यसरी मधेस फकाउँदै छन् ओली
वीरगन्ज : मधेस आन्दोलनताका मधेस विरोधी नेताको आरोप लागेका नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसलाई फकाउन थालेका छन्।
स्थानीय तहको निर्वाचनलाइ लक्षितगरी शक्ति प्रदर्शन गर्न वीरगन्जमा मङगलबार एमालेले आयोजना गरेको बृहतआमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले आफ्नो सरकारका पालामा भएका विकासका कामहरुको मात्रै वर्णन गरेर मधेसलाइ फकाउने कोशीस गरेका हुन्।
मधेस विरोधी भन्नेहरुले भन्दै गरे तर आफूले मधेसको विकासमा काम गर्दै गरेको उनले सुनाए। ओलीले भने,‘तराइ मधेसका बाटोघाटो चौडा र चिल्लो पार्ने केपी ओली, हुलाकी सडक बनाउने केपी ओली, एयरपोर्ट बनाउने केपी ओली, खेतखेतमा सिँचाई पुरयाउने केपी ओली अनि मधेस विरोधी केपी ओली कसरी भयो? ओलीलाई मधेस विरोधी भनेको सुन्दा अच्चम लाग्छ।
उनले थपे,‘केपी ओलीलाई मधेस विरोधी भन्नेहरुले भन्दै गरे हुन्छ म मधेसको विकासमा लागि नै रहन्छु।’ आफ्नै सरकारको कार्यकालमा मधेसका १३ वटा सहरलाई स्मार्ट सिटि बनाउने अभियान थालेको जिकिर गरे। ‘मधेसका सहरमा ढल भन्ने कसैले देखेकै थिएनन्, तर मेरो सरकारकै पालामा मधेसका हरेक सहरमा ढलको प्रबन्ध गरेर शहरलाइ सफा राख्ने काम गरियो। मधेसका जनता, अधिकारको झुठा नारा दिने नेताहरुको भ्रमबाट अब भने मुक्त भएको’ पनि उनले बताए।
तराई मधेसका थुप्रै नेता र जनताहरु भ्रमबाट मुक्त भएर एमालेमा प्रवेश गर्नु भएको छ, अब सबै मिलेर मधेसलाई विश्वकै नमूना र उदाहरणीय बनाउनुपर्छ। यहि संकल्प लिएर नै आफू मधेसी जनताको माझमा आएको ओलीले बताए।
ओलीले एमाले मधेस, पहाड र हिमाल सबैको साझा पार्टी भएको भन्दै देशको साझा विकास अभियानमा साथ दिन मधेसी जनतालाइ अपिल पनि गरे। उनले एमाले पार्टीको एक मात्र लक्ष्य र उद्धेश्य समृद्ध नेपाल सुखी नेपाली रहेको बताए। मधेस , पहाड र हिमाल सबै क्षेत्रगरी सिङ्गो नेपालको विकास भए मात्र समृद्ध नेपाल बन्ने उनले बताए।
उनले भने,‘केपी ओली गफ गर्ने नेता होइन काम गर्ने नेता हो, गरेर देखाउछ पनि। विगतमा आफू नेतृत्वको सरकारले नेपालमा उत्पादित विद्युत, भारत, भुटान, म्यान्मार र श्रीलंकमा निर्यात गर्न योजना बढाएको स्मरण गराए।’
डिजिटल नेपाल बनाउने अभियान पनि आफ्नो सरकारले थालेको भन्दै उनले नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्य बनाउने सोच पनि राखेको बताए। कृषिको आधुनिकीकरण र व्यवसायिकरण गरिने भन्दै ओलीले अब फेरि एमालेको सरकार बनेपछि मुलुक आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्रको दिशामा अगाडि बढने जिकिर गरे।
७ हजार जना एमाले प्रवेश गरेको दाबी
कार्यक्रममा पर्साको विभिन्न पालिकाका निर्वाचित जनप्रतिनिधी अरु दलका नाम चलेका नेताका साथै सर्वधारण गरी ठूलो संख्यामा एमालेमा प्रवेश गरेका छन्।
पर्साको सखुवा प्रसौनी गाँउपालिको उपाध्यक्षमा जसपाबाट निर्वाचित फुलमतिदेवी चौधरी, बहदुरमाइ नगरपालिकाको उप्रमुखमा काँग्रेसबाट निर्वाचित गायत्री देवी यादव, धोबीनी गाँउपालिकाका उपाध्यक्ष पारसनाथ कुर्मी एमालेमा प्रवेश गरेका हुन्।
तीन जना उपप्रमुख र केही वडा अध्यक्षसहित झण्डै ७ हजार जना एमालेमा प्रवेश गरेको एमाले वीरगन्ज महानगर कमिटीका उपाध्यक्ष महेश दासले बताए। नवप्रवेशीहरुलाइ एमाले अध्यक्ष ओलीले फुलको माला र टीका लगाएर पार्टीमा स्वागत गरे। एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुको अध्यक्षतामा भएको कार्यक्रमलाइ एमाले सचिव एंव पूर्वमन्त्री रघुवीर महासेठ, पोलिटब्युरो सदस्य एंव पूर्वमन्त्रीद्धय प्रभु साह र ज्वाला साह, नवप्रवेशी वीरगन्ज महानगरपालिका नगरप्रमुख विय सरावगी, नेता शीव पटेललगायतले पनि सम्बोधन गरे।
प्रतिक्रिया दिनुहोस !