नेपालगन्ज उपमहानगर खुल्ला दिशामुक्त घोषणा
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका खुल्ला दिशा मुक्त घोषणा भएको छ । नगर प्रमुख डा.धवल शम्शेर राणाले शनिबार उपमहानगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा खुल्ला दिशामुक्त घोषणा गरेका हुन् ।
उपमहानगरपालिकाका २३ हजार तीन सय २८ सबै घरधुरीमा शौचालय निर्माण भएको जानकारी दिँदै नगर प्रमुख राणाले जनतासमक्ष १३ बुँदे प्रतिबद्धता गरेका थिए । जसमा खुल्ला ठाउँमा दिशा नगर्ने, सेफ्टी ट्याङ्कीको पाइप नालामा नमिसाउने र फोहर व्यवस्थापनमा नगरवासीले हातेमालो गरेर सघाउने छन् ।
खुल्ला स्थानमा दिशा गर्ने वा सेफ्टी ट्याङ्कीको पाइप नालामा जोड्नेलाई पहिलो पटक पाँच सय, दोस्रो पटक एक हजार र पटक–पटक अटेर गरेमा पाँच हजार जरिवाना गरी सामाजिक बहिस्कार गरी कानुनी कारवाहीको प्रक्रिया अघि बढाइने उल्लेख छ ।
उपमहानगरमा २०७० सालदेखि वडा नं. २४ को शिवशक्ति टोलबाट खुल्ला दिशामुक्त अभियान सुरु गरिएको थियो । पहिलो पटक वडा नं. २ र ५ खुल्ला दिशामुक्त घोषणा गरिएको अभियानका फोकल पर्शन ओविराज आचार्यले बताए । अभियानका क्रममा उपमहानगरले विपन्न परिवारका झण्डै १ हजार ४ सय घरलाई शौचालय निर्माणका लागि सहयोग गरेको थियो ।
बाँके जिल्लामा ०६५ सालदेखि नै खुल्ला दिशामुक्त अभियान सुरु भएको थियो । नेपालगन्ज उपमहानगरपालिका बाहेक सबै स्थानीय तह खुल्ला दिशामुक्त घोषणा भइसकेको जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव राजकुमार चौधरीले जानकारी दिए ।
उनले भने, ‘उपमहानगर मात्र खुल्ला दिशामुक्त हुन बाँकी थियो । अब आगामी २८ असारमा बाँके जिल्ला नै खुल्ला दिशामुक्त घोषणा गर्ने कार्यक्रम छ ।’