मतिनाको बदलिएको जीवन (फोटो कथा)
कुमारीलाई जीवित देवीको रूप मानिन्छ। २०६५ असोज २१ देखि २०७४ असोज ११ सम्म कुमारीका रूपमा पुजिइन्— मतिना शाक्य। काठमाडौं इटुम्बहालकी उनी कुमारीपछि के गर्दै छिन् ? उनको जीवन कसरी चलिरहेको छ, जिज्ञासा स्वाभाविक छ।
कुमारीका रूपमा नौ वर्ष पुजिएकी मतिनाको दैनिकी अहिले अन्य बालबालिकाको जस्तै छ। उनी कहिलेकाहीँ बिदाको दिन दिदीसँग घुम्न मात्र जान्नन्, फिल्म हेर्ने र मामाघरलगायत आफन्तकहाँ पनि गइरहन्छिन्।

तीन वर्षको उमेरमै कुमारीमा चुनिइन्, मतिना। त्यसपछिका नौ वर्ष उनले कुमारी घरमै बिताइन्। नर्सरी पढ्न स्कुल त गइन्, तर त्यसपछि कक्षा ६ सम्मको पढाइ उनले कुमारी घरबाटै पूरा गरिन्। कक्षा ७ मा पढ्दै गर्दाको कुरा हो, दसैंसम्म उनले कुमारीघरमै बिताइन्। त्यसपछि भने कार्यकाल सकियो। र उनी आफ्नै घर फिरिन्। त्यसपछि उनले नेवारी संस्कृतिअनुसारका बेलविवाह, सूर्यदर्शन आदि संस्कार पूरा गरिसकिन्।
गणबहालस्थित ग्रिन पिस को-एड विद्यालयको कक्षा ८ मा अध्ययनरत मतिना हरेक विषयमा जिज्ञासु रहेको शिक्षिका सूचिता तुलाधर बताउँछिन्। अतिरिक्त क्रियाकलापमा अघि सरिहाल्ने उनको बानी छ।

विद्यालयको २५औं वार्षिकोत्सवका दिनको कुरा हो, उनलाई गाउन भनियो। तर उनले त्यतिमै चित्त बुझाइनन्। गायनका अतिरिक्त उनले दुई गीतमा नृत्यसमेत गरिन्। गत वर्षदेखि अन्य साथीभाइसँगै विद्यालय जान थालेकी मतिना सुरुका दिनमा कम बोल्थिन्। तर बिस्तारै उनले आफूलाई अन्य साथीहरू जस्तै बनाउँदै गइन्।
कुमारी हँदा वर्षमा १३ पटक मात्र उनलाई विशेष अवसरमा सार्वजनिक कार्यक्रममा निकालिन्थ्यो। हजारौंको भीडले उनलाई घेथ्र्याे। उनी चुपचाप चुपचाप सबैसमक्ष जिज्ञासु दृष्टि लगाउँथिन्। त्यति मात्र कहाँ हो र, भक्तजनलाई आशीर्वाद दिने पनि उनै त हुन्थिन्।



तर अहिले उनको दैनिकी फेरिएको छ। अहिले कुनै जात्रा, मेला, पारिवारिक जमघट आदिमा पनि उनी भेटिन सक्छिन्। पहिले सबैलाई आशीर्वाद दिने उनी अहिले आशीर्वाद थाप्नेहरूको भीडमा पनि देखिन सक्छिन्। करिब डेढ वर्ष भयो, उनले आफूलाई सामाजका विभिन्न सहभागितामा घुलमिल गराउँदै आएकी छन्। गत भदौमा मात्र उनी गुठीले सञ्चालन गरेको बाँसुरी बजाउने कार्यक्रममा सहभागी भइन्। यसै वर्ष उनी साथीहरूसँग घुम्न रूपन्देहीको लुम्बिनीसमेत गइन्। र रमाइन्।

प्रतिक्रिया दिनुहोस !