एमसीसीले राजनीति थप तरंगित

एमसीसीले राजनीति थप तरंगित

काठमाडौं : एमसीसी अनुमोदन गर्नुपर्ने विषयले राजनीतिक वृत्त थप तरंगित बनेको छ। यही बेला एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झन्डै सात महिनामा बालुवाटार पुगे।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरे। यससँगै शीर्ष नेतृत्वबीच जुन संवादहीनता थियो, त्यो एक हदसम्म तोडिएको छ। यो भेटमा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने अनुपस्थित रहे।

‘एमसीसीलाई चाँडै एउटा निष्कर्षमा पुर्‍याउने विषयमा सकारात्मक छलफल भएको छ’, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘एमसीसीको अहिले जुन भ्रम र आशंका छ यो अब छिट्टै हट्छ। एमसीसीले केही दिनमै निकास पाउँछ।’ राष्ट्रिय राजनीति सकारात्मक दिसामा गएको मन्त्री कार्कीले बताए। संसद्लाई प्रभावकारी बनाउन सरकार र प्रतिपक्षको उत्तिकै जिम्मेवारी छ भन्ने छलफल भएको उनले सुनाए।

एमाले महासचिव शंकर पोख्रेलले प्रधानमन्त्रीले एमसीसीलगायत विषयलाई अघि बढाउन सहयोग मागेको जानकारी दिए। तर, माओवादी अध्यक्ष दाहालले प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गर्नुपर्ने, निर्वाचनपछि मात्र एमसीसीको विषय प्रतिपक्षसहित उठाउन सहज हुने बताएको महासचिव पोख्रेलले सुनाए। ‘एमसीसीका विषयमा पहिला सत्तापक्ष स्पष्ट हुनु जरुरी छ। राष्ट्रिय मामलाका विषयमा सत्तापक्ष एकमत हुनुपर्ने हो’, पोखरेलले भने। एमालेले भने सत्तापक्ष स्पष्ट भएपछि मात्रै एमाले धारण बनाउने जवाफ दिएको थियो। 

डेडलाइन फागुन १६
देउवा र दाहालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पठाएको पत्र आइतबारै सार्वजनिक भएको छ। त्यस्तै, एमसीसी मुख्यालयले शुक्रबार देउवा र दाहाललाई जवाफी पत्र पठाएर सम्झौता फेबु्रअरी २८ अर्थात् फागुन १६ गतेभित्र अनुमोदन गरिसक्न समयसीमा दिएको पाइएको छ। दुवै नेताले दिएको समयसीमाभित्रै सम्झौता संसद्बाट पारित हुने विश्वास अमेरिकाले लिएको पत्रमा जनाइएको छ।

फागुन १६ को डेडलाइनसम्म अमेरिका कुरेर बस्ने जनाइएको छ। एमसीसीले अब सम्झौता संशोधनको सम्भावना नरहेको प्रष्ट्याएको छ। अमेरिकाले भनेको छ– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद्बाट अनुमोदन गराउने विषयमा सम्झौता गरेको र त्यहीअनुसार संसद्मा अनुमोदनको कुरा भइसकेको छ। त्यसैले पनि अब संशोधनको सम्भावना छैन। देउवा र दाहालले असोज १३ मा संयुक्त पत्र लेखेरै पाँच महिना पर्खिन आग्रह गरेका पत्रमार्फत खुलेको छ। 

दाहालले एमसीसीलाई लेखेको पत्रमा भएको हस्ताक्षर आफ्नो रहेको शीर्ष भेटमा स्वीकार गरेका थिए। ‘दाहालले भन्नुभयो– पत्र मैले नलेखेको भनेको छैन। तर एमसीसीको विषय निर्वाचनपछि अगाडि बढाउँदा राम्रो हुन्छ भन्ने मेरो धारणा हो’, एक नेताले भने। एमाले महासचिव पोखरेलले कूटनीतिका विषयमा सत्तापक्षबाटै अलग–अलग धारणा आउनु दुखद भएको बताए। ‘तीन नेताबीच भएको छलफलमा एमसीसीका विषयमा जनताका बीचमा एउटा कुरा गर्ने, अन्तर्राष्ट्रिय नीतिका विषयमा अर्को कुरा गर्ने उपयुक्त हैन भनेर ध्यानाकर्षण गराएका छौं’, उनले भने । 

कांग्रेस नेता रामचन्द्र पौडेलले एमसीसी एउटा मुद्दा हो तर चुनाव देशको प्रमुख मुद्दा भएको बताएका छन्। यही कारण गठबन्धन चुनावसम्मै हुनु आवश्यक रहेको नेता पौडेलेको भनाइ छ। भने, ‘एमसीसी मात्र नभन्नुहोस् हाम्रो अगाडि चुनाव आइरहेको छ।’ सरकारले सभामुखलाई एमसीसी अघि बढाउनुपर्ने प्रस्ताव राखेको छ। कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आइतबार सभामुख सापकोटासँग भेट गरेका हुन्। मन्त्री बडुले भने, ‘एमसीसी अब संसद्मै टेबल गराउनुहोस् भनेका छौं। उहाँले संसद्मा वातावरण नभएको बताउनुभयो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.