दुई दिनदेखि डढेलो अनियन्त्रित, बस्ती सल्किने त्रासले गाउँलेको बास जंगलमा

दुई दिनदेखि डढेलो अनियन्त्रित, बस्ती सल्किने त्रासले गाउँलेको बास जंगलमा

गोरखा : चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु बेस क्याम्पमा दुईदिनदेखि लागेको डढेलो अझै नियन्त्रित हुन सकेको छैन ।

गाउँले र स्थानीय सुरक्षाकर्मीको दुई दिनदेखि आगो निभाउने प्रयास गर्दा पनि सम्भव नभएको स्थानीय धार्के पुनेलले जानकारी दिए । ‘गाउँलेहरु हिजोदेखि सुतेका छैनन् । जंगलमै छन्’, उनले भने, ‘आज पनि दिनभर निभाउन प्रयास गरे । सकेनन् । साँझदेखि यमनङ खोलाको किनारमा भेला भएर बसेका छन् । खोला वारी पनि डढेलो आयो भने गाउँसम्म पुग्ने खतरा छ । त्यसैले डेढसय भन्दा धेरैजना गाउँले जंगलमै छन् ।’ सामागाउँमा आगो आउनसक्ने भन्दै गाउँले त्रसित भएको उनले बताए । उनका अनुसार अहिले आगो वीरेन्द्रताल आसपास फैलिरहेको छ ।

सामागाउँको एउटै बस्तीमा एकसय ३० घरधुरी छन् । सो क्षेत्र मनास्लु संरक्षण क्षेत्रभित्र पर्छ । आगालागीमा परी धेरै संरक्षित वन्यजन्तु मरेको देखिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ । ‘पाँचवटा भन्दा धेरै कस्तुरी मृग डढेलोमा परेको हाम्रा स्टाफहरुले फेला पारेका छन्’, आयोजना प्रमुख नरेन्द्र लामाले भने, ‘अन्य घोरल, झारल, नाउरहरु पनि धेरै मरेका छन् । दुखद् घटना भयो ।’

मनास्लु बेस क्याम्प गएर फर्केका पर्यटक पथप्रदर्शक सुवास पोखरेलले जंगलमा फालेको आगोसहितको चुरोटको ठुटोबाट आगो सल्केको चुमनुब्री–१ का वडा अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए । उनका अनुसार पथप्रदर्शक पोखरेल प्रहरीको नियन्त्रणमा छन् ।

सामागाउँ तिब्बत सीमानामा पर्ने गोरखाको गाउँ हो । अहिले हिउँ नपरेको र खुख्खा हावा चलिरहेकाले आगो फैलिरहेको वडा सदस्य मिङ्मार लामाले जानकारी दिए । हिजो राति आगो निभाउन सफल भए पनि आज बिहानदेखि आगो फेरि सल्केको थियो ।

आगो नियन्त्रणका लागि सामागाउँ प्रहरी चौकी र नामरुङ प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए । सम्पर्क हुन नसकेकाले विस्तृत विवरण पाउन नसकेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.