का विषयगत समितिका सभापति चयनका लागि शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो ।
एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारी प्रस्तावक र कांग्रेस सांसद मेखलाल श्रेष्ठको समर्थनमा खड्काको उम्मेदवारी दर्ता भएको छ । शनिबार साँझ ५ बजेसम्मको निर्धारित समयभित्र उनीविरुद्ध कसैको उम्मेदवारी नपरेको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए । सार्वजनिक लेखा समिति सभापतिमा कुमार खड्का सभापति निर्वाचित भएको आधिकारिक घोषणा भने आइतबार हुनेछ ।
प्रदेशसभाका विषयगत अन्य समितिको सभापति पनि निर्विरोध भएका छन् । विधायन, प्रदेश मामिला र अर्थ तथा विकास समिति सभापतिमा पनि १÷१ जनाको मात्रै उम्मेदवारी परेको खड्काले जानकारी दिए । विधायन समितिमा एमालेका मोहन रेग्मी, प्रदेश मामिलामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र अर्थ तथा विकास समितिमा माओवादी केन्द्रका दीपक कोइरालाको मात्रै उम्मेदवारी परेको छ ।
विधायन समितिबाहेकमा १३÷१३ जना सदस्य छन् । ५९ सदस्यीय प्रदेशसभाका ७ जना मन्त्री छन् । एक जना सभामुख र अर्का उपसभामुख छन् । बाँकी ५० सांसद ४ वटा विषयगत समितिमा अटाएका छन् । प्रदेशसभाका विषयगत समितिका सभापतिहरूको निर्वाचनको मिति सभामुखले तोक्ने प्रदेशसभा नियमावलीले व्यवस्था गरेको छ । सभामुख नेत्रनाथ अधिकारीले शनिबार उम्मेदवारी दर्ता र आइतबार मतदान हुने गरी शुक्रबार निर्वाचन तोकेका थिए ।
प्रदेशसभा नियमावलीले विषयगत समितिको क्षेत्राधिकार पनि प्रस्ट गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुन तथा न्यायसम्बन्धी विषय, विधेयकउपर दफावार छलफल र प्रत्यायोजित व्यवस्थापनसम्बन्धी क्षेत्राधिकार विधायन समितिलाई छ । प्रदेश लोकसेवा आयोगबाहेक प्रादेशिक संवैधानिक आयोगका प्रतिवेदन र सार्वजनिक लेखासम्बन्धी जिम्मेवारी सार्वजनिक लेखा समितिको छ ।
अर्थ तथा विकास समितिलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित विषय क्षेत्रको अधिकार छ । प्रदेश मामिला समितिलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको शान्ति सुरक्षासम्बन्धी विषय, प्रदेश लोकसेवा आयोग, सामाजिक विकास मन्त्रालय तथा मानवअधिकार, सामाजिक सुरक्षा, श्रम र महिला, युवा, ज्येष्ठ नागरिक, बालबालिका र अल्पसंख्यकहरूको कल्याणसम्बन्धी क्षेत्राधिकार छ ।
...
पोखरेल कांग्रेस संसदीय दल नेता
पोखरा (अन्नपूर्ण)ः प्रदेश ४ को कांग्रेस संसदीय दलको नेतामा कृष्णचन्द्र नेपाली पोखरेल चुनिएका छन् । प्रदेश सभा गठन भएको लामो समयपछि मात्रै उक्त पार्टीको संसदीय दलले नेतृत्व पाएको हो । नवलपरासीबाट निर्वाचित कांग्रेसका पुराना, निष्ठावान र इमान्दार नेता पोखरेल प्रदेश सभामा कांग्रेस सांसदहरुमध्ये सबैभन्दा वरिष्ठ पनि हुन् । तर बागलुङका सांसद मणिभद्र शर्मा, कास्कीका सांसद कुमार खड्का र कास्कीबाटै निर्वाचित अर्का सांसद विन्दु थापा पनि उक्त पदका आकांक्षी थिए । शनिबार कांग्रेस संसदीय दल नेतृत्वका लागि सर्वसम्मति जुटेको हो । आइतबार मात्रै कृष्णचन्द्र नेपाली पोखरेल संसदीय दल नेता निर्विरोध भएको घोषणा हुनेछ ।