टहराबाट पहरा

टहराबाट पहरा

ताप्लेजुङ : ताप्लेजुङका प्रहरी युनिट अधिकांश जीर्ण भवनमा छन् । चीन र भारतसँगको सीमामा पर्ने ओलाङचुङगोला, घुन्सा, तोक्पेगोला र याम्फुदिनमा प्रहरी चौकीको अवस्था दयनीय छ । जिल्लामा ३५ प्रहरी युनिट छन् । यीमध्ये १० अस्थायी र २५ वटा स्थायी हुन् ।

‘काठले बारेकाले बाह्रै महिना चिसो हुन्छ’, ३१ सय मिटर उचाइमा रहेको घुन्सा प्रहरी चौकीका एक जवानले भने, ‘रातभर शीत चुहिन्छ, चिसोले बिरामी पारिहालिन्छ ।’ सरकारले हिमाली भेगका लागि दिएको दुर्गम भत्ता पर्याप्त नरहेको प्रहरीको गुनासो छ ।

चिसोमा छुट्टै पोसाक दिइएको छैन । ‘दिइएको पोसाकले न चिसो धान्छ न त सुत्ने कोठाले शीत ओताउन सक्छ’, एक प्रहरीले भने, ‘टहरामा बसेर सबैतिर पहरा दिनुपर्ने अवस्था छ ।’ प्रहरी स्रोतका अनुसार जिल्ला अदालत र प्रशासन कार्यालयको सुरक्षा युनिटबाहेक सबैलाई वातानुकूलित भवन चाहिन्छ । तर, चारवटाबाहेक कार्यालय व्यक्तिगत प्रयोजनका लागि निर्माण गरिएका पुराना, जीर्ण र भत्कन लागेका घरमा राखिएका छन् । जिल्ला प्रहरी, इलाका प्रहरी तेल्लोक तथा साँघु र लिवाङ प्रहरी चौकी मात्र नयाँ भवनमा छन् ।

निर्वाचन क्षेत्र नम्बर (ख) भर कार्यक्षेत्र रहेको दोभान इलाकाको झनै बिजोग छ । वर्षौंअघि ढुंगा र काठले निर्माण गरिएका ससाना टहराजस्ता भवन भूकम्पले चर्किएका छन् । मेरिङ्देन गाउँपालिका–५ मा रहेको थुकिमा चौकी जीर्ण छ । जुनसुकै बेला लडेर पुर्ला कि भनेर डराई बस्नुपरेको प्रहरी बताउँछन् । कञ्चनजंघा पदमार्गमा पर्ने काँडेभञ्ज्याङ चौकी भवन पनि भत्कने अवस्थामा पुगेको छ ।

गाउँमा दिनहुँ सानादेखि ठूला घटना भइरहने हुँदा प्रहरीहरू चौबिसै घण्टा अलर्ट रहनुपर्छ । तर, प्रहरीका लागि दिइएको भौतिक सुविधाको अवस्था भने चिन्ताजनक छ । अधिकांश युनिटको अवस्था नाजुक हुँदा सेवाप्रवाहमा समस्या रहेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले बताए । ‘धरै युनिट जोखिम मोलेर बसिरहेका छन्’ उनले भने, ‘यसले त्यहाँ कार्यरत प्रहरीलाई मानसिक रूपमै कमजोर बनाएको छ ।’ सुरक्षा सामग्री जोगाउन धौधौ परिरहेको उनले सुनाए ।

उनका अनुसार अनुकूल संरचना अभावमा गोप्य अनुसन्धान तथा वादी र प्रतिवादीलाई खुला ठाउँमा बयान लिन असहज छ । ठूलो क्षेत्र भएको दोभान इलाकालाई मुद्दा चलाउने जिम्मा दिन सकिने भए पनि संरचना नहुँदा नसकिएको उनले सुनाए । ‘भौतिक संरक्षण भरपर्दो नहुँदा मुद्दाको गोपनीयता कायम राख्न र गोप्य कागजातको सुरक्षामा ढुक्क हुन सकिँदैन’, उनले भने, ‘थुनुवालाई ल्याएर राख्ने अवस्था छैन ।’

४ सय २४ जनाको दरबन्दी रहेकोमा २ सय ७३ जना मात्र कार्यरत छन् । चीन र भारतसँग सीमा जोडिएका प्रहरी युनिट असुरक्षित छन् । घरेलु मदिरा र अवैध हतियारका कारण जिल्लामा अपराध धेरै हुने प्रहरीको तथ्यांक छ । यस्तो अवस्थामा सुरक्षा व्यवस्था चुस्त पार्न प्रहरीलाई गाह्रो पर्ने रेडक्रस ताप्लेजुङका पूर्व अध्यक्ष गणेश अधिकारीले बताए । उनले नागरिक र स्थानीय सरकारले प्रहरीलाई सहयोग गर्नु पर्ने बताए । आफ्नो क्षेत्रमा रहेका प्रहरी युनिटहरुको भवन निर्माणका लागि जिल्लाका कुनै पनि स्थानीय तहले चासो नदेखाएको अधिकारीको भनाइ छ । यस वर्ष प्रदेश सरकारले चालू आर्थिक वर्षमा दोभान ईलाका तथा थुम्वेदिन र खेवाङ चौकीको भवन निर्माणका लागि बजेट विनियोजना गरेको छ । छिट्टै ति भवनको निर्माण सुरु हुने डीएसपी थापाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.