आईपीएलमा पञ्जाबविरुद्ध सन्दीपको शान : २७ रन खर्चेर दुई विकेट लिए, दिल्लीलाई १६७ रनको चुनौती
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्लीको चौथो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने कसिलो बलिङ गरेका छन्।
सोमबार टस जितेर फिल्ड रोजेको दिल्ली क्यापिटलका लागि सन्दीपले साम कुरान र सर्फराज खानको विकेट लिए।
सन्दीपले ३.५ ओभरमा व्यक्तिगत पहिलो विकेट लिए। पहिलो विकेटका लागि सन्दीपले साम कुरानलाई एलबीडब्ल्यू धरापमा पारेका हुन्। कुरानले १० बलमा २० रन बनाएका थिए। सन्दीपले व्यक्तिगत पहिलो ओभरमा एक विकेट लिँदै १० रन मात्र दिए।
शनिबारको खेलभन्दा आज सन्दीपले कसिलो बलिङ गरे। शनिबार चार ओभरमा २९ रन दिँदै एक विकेट लिएका सन्दीपले सोमबार दुई विकेट लिँदै २७ रन खर्चिएका हुन्।
सन्दीपले व्यक्तिगत दोस्रो विकेट १३.५ ओभरमा लिए। दोस्रो विकेटका लागि उनले सर्फराज खानलाई क्याट आउट गराएका हुन्। खान २९ बलमा ३९ रन बनाएर आउट भए।
छैटौं ओभरमा व्यक्तिगत दोस्रो ओभरका लागि आएका सन्दीपले चार रन मात्र दिए। ११ औं ओभरमा व्यक्तिगत तेस्रो ओभर बलिङ गरेका सन्दीपले एउटा छक्कासहित १० रन दिए।
आईपीएलको चौथो खेलमा सोमबार दिल्लीले किंग्स इलाभेन पञ्जाबको सामना गरेको हो । पञ्जाबले दिल्लीलाई ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १६७ रनको चुनौती दिएको छ । दिल्लीले केही बेरमै जवाफी ब्याटिङ गर्नेछ । दिल्लीका लागि सन्दीपले दुई विकेट लिए भने क्रिस मोरिस ३ र रबडाले दुई विकेट लिए । दुई ब्याट्सम्यान भने रन आउट भए ।
सन्दीपको टोली दिल्ली क्यापिटलले शनिबारको तेस्रो खेलमा निर्धारित २० ओभरमा रन बराबरी भएपछि सुपर ओभरमा जित निकालेको थियो।
आईपीएल यो संस्कारणको पहिलो खेलमा दिल्लीले मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गरेको थियाे । दोस्रो खेलमा भने दिल्ली चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भयो। तेस्रो खेलमा दिल्लीले कोलकातालाई सुपर ओभरमा हराएको हाे ।
गतसालको आईपीएलमा सन्दीपले पछिल्ला ३ खेलमा मात्रै खेल्ने अवसर पाएका थिए। सन् २००८ देखि सुरु भएको आईपीएलको यो १२ औं संस्करण हो। सन्दीप आईपीएलमा सहभागी पहिलो नेपाली क्रिकेटर हुन्।