८औं राष्ट्रिय खेलकुद: रंगशालाका लागि ६७ लाखका नयाँ पूर्वाधार
नेपालगन्ज : ८औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माणाधीन खेल पूर्वाधारमा पूर्वनिर्धारित परियोजनाभन्दा बाहेक ६७ लाख नयाँ व्ययभार थपिएको छ। नेपालगन्ज रंगशाला परिसरमा निर्माणाधीन परियोजनाभन्दा बाहेक सडक कालोपत्रे, विद्युत र लाइट, गेट, व्युटी यार्डको लगानीमा बजेट थपिएको प्रादेशिक खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम ओलीले जानकारी दिए।
उनका अनुसार नेपालगन्ज रंगशाला पुग्ने सडक सुरुमा ग्राभेल गर्ने मात्र भनिएको थियो। अहिले कालोपत्रे गरिँदैछ। सडक कालोपत्रे गर्नका लागि ३० लाख बजेट थपिएको छ। जुन यसअघि कुनै निर्माण आयोजनामा राखिएको थिएन।
त्यसैगरी रंगशाला परिसरमा पहिलो पटक एउटा हाइमास्क लाइट जडान गरिँदैछ।हाइमास्क बाहेकका पनि रंगशाला परिसरमा विद्युतीकरण र लाइटमा गरी २२ लाख रुपैयाँको नयाँ बजेट बनेको छ।
रंगशालामा पहिलो पटक हाइमास्क लाइट जडान भएको हो। फुटबल खेल्नका लागि भने यो लाइट पर्याप्त हुँदैन। अझैं केही लाइट थप गर्नुपर्नेछ। त्यसैगरी नेपालगन्ज रंगशाला ४ फिट अग्लो भएको छ। पश्चिममा छानासहितको भीआइपी प्याराफिट र पूर्वमा विगतकै प्याराफिट छ।
अहिले चारैतिर प्याराफिट थपिएको छ। रंगशालाभित्र प्रवेश गर्नका लागि दक्षिण र उत्तरमा थप दुईवटा गेट बनिरहेका छन्। जुन यसअघि रंगशाला निर्माण गर्ने बजेटमा समेटिएको थिएन। यी गेटका लागि साढे ७ लाखका दरले दुई वटाको १५ लाख रुपैयाँ थपिएको छ।
रंगशालाको मैदान र भीआइपी प्याराफिटको गरी २५ करोडको संरचना मात्र विगतको टेण्डर प्रक्रियाबाट निर्माणाधीन छ। नयाँ बन्ने केही शौचालयको पनि रकम थपिएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट पूर्वनिर्धारित योजनाभन्दा बाहेकका कामका लागि थप रकम निकासा गर्नुपर्ने बताउँछन्। उनले अन्नपूर्ण पोस्ट्सँग भने, 'विगतमा योजना बनाउँदा प्राथमिकतामा राखिएन। अहिले आवश्यकता देखिएकाले काम भइरहेको छ।'
८औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा खेलका पूर्वाधारमा एक अर्ब रुपैयाँमा खेल पूर्वाधार निर्माण भइरहेका छन्। कूल बजेटको आधा रकम नेपालगन्ज रंगशाला परिसरमा निर्माणाधीन ८ खेलका पूर्वाधारमा खर्च भइरहेको छ।