विप्लव कार्यकर्ताले कब्जा गरे वडा सदस्यको घरजग्गा
रोल्पा (लिबाङ) : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले रोल्पाका एक वडा सदस्यको घरजग्गा कब्जा गरेको छ। माडीगाउँपालिका-१ पेदीखोलाका वडा सदस्य हरिप्रसाद घर्तीको घरजग्गा बिहीबार दिउँसो विप्लव कार्यकर्ताले कब्जा गरेका हुन्।
माडीगाउँपालिका स्तरीय नेकपाको ‘जनसत्ता’ र स्थानीय गाउँलेले घरजग्गा कब्जा गरेको नेकपाका नेता एवं माडीगाउँपालिकाका जनसत्ता प्रमुख सूर्य खड्काले जानकारी दिए।
वडा सदस्य घर्तीले पेदीखोला गाउँको आसपासका विभिन्न योजनामा आर्थिक हिनामिना गरेको आरोप उनीहरुको छ। आर्थिक पारदर्शिता नगरेसम्म घरजग्गा कब्जा हुने नेता खड्काको भनाइ छ।
घरजग्गा कब्जा गर्नुअघि घर्तीसँग नेकपाका कार्यकर्ताले वडा सदस्य पदबाट राजीनामा दिनुपर्ने, गाउँकै विद्यालयलाई ७५ हजार दिनुपर्ने र सबै योजनाको खर्च सार्वजनिक गर्नुपर्ने शर्त राखेका थिए।
राजीनामा दिएर गाउँपालिका पुगेका सदस्य घर्तीले गाउँ फर्किएर योजनाका खर्चमा पारदर्शिता गर्न नचाहेको र छलफलसमेत गर्न अटेरी गरेको भन्दै नेकपाको कार्यकर्ताले भदौ १४ गते दिउँसो झण्डा गाड्दै घरजग्गा कब्जा गरेका हुन्।
विभिन्न योजनाको ४ लाख २४ हजारको हिसाबकिताब दुरुस्त देखाउन नसकेको नेकपाको आरोप छ। पेदीखोलामा निर्माण गरेको लालीगुराँस कृषक समूहको बिउ भण्डारण भवन निर्माण, भवन मर्मत, पानीपोखरी निर्माण, सिम्रीखोला कुलो मर्मत, बाख्राको खोर निर्माण, वन सफाई, ठाडोखोला खानेपानी योजना, सुन्तला पकेट क्षेत्र निर्माण लगायतका योजना खर्च पारदर्र्शी नभएको नेकपाका कार्यकर्ताको दाबी छ।
विभिन्न योजनाका लागि गाउँमा आएको १८ लाख ४३ हजार ५ सयको खर्च विवरण पारदर्शिता गर्नसके मात्र घरजग्गा कब्जामुक्त गरिने नेकपा नेताको भनाइ छ।
‘सदस्य घर्तीले विभिन्न योजनाको पैसा भ्रष्टाचार गरेको भन्दै गाउँलेले डेढ वर्षअघि नै नेकपालाई निवेदन दिएका थिए’, नेकपा नेता खड्काले भने, ‘सो बारे बुझ्दा हिसाब दुरुस्त देखाउन सकेका छैनन्। जनताको सामु हिसाब दुरुस्त देखाउन सके राजीनामा र कब्जा घरजग्गा फुकुवा हुन्छ।’
कब्जा भएको घरगाउँ इलाका प्रहरी कार्यालय घर्तीगाउँदेखि आधा घण्टा टाढाको सडक दूरीमा पर्छ। घरमा ताला लगाई झण्डा राखेको थाहा पाएपछि प्रहरी घर्तीको घरमा पुगेको इलाका प्रहरी कार्यालय घर्तीगाउँका इन्चार्ज प्रहरी निरीक्षक राजकुमार पहाडीले बताए।
‘घरको ढोकामा लगाएको ताला र गाडिएको झण्डा नियन्त्रणमा लिएका छौं’, प्रहरी निरीक्षक पहाडी भन्छन्, ‘सदस्यले कार्यालयमा जाहेरी समेत दिएका छन्।’
वडा सदस्य घर्तीले आफूलाई नेकपाका कार्यकर्ताले भदौ ११ गते दिउँसो घरबाट बोलाएर नरदुङमा लगेर योजनामा भ्रष्टाचार गरेको भन्दै कुटपिट गरेको जिकिर गर्दै आएका छन्।
उनी सोही दिन राति दुई बजे छोडेपछि घर फर्किएका थिए। भोलिपल्ट फेरि बोलाएर राजीनामा दिन लगाएको उनको दाबी छ। गाउँपालिका आएपछि सदस्य घर्ती गाउँ फर्केका छैनन्।
सदस्यको राजीनामा गाउँपालिकामा नआएको गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले बताए। अध्यक्ष पुनले सदस्यलाई लागेको आरोपबारे गाउँपालिकाको पनि ध्यानाकर्षण भएको बताए। ‘आर्थिक हिनामिना गरेको बारे गाउँपालिकाले पनि सदस्य उपर छानबिन गर्छ’, अध्यक्ष पुनले भने, ‘नेकपाका कार्यकर्ता र जनस्तरमै पुगेर समस्याको टुंगो लगाउन सकिन्छ।’
सदस्यले हिनामिना गरेको भनिएको योजना र रकमसहितको विवरण गाउँपालिकाले समेत नेकपाका कार्यकर्ताबाट माग गरेको जनाएको छ। सत्ताधारी नेकपाका नेता विजय घर्तीको नेतृत्वमा सदस्यमाथि लागेको आरोप र राजीनामा बारे छानबिन गर्न पाँच सदस्य समिति बनाइएको छ।
खर्च विवरण दुरुस्त देखाउनुको साटो उल्टो प्रहरीमा जाहेरी दिएको भन्दै नेकपाका कार्यकर्ताले भने कडा आपत्ति जनाएका छन्। भ्रष्टमाथि कारवाही गर्ने पार्टीको घोषित नीति नै भएको नेकपा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’को भनाइ छ। जनता र जनसत्ताले सदस्यको राजीनामा र घरजग्गा कब्जा गरेको उनले दाबी गरे।
प्रतिक्रिया दिनुहोस !