दाहाल दाइका ‘अन्तिम कुरा’
गम्भीर दाहाल दाइ
साउन २३ गते दाहाल यज्ञनिधि बिरामी भएर अस्पताल भर्ना हुनुभएको खबर मैले सहजै विश्वास गर्न सकिनँ। २० गते आइतबार टेलिफोनबाट उहाँले मलाई अह्राउँदै भन्नुभएको थियो, ‘एउटी नानी छे ! रेडियोमा काम गर्न रहराएकी ! लौन ठाकुरबाबु के गर्न, सकिन्छ। हैन, हौे जागिरै दिऊँ त्यसलाई !’
म केही बोल्न खोज्दै थिएँ, सायद उहाँले मेरो भाका बुझ्नुभयो र भन्नुभयो, ‘म छुच्चो छु नि बा, तपार्इंलाई मेरो बानी थाहा नै छ। रेडियोको अवस्था कस्तो छ, सबै नबुझी जागिर मागेँ, मैले गल्ती गरेँ कि ! बाध्यकारी छैन, काम गर्न सक्छे राख्नु, सक्दिन उही जानोस्।’ कुरा सकिएको बुझेर मैले फोन राख्न नपाउँदै फेरि उहाँकै फोन आयो, ‘मैले त भुसुक्कै भुलेछु। ती नानीलाई म नै भोलि लिएर रेडियो आउँछु।’
२१ गते सोमबार दाहाल दाइलाई रेडियो अन्नपूर्णमा पर्खिएर बसेको थिएँ। तर, करिब १ बजेतिर ती बहिनी (सुमित्रा लुइँटेल) रेडियोमा आइन्, दाहाल दाइको रेफरेन्स लिएर। ती बहिनीसँग कुरा गर्दै थिएँ, दाइकै फोन आयो, ‘मैले नानी जिम्मा लगाएँ, काम कस्तो गर्न सक्छे, हेर्नु है। काम गर्छु भन्छे भने नजान्ने रछ भने पनि सिकाउनु पर्छ। बिहीबार बात मार्ने सल्लाह यथावत् छ।’
बिहीबार २४ गते उहाँले रेडियो कार्यक्रम ‘जदौ’ रेकर्ड गर्नु नै थियो। २० गतेकै टेलिफोन संवादमा बिहीबार लामै बात मार्ने सल्लाह गरेका थियौ्र, हामीले।
यसैले उहाँ गम्भीर बिरामी पर्नुभयो भन्ने पत्याउनै सकिरहेको थिइनँ। रेडियो–सहकार्यको कारण पनि उहाँबारे सत्यतथ्य खबर जान्नुपर्ने दबाब ममा थियो। घरमा फोन गरेँ, उठेन। भाउजूको मोबाइल बन्द।
बिहीबार सबेरै अन्नपूर्ण अस्पताल माइतीघर पुगेँ। आईसीयूको कुरुवा कक्षमा रहनुभएकी सुधा भाउजूको अनुहार देखेपछि मन अलि शान्त भयो। उहाँ सामान्य अवस्थाको जस्तो देखिनुहुन्थ्यो। कुरा गर्दै जाँदा भाउजूले मनमा उर्लिएको वेदना र पीडालाई अनुहारमा नल्याउनुभएको मात्रै रहेछ। उहाँ सहजै भन्दै हुनुहुन्थ्यो, ‘दाजु फर्कनुहुन्न होला ! बिहीबार रेडियो जानु छ भन्दै कार्यक्रमको तयारी मंगलबार नै गर्नुभएको थियो। आजै रेडियो जानु थियो। अब उहाँका लागि बिहीबार आउँछ जस्तो मेरो मनले देखेको छैन !’
भाउजू दाहाल दाइको जीवनसंगिनी मात्र होइन, असल शिष्य पनि हो। सम्भवतः रुनु कायरहरूको कर्म हो भनेर दाजुले सिकाउनुभएको पनि थियो कि ! भाउजूको साहसका अगाडि मैले पनि मेरा आँखाका डिल भत्किनबाट जोगाएँ। तर, मन भत्किनबाट जोगाउन सकिनँ। मसँगै रहनुभएका रेडियोका कार्यक्रम संयोजक सञ्जय बराल र प्रशासन प्रमुख (कवि ईश्वरवल्लभका पुत्र) आनन्दवल्लभ भट्टराईलाई कोट्याएँ र भाउजूसँग बिदा नभई अस्पतालबाट हिँडे। भर्याङ झर्दै गर्दा मेरा आँखा आँसुले भरिएका रहेछन्। ‘दाहाल दाइलाई केही हुँदैन होला। भाउजूलाई हेर्नुस् न कस्तो बोल्ड’, भन्दै आनन्द सरले मेरो मन सायद अन्यत्रै मोड्न खोज्दै हुनुहुन्थ्यो।
‘दाहाल दाइको मृत्यु घोषणा मात्रै हुन बाँकी छ जस्तो लाग्यो भाउजूका कुरा सुन्दा !’, सञ्जयजी भयानक अनुमान लगाउँदै हुनुहुन्थ्यो।
दाहाल दाइ प्रत्येक भेटमा आफ्नो आयु बढोत्तरीको जस सुधा भाउजू र तमाम शुभेच्छुकलाई दिनुहुन्थ्यो। भन्नुहुन्थ्यो, ‘सुधाको सेवा असामान्य छ बा। मैले पत्नीको ऋण तिर्न नसक्ने भएको छु।’
दाहाल दाइको महाप्रस्थानको अनुमान लगाएर बस्नुभएकी भाउजूको आँट र धैर्यलाई सलाम गर्दै रेडियो फर्किएँ। रेडियोका सबै साथीको एक मत रह्यो— दाहाल दाइको खबर सम्प्रेषणमा कुनै कञ्जुस्याइँ नगर्ने।
चिनजानका २३ वर्ष
दाहाल दाइसँग भेट्दा म बीस वर्षको थिएँ। कविताको एडिक्ट युवा। नाम चलेका कवि भेट्दा भगवान् भेटेजस्तै लाग्थ्यो। जानकारी भएसम्म साहित्यिक कार्यक्रम छोड्दिनँ थिएँ। कसले भेट गरायो दाहाल दाइसँग, अहिले सम्झनामा छैन। तर, २०५२ को जेठ महिनाको कुनै एक कलिलो बिहानीमा उहाँको पहिलो दर्शन गरेको थिएँ। उहाँकै निवास दाहालको दैलो अनामनगरमा।
काठमाडौं छिरेको सात वर्षमा पहिलोपटक ‘दैलो’ शब्द पढेको थिएँ। गाउँमा आमाले ‘दैलो राम्रोसँग लगा’ भनेको, बाले ‘दैलो खुल्लै छोडेर मरिछस्’ भन्दै गाली गरेको यादले म गलेको थिएँ त्यस दिन। पहिलो भेटमै उहाँले मेरो नालीबेली खोतल्न थाल्नुभयो। अर्घाखाँचीका स्थान र केही मान्छेबारे मलाई उहाँले पढाउनुभयो। म आफैं जिल्लिएको थिएँ।
बस्दै गर्दा कविताका कुरा आए। रेडियो नेपालमा कविता पढ्न निम्तो नै दिनुभयो। त्यस दिन म डेरामा कसरी पुगेँ, अहिले सम्झिँदा अचम्म लाग्छ। कति ठाउँमा नाचे हुँला। भोलि रेडियो नेपाल गएर रेडियोमा कविता सुनाउनु थियो। अझ ठूलो कुरा त अर्घाखाँचीमा बा, आमाले सुन्ने रेडियोमा म सुनिनेछु, भोलि।
दाहाल दाइलाई सम्झनुपर्ने धेरै विषय र सन्दर्भ छन्। उहाँजस्तो धर्मको आलोचक अर्को को भेटिएला र ! भेट्ने भए ईश्वरलाई नै मारिदिनेजस्तो रिस थियो उहाँमा। उहाँको नास्तिक पक्ष अर्को विचित्रको पाटो छ।
दाहाल दाइले भनेभैmं रेडियो नेपाल गएँ। सामान्य मान्छे सिंहदरबार भित्रको रेडियो छिर्न नपाउने रछन्। दाहाल दाइले मलाई सँगै रेडियोमा लैजानुभयो। कविता पाठको तयारी रातभर गरेको थिएँ। मेरो त अन्तर्वार्ता पो गर्नुभयो, कार्यक्रम साहित्य संसारमा। किशोर कविको उपमा दिँदै। छोटो वार्तापछि कविता वाचन गरेर डेरा फर्किएको थिएँ। जीवनमा पहिलोपटक ठूलो मान्छे बनेको म। आफ्नै छायाँ भीमकाय देखेको दिन थियो त्यो।
अब दाहाल दाइसँग साहित्यिक कार्यक्रमतिर भेट हुन थाल्यो। २०५७ सालको फागुनमा दाहाल दाइ मिर्गौला रोगबाट पीडित हुनुभएको खबर सनसनी भयो। उहाँलाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भयो भन्ने सुन्नासाथ स्वतःस्फूर्त रूपमा आर्थिक सहयोगका अभियान चले। सर्वदा वाङ्मय प्रतिष्ठानका नामबाट हामीले पनि आर्थिक सहयोग जुटाउन लाग्यौं। पहिलो प्रत्यारोपणपछि उहाँ मिर्गौला रोगसँगको यात्रामा रहनुभयो। लामो समयपछि करिब चारपाँच वर्षअघि उहाँले मलाई अनामनगरको घरमा बोलाउनुभयो। अमेरिकाबाट नेलकटर उपहार ल्याइदिनुभएको रहेछ।
अनुजप्रति गज्जबको आस्था र माया
दाहाल यज्ञनिधिले नेपाली साहित्यमा अतुलनीय गुन लगाउनुभएको छ भन्दा अतिरञ्जना हुन्छ। यो कुरा उहाँलाई पनि मन पर्दैन थियो। उहाँले रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रम चलाउनु नै नेपाली साहित्य र समाजका लागि ठूलो उपलब्धि भयो।
त्यही ‘साहित्य संसार’को सहारा लिएर कयौं युवा लेखकलाई काठमाडौंमा टिकाउनुभयो उहाँले। भर्खर लेख्दै गरेको युवा, जसलाई राजधानीमा बाँच्न सुकी मोहोरको आवश्यकता हुन्छ, त्यस्तालाई उहाँले आफ्नो कार्यक्रममा खुबै ठाउँ दिनुभयो। यसको एउटै कारण थियो, रेडियो नेपालको एकछत्र प्रभाव र कार्यक्रममा समावेश गरिएका रचनाको पारि श्रामिक।
दाहाल दाइ या ‘साहित्य संसार’ नभएको भए नाम कहलिएका थुप्रै लेखक अस्तित्वमा हँदैन थिए, आजका। कसैले अहिले त्यो गुन सम्झिएलान्, कसैले भुल्लान्। लेखक नीलम कार्की निहारिका दाहाल दाइलाई बुवा मान्छिन्। दाहाल र कार्की बीचको यो नाता ‘साहित्य संसार’ले नै जोडिदिएको हो। नीलमले लेखन–संघर्ष गरिरहँदा, काठमाडौंको बसाइ धान्न आर्थिक जोहोमा दौडिरहँदा या अनेक खाले पीडा आइपर्दा पूर्वी पहाड खोटाङको दाहाल दाइ बुवाजस्तै बनेर उभिएकै कारण नीलमको मनले उहाँलाई बुबा मान्यो।
नीलमजस्ता थुप्रै अरू लेखक पनि छन् दाहालको छहारी पाएका। नीलम खुलेरै दाहाल दाइको गुनको चर्चा गर्छिन्।
दाहाल दाइसँग युवाप्रतिको आस्था र विश्वास विचित्रकै थियो। उहाँ आफ्ना समकक्षीसँग निहुँ खोज्ने या उनीहरूका छिद्र खोतल्ने तर नयाँलाई औंला होइन, ज्यानै दिने गर्नुहुन्थ्यो।
कवि प्रकाश सिलवालले स्थापना गरेको नागार्जुन साहित्य प्रतिष्ठानमा लामो समय प्रकाश अध्यक्ष र दाहाल दाइ सल्लाहकार भएर काम गर्नुभयो। पछि त दाहाल दाइ अध्यक्ष, प्रकाश संस्थापक सल्लाहकार बनेर सार्वजनिक कार्यक्रम हुन थाले। दाहाल दाइमा बडप्पना रत्तिभर थिएन। उहाँका यस्ता थुप्रै दृष्टान्त भेटिन्छन्।
विचारमा प्रस्ट
दाहाल यज्ञनिधि विचारमा प्रस्ट नहुनेलाई ‘लिंग हराएको मानिस’को संज्ञा दिनुहुन्थ्यो। नेपाली राजनीतिक वृत्तमा गणतन्त्रको चर्चा असम्भवजस्तो रहेकै बेला उहाँ राजतन्त्रको चर्को विरोधीका रूपमा चिनिनुहुन्थ्यो। आफूलाई कांग्रेस दाबी गर्ने उहाँको विचार कम्युनिस्ट भनिनेका भन्दा धेरै गुना अग्रगामी थियो।
उहाँ आदर्श र व्यवहारलाई एउटा सिक्काका दुई पाटाजस्तो बनाउन सक्ने व्यक्ति। जस्तो आदर्श बोक्नुभयो त्यही व्यवहार गर्नुभयो। कांग्रेस भन्दै जीवनभर छाती पिटेर हिँड्नुभयो। कांग्रेसले कहिल्यै उहाँको आवश्यकता देखेन। तर, उहाँले अवसरका लागि न कसैको ढोका ढक्ढक्याउनुभयो न त गुँड सार्दै पार्टी चहार्नुभयो। विचारमा प्रस्ट उहाँ पूर्वाग्रहरहित हुनुहुन्थ्यो। के कम्युनिस्ट, के कांग्रेस सबै उस्तै उहाँका लागि। उझ वामपन्थी विचार बोक्ने स्रष्टासँग उहाँको उठबस बढी। तर, राजतन्त्रको वकालत गर्नेप्रति उहाँको दृष्टि भयानक थियो। सरकारी मुखपत्र मानिने रेडियो नेपालबाटै उहाँले सामन्तवाद र ठालुवादका विरुद्ध सार्थक आवाज उठाउनुभयो। राजामहाराजा र तिनका आसेपासेप्रति उहाँको घृणा चाहिनेभन्दा बढी नै थियो। उनीहरूका नालीबेली उहाँसँग हुन्थे।
धेरै मानिस कोठामा र चौरमा भिन्नाभिन्नै कुरा गर्छन् र ठूला भएको भ्रम पाल्छन्। के कोठा, के चौर, के रेडियो, एकै स्वर हुन्थ्यो दाहाल दाइको। यसैकारण दाहाल दाइ समाजको ठूलो हिस्सामा प्रिय बन्न सफल हुनुभयो।
२०६२/२०६३ को आन्दोलनमा दाहाल दाइ
अनामनगरस्थित ‘दाहालको दैलो’ र दाहाल यज्ञनिधि नभएको भए २०६२/२०६३ को आन्दोलनमा परिवर्तन चाहने स्रष्टाको भूमिका कस्तो हुन्थ्यो होला ! राजाको हैसियतमा ज्ञानेन्द्र शाहले मच्चाएको राजनीतिक उधुमविरुद्ध लेखक–कविहरू के गर्थे होलान् ! धेरै कम स्रष्टालाई एकातिर राखेर सहजै भन्न सकिन्छ— ताक पर्दा तिवारी नत्र गोतामेको अवस्थामा हुन्थे।
दाहाल दाइले आफ्नो घरमा युवालाई भेला गराएर निरंकुश राजतन्त्रविरुद्ध आन्दोलित बनाउने काम मात्रै गर्नुभएन। लोकतान्त्रिक साहित्यकार संघ गठनमा संयोजनकारी भूमिका पनि निर्वाह गर्नुभयो। उहाँले नै कांग्रेस र कम्युनिस्ट कित्तामा विभाजित स्रष्टालाई राजतन्त्रविरुद्ध एक बनाउन लोकतान्त्रिक स्रष्टाको संयुक्त मञ्च निर्माणमा प्रथम कदम चाल्नुभयो। त्यही कारण स्रष्टहरू गोलबद्ध भएर सडकमा आउँदा दलहरूलाई बल पुगेको थियो।
रेडियोसँगको सहकार्य
विसं २०७३ चैतमा रेडियो अन्नपूर्ण नेपालको जिम्मेवारी सम्हाल्ने गरी आउने निधो गरेको साँझ मैले दाहाल यज्ञनिधिलाई फोन गरेर कार्यक्रम चलाउन प्रस्ताव गरेको थिएँ। मेरो प्रस्ताव सहजै स्वीकार गर्दै वैशाख २ देखि कार्यक्रम चलाउने टुंगोमा उहाँ पुग्नुभयो। उहाँसँग झन्डै डेढ वर्ष काम गर्ने अवसर मिल्यो। कहिल्यै आफ्नो दक्षता र बौद्धिकताले रेडियो टिमलाई उहाँले होच्याउनुभएन, बरु हौसला मात्रै दिनुभयो। गल्ती–कमजोरी औंल्याएर कहिल्यै अपमान गर्नुभएन, बरु सिकाउन र सिक्न प्रेरित गर्नुभयो।
दाहाल दाइ रेडियोमा विशेष गरी मसँग अति औपचारिक बन्नुभयो। मसँग भेट्न पनि समय माग्ने। कुरा गरिसकेपछि ‘मैले अलमल्याएँ माफ पाऊँ है बा !’ भन्ने। मेरो कार्यकक्षमा प्रवेश गर्दा सीधै कहिल्यै प्रवेश गर्नुभएन। मैले उहाँलाई धेरैपटक भनेको थिएँ, ‘दाजु तपाईंको व्यवहारले म लज्जित छु। तपाईं हाम्रो अभिभावक। तपाईंले हप्काउनुपर्छ।’ जवाफमा उहाँ भन्नुहुन्थ्यो, ‘कार्यालयको मर्यादालाई कायम राख्नुपर्छ।’
मन पर्ने चाट
दाहाल दाइ रेडियोबाट पाउने पारिश्रमिक रेडियो टिमलाई खाजा ख्वाएरै सक्नुहुन्थ्यो। उहाँको मन पर्ने खाजा— चाट। उहाँ रेडियो आएको बेला पाँच/सातजना साथी उहाँसँग चाट खान जानैपर्ने नियमजस्तै बनेको थियो।
साउन १९ गते शनिबारका लागि साउन १० गते नै उहाँले कार्यक्रम रेकर्ड गर्नुभएको थियो। कार्यक्रमको दैलो खोल्दै उहाँले ‘यो मेरो अन्तिम प्रसारण हो’ भन्नुभएछ। संयोग कस्तो, त्यही कार्यक्रम उहाँको अन्तिम भयो। उहाँले समाज र देशका लागि बोल्नुपर्ने सबै ‘अन्तिम कुराहरू’ त्यही कार्यक्रममा बोल्नुभयो।
दाहाल दाइलाई सम्झनुपर्ने धेरै विषय र सन्दर्भ छन्। उहाँजस्तो धर्मको आलोचक अर्को को भेटिएला र ! भेट्ने भए ईश्वरलाई नै मारिदिनेजस्तो रिस थियो उहाँमा। उहाँको नास्तिक पक्ष अर्को विचित्रको पाटो छ।
आजलाई यहीँ बिट मारेँ।
जदौ दाहाल दाइ !
प्रतिक्रिया दिनुहोस !