७० प्रतिशत महिलामा याैन तथा प्रजनन रोग

७० प्रतिशत महिलामा याैन तथा प्रजनन रोग

स्याङ्जा : हरिनास गाउँपालिकाका ३ मग्यामकी ८२ वर्षीया कमला लम्साल (नाम परिवर्तन) पाठेघर खस्ने समस्याबाट पीडित भएको वर्षौं भयो। लाज र संकोचका कारण रोग लुकाउँदै आएकी उनले झण्डै ४०÷४५ वर्षदेखि अहिलेसम्म पाठेघरमा रिङ राखेर बसेको बताइन्। उनको पाठेघरमा संक्रमण भएको छ। पाठेघरको वरिपरि घाउ छ। वडा नं ४ की ३४ वर्षीया माया नेपाली (नाम परिवर्तन) पनि योैन तथा प्रजनन रोगबाट प्रभावित छन्। उनीहरू केवल शिविरमा आउने पीडित महिलाका उदाहरणमात्र हुन्। यौन तथा प्रजननसम्बन्धी रोगबाट धेरै महिला प्रभावित भएको गाउँपालिकामा सञ्चालित शिविरबाट थाहा भएको छ।

स्याङ्जा सदरमुकामदेखि दक्षिणपूर्वी क्षेत्रमा रहेको हरिनास गाउँपालिकामा भएको प्रजनन स्वास्थ्य शिविरमा आउनेमध्ये करिब ७० प्रतिशत महिलामा यौन तथा प्रजननसम्बन्धी रोग देखिएको हो। स्वास्थ्य मन्त्रालयको सहयोग तथा जिल्ला अस्पताल स्याङ्जाको आयोजनामा पाठेघरको मुख तथा स्तन क्यान्सरसम्बन्धी गरिएको प्रारम्भिक परीक्षणमा आएका महिलामध्ये ७० प्रतिशतमा यौन तथा प्रजनन रोग देखिएको प्रसूतिरोग विशेषज्ञ डा. शंकर राउतले जानकारी दिए।

दुई दिनसम्म सञ्चालित शिविरमा हरिनास गाउँपालिका ३ स्थित मग्याम चिसापानीमा दुई सय दुई जना र वडा नं. चारस्थित क्याक्मीका एक सय ८७ जनाले पाठेघरको मुख र स्तनसम्बन्धी प्रारम्भिक परीक्षण गराएका हुन्। तीमध्ये पाँच जनाको अवस्था जटिल देखिएपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रेफर गरिएको छ भने चार जनालाई व्यायाम गर्न सिकाइएको छ। एक जना वृद्धालार्ई सात दिन ड्रेसिङ तथा औषधि सेवन गर्न सुझाव दिइएको मग्याम स्वास्थ्यचौकी प्रमुख ढालबहादुर थापाले जानकारी दिए।

शिविरमा आउनेमध्ये धेरैले पहिलोपटक यौन तथा प्रजनन रोगसम्बन्धी परीक्षण गरेको जनाएका छन्। पहिलोपटक स्वास्थ्य परीक्षण गराएको बताउने मग्यामका ८० वर्षीया ऋषिकुमारी सिग्देल यस्ता शिविर सञ्चालन भइरहनुपर्ने बताउँछिन्। आएकामध्ये ३० देखि ६० वर्ष उमेर समूहका महिलामा बढी समस्या देखिएको छ। वर्षको एक पटक सबै महिलाले पाठेघरको मुखको परीक्षण गराउन आवश्यक मानिन्छ।

महिलामा पाठेघर र स्तन क्यान्सर बढी देखिनथालेपछि यी दुवैलाई नियन्त्रण गर्न स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले केही साताअघि स्याङ्जाका सबै पालिकामा शिविर सञ्चालन गर्ने उद्घोष गरेकी थिइन्। सोहीबमोजिम जिल्लामा पहिलो पटक हरिनास गाउँपालिकामा महिलाका पाठेघर र स्तन क्यान्सरसम्बन्धी प्रारम्भिक परीक्षण सुरु गरिएको हो। हरिनास गाउँपालिका जिल्ला सदरमुकामदेखि झण्डै ३५ किलोमिटर दूरीमा पर्छ। दक्षिणपूर्वी क्षेत्रमा रहेको गाउँपालिका जिल्लाकै सबैभन्दा अपायक मानिन्छ। शिविरबाट महिलाले स्वास्थ्यसम्बन्धी धेरै जानकारी पाएको बताउँदै शिविरबाट महिला लाभान्वित भएका गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.