भाडामा रिक्सा चालकको मनपरी

भाडामा रिक्सा चालकको मनपरी

 जनकपुरधाम : धनुषाको जनकपुरमा भाडादर तोकिएको भए पनि विद्युतीय (ई) रिक्सा चलाउनेले मनपरी असुल्न थालेका छन् । चोक-चोकमा भाडादर उल्लेख गरिएको होर्डिङ बोर्ड ट्राफिक प्रहरीले राखिदिएको छ तर त्यसको कार्यान्वयन हुन सकेको छैन ।

होर्डिङ बोर्डमा उल्लेख भएअनुसारको भाडामा यात्रु बोक्न रिक्सा चालकले अस्वीकार गर्ने गरेका छन् । तोकिएभन्दा दोब्बर भाडा रिक्सा चालकले असुल्ने गरेको यात्रु बताउँछन् ।

रामानन्द चोकबाट अञ्चल अस्पतालसम्म १० रुपैयाँ भाडा कायम गरिएको छ तर रिक्सा चालकले २० रुपैयाँ लिने गरेका छन् । मुरली चोकमा ड्युटी खटिएका प्रहरीकै अगाडि रिक्सा चालकले यात्रुसँग मोलमोलाइ गर्छन् । मुरली चोकबाट एयरपोर्ट गेटसम्म १५ रुपैयाँ भाडादर कायम गरिए पनि रिक्सा चालकले १ सय रुपैयाँसम्म भाडा लिने गरेको स्थानीय बताउँछन् ।

शिव चोकबाट भानु चोक पुगेकी बर्दिबासकी सुनीता दाहालसँग ज.१ह २६६ नम्बरको रिक्सा चालकले २० रुपैयाँ लिए तर भाडा भने ५ रुपैयाँ मात्र कायम गरिएको छ । नाम बताउन नचाहेका ती चालकले भने, ‘प्रशासनले त्यत्तिकै भाडा कायम गरेको हो । त्यो भाडासँग हाम्रो मतलब छैन ।’

ट्राफिक प्रहरीले हचुवाका भरमा भाडादर कायम गरेको रिक्सा चालक बताउँछन् । भाडादर कायम गरिएपछि रिक्सा चालकले ट्राफिकविरुद्ध आन्दोलित भएका थिए तर कारबाही नगर्ने ट्राफिकको आश्वासनपछि उनीहरू पछि हटेका थिए । एक रिक्सा व्यवसायीले भने, ‘अहिलेसम्म कारबाही गरेको छैन । कारबाही गरे हामी फेरि आन्दोलन गर्छौं ।’ उनका अनुसार तोकिएको भाडा लिएर रिक्सा चलाए खान पनि पुग्दैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक अभिनन्दन चौधरीले तोकिएभन्दा बढी भाडा रिक्सा चालकले यात्रुबाट असुल्ने गरेको कुरा थाहा नभएको बताए । ‘अहिलेसम्म एक यात्रुले पनि गुनासो गरेका छैनन्’, उनले भने, ‘गुनासो गरे बढी भाडा असुल्ने चालकलाई कारबाही हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी, स्थानीय तह र म्याजिक व्यवसायीका प्रतिनिधिको संयुक्त छलफलबाट भाडादर कायम गरिएको उनले जानकारी दिए । भाडादर तोक्दा रिक्सा चालकले आन्दोलन गरेको विषयमा उनले भने, ‘आन्दोलत गरेका थिए तर पछि उनीहरू आफैंले रिक्सा चलाउन थाले ।’ भाडामा सबैको सहमति रहेकाले तल-माथि हुन नसक्ने उल्लेख गर्दै उनले भने, ‘कायम गरिएको भाडा मात्र यात्रुबाट रिक्सा चालकले उठाउन पाउँछन् ।’

जनकपुरमा करिब ४ हजार ई-रिक्सा सञ्चालनमा छ । भाडादर कायम गरिएको करिब महिना बित्यो तर कार्यान्वयन भयो कि भएन भन्नेमा एक दिन पनि अनुगमन भएको छैन । अनुगमन नहुँदा नै रिक्सा चालकले मनपरी तरिकाबाट भाडा असुल्ने गरेको यात्रुको गुनासो छ । प्रशासनले तोकेअनुसार भाडा नदिँदा कतिपय युवालाई रिक्सा चालक गालीगलौज गर्ने मात्र होइन, कुटपिटमै उत्रिने गरेको स्थानीय श्याम साह बताउँछन् ।

जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले भाडा बढी लिने गरेको गुनासो आउने गरेको तर बजार अनुगमन नभएको स्वीकार गरे । तोकिएको भाडादर कायम गराउन ट्राफिक प्रहरीसँग छलफल गर्ने उनको भनाइ छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.