केटाहरूको कुण्ठा
मेरो दैनिक उठबस सामान्य मान्छेदेखि बौद्घिक वर्ग र व्यापारीहरूसम्म छ। जसको औसत लगत भन्छ, ‘यौनको मामिलामा खतरा हुँ। दुनियाँ भ्याइदिन्छु।’
पछिल्लो पल्ट चलेको ‘मीटू अभियान’ले यौन दुर्व्यवहारमाथि केही सचेत गराएको छ। तर आम मान्छेलाई ‘के गर्यो भने यौन दुर्व्यवहार हुन्छ ?’ भन्ने थाहा नै छैन।म जसरी हुर्किएँ। यौनबारे जे कुरा सिकेँ। त्यो सिकाइले मभित्र ज्ञान होइन, कुण्ठा भरिदियो। कसरी एउटा पुरुषभित्र यौनकुण्ठा भरिँदै जान्छ ? पुरुष के चाहन्छ ? के सोच्छ ?
यौनबारे कस्ता गफ हुन्छन् ? त्यसैको फेहरिस्त हो यो आलेख। र, यो आलेख पूर्णतः पुरुष मनोविज्ञान र मस्तिष्कले लेखिएको हो।
मेरो सबैभन्दा नजिकको महिला आमा हो। जोसँग यौनको कुरा हुने कुरै भएन। पछि एकदुई असल महिला साथी बने। उनीहरूबाट केही कुरा सिक्न पाएँ। अहिले सबैभन्दा नजिक श्रीमती छिन्। जसले के गर्दा यौन दुर्व्यवहार हुन्छ भन्ने बताइरहेकी छिन्। उनी विगतका आफ्ना अनुभव सुनाउँछिन्। भोगेका दुर्व्यवहारबारे बताउँछिन्। उनका कुरा सुन्दा लाग्छ, कुनै पनि पुरुषले जीवनमा जानेर वा नजानेर दुर्व्यवहार गरेकै छन्। महिलाले भोगेकै छन्। पानीमाथिको ओभानो बन्ने र आत्मसत्यलाई नस्विकार्ने अटेरी पुरुषको मामिलामा अलग कुरा हो।
म आफू जवान भएकोसमेत थाहा पाइन्। पहिलो पल्ट स्खलित हुँदा मर्छु जस्तो लागेको थियो। जुन कुरा ‘छुटेका अनुहार’मा लेखेको छु।
कक्षा ८ मा पढ्दा यौनबारे निकै थोरै पढाइ भयो। जसले यौनको रहस्य घटाएन। बरु बढायो। त्यो यस्तो पाठ थियो जसले उल्टो असर देखाउँथ्यो। सबै केटाहरू पाठ पढेर उत्तेजित हुन्थे। केटीहरू बेस्मारी लजाउँथे।हामी केटाहरूले पहिलो दुर्व्यवहार त्यहीँ गर्र्यौं। जहाँ लजाइरहेका केटीहरूको अनुहारमा एकोहोरो आँखा गाड्यौं। जुन ‘दुर्व्यवहार हो !’ भनेर जान्न पाएनौं। अहिले सोच्छु ती केटी साथीहरूलाई कति धैरै असहज भयो होला। जुन उनीहरूले ‘दुर्व्यवहार हो !’ भन्नेसमेत थाहा पाएनन्।
त्यसपछि मेरो यौनशिक्षा सिनियर दाजुहरूबाट भयो। जसले छाडा जोकहरू सुनाए। उत्तेजित बनाए। उनीहरू घण्टौं छाडा गफ सुनाउँथें। आफूले फलानी–फलानीसँग ‘यसरी गरेको उसरी गरेको’ भनेर बताउँथे। गफ गर्दा उनीहरूको अनुहार उज्यालो हुन्थ्यो। ठूलै प्रगति गरेको हुँ झैं ठान्थे। हामीले पनि त्यस्तै कुरा सिक्यौं। सिनियर दाजुहरू जस्तै हुन खोज्यौं। कति पुरुष साथी छन् जसले प्रेमिकादेखि आफ्नी श्रीमतीसँगको सम्बन्धसमेत जस्ताको त्यस्तै बताउँछन्।
मेरो संगतका धेरै पुरुष साथी एकभन्दा बढी केटीसँग सम्बन्ध राख्नुलाई ठूलो प्रगति ठान्छन्। जसको कुण्ठित मगज युवतीको छाती र योनि वरिपरि जतिखेरै चक्कर मारिरहेको हुन्छ। हाम्रा भाइ पुस्ता पनि उस्तै गरी हुर्किए जसरी हाम्रा दाजुहरू हुर्किए। हामी हुर्कियौं। ती भाइ पुस्ताका भाइहरू पनि उसैगरी हुर्किरहेका छन्।
यो प्रवृत्ति त बाउको सम्पत्ति स्वतः छोराको नाममा सरे जस्तो एउटा पुस्तापछि स्वतः अर्को पुस्तामा सर्दो रहेछ। थाहै नपाई एकबाट अर्कामा फैलिँदो रहेछ।
पुरुषको मनोविज्ञान हुन्छ, ‘मलाई यौनको मामिलामा दुनियाँले खरो ठानून्।’ साथीहरू ईष्र्यामा परून्। यस्तो हर्कत गर्दा पुरुषहरू आनन्द लिन्छन्।
मेरो उठबसका धेरै प्रतिशत साथीहरू यौनको मामिलामा आफूलाई बहादुर ठान्छन्। मेरो दैनिक उठबस, सामान्य मान्छेदेखि बौद्धिक वर्ग र व्यापारीहरूसम्म छ। जसको औसत लगत भन्छ, ‘यौनको मामिलामा खतरा हुँ। दुनियाँ भ्याइदिन्छु।’
म किशोर हुँदाका सुरुआती दिनमा वाग्मती सिँचाइ आयोजनाले हाम्रो टोलमा नहर खनिरहेको थियो। त्यहाँ काम गर्ने एकजना दाइले बडो गर्वसाथ बताएको थियो, ‘राति सुतिरहेकी आइमाईको कोठामा गएर पनि गरेको छु। चिच्याउँदै थिई मुख थुनेर गरेँ।’ उसले जे सुनायो त्यो त बलात्कार रहेछ। पछि थाहा पाएँ।
यस्तो हर्कतबारे अरूअरू पुरुष साथीहरूले पनि गर्वका साथ सुनाएका छन्। कोहीकोही त मैले मानेका र सम्मान गर्ने व्यक्तिसमेत छन्। पुरुषको खोपडीभित्र कतै न कतै यौन अपराध सुषुप्त ढंगले जीवित हुन्छ। चाहे त्यो ८० नाघेको वृद्ध होस् या १५, १६ नाघेको किशोर होस्। चाहे त्यो तपार्इं हुनुस् वा म हुँ। हाम्रो पुरुषवादी चिन्तन र सोच भएको समाजमा हुर्किएका पुरुष प्राणीभित्र यो त छ छ।
पुरुषले एकान्तमा एक्लै ऐना हेर्नु जरुरी छ। सत्य बोल्नु र आफूभित्रको पुरुष मनोविज्ञान जस्ताको तस्तै देखाउनु अब जरुरी भयो।
स्कुल सकिएपछि मलाई यौनशिक्षा दिने ठूला मिडिया हाउसका साप्ताहिकहरू थिए। जसले किताबको जस्तै उल्टो असर देखाउँथ्यो। उत्तेजित बनाउँथ्यो। दिमागमा भरिएको कुण्ठा मध्यपृष्ठमा छापिने सुन्दरीको तस्बिरमा पोखिन्थ्यो। पछिपछि गाउँको ब्ल्याक एन्ड ह्वाइट टेलिभिजनमा चल्ने डीभीडी भीसीडीमा हेरिने ब्लु फिल्मले कुण्ठामा मलजल गयो।
अझै पछि इन्टरनेटको उत्पत्ति भयो। साइबरहरू जन्मिए। जे र जस्तो हेर्न चाहे पनि सुविधा भयो। कुण्ठामाथि कुण्ठा थपियो। आम पुरुषहरू यही बाटो भएर गुज्रिएका हुन्। आफूसँग एकान्तमा सत्य बोल्न सक्ने पुरुष भन्न सक्छ, ‘खोपडीमा यौनकुण्ठा छ। म यौन मनोरोगी हुँ।’
हाम्रो सामाजिक संरचना यस्तो छ कि विवाहपूर्व पुरुष लगभग सबै समय पुरुषसँगै हुन्छ र महिला, महिलासँगै हुन्छे।
महिला पुरुषबारे के सोच्छे ?
पुरुषलाई थाहा हुँदैन।
पुरुष महिलाबारे के सोच्छ ?
महिलालाई थाहा हुँदैन।
एकअर्कामा रहस्यमय हुँदै जान्छन्। मान्छे रहस्य खोतल्न चाहन्छ। रहस्य पत्ता लगाएबापत आनन्द लिन्छ। प्रत्येक मानिस आनन्द चाहन्छ। तर त्यही आनन्द पुरुष हुर्किंदै जाँदा कुण्ठा भएर फेरिँदै जान्छ। पछि यौन मनोरोगमा अवतरित हुन्छ।
विश्वविद्यालय पढाइसक्ने ताका मेरो संगत दुई जना महिला साथीहरूसँग भयो। संगत गर्दै जाँदा एकअर्कामा प्रशस्त खुल्ने भयौं। जीवनमा पहिलो पल्ट थाहा पाएँ— केटाहरू जस्तै केटीहरू पनि बेस्ट फ्रेन्ड हुँदा रहेछन्। आफ्ना सबै कुरा सजिलै भन्न सकिँदो रहेछ।
प्रायः भेटमा उनीहरू, कुनै न कुनै पुरुषहरूले गरेको दुर्व्यवहारबारे बताउँथे— आज बसमा केटाले यस्तो गर्यो। बाटामा एक्लै हिँड्दा केटाहरूले यस्तो गरे, उस्तो गरे।
अनि पो बल्ल थाहा पाएँ। के गर्दा, के भन्दा महिलालाई असहज हुँदो रहेछ। यस्तो गर्न नहुँदो रहेछ। पढाइमा विश्वविद्यालय सक्दासमेत आफूलाई चाहिने चेतनाको मेलो सुरु भएको रहेनछ।
ती महिला साथीहरूको संगतले मलाई जे कुरा सिकायो त्यो त मैले किशोर हुँदा नहुँदै स्कुलमा सिक्नुपर्ने थियो। विश्वविद्यालयमा सिक्नुपर्ने थियो। स्कुलमा पढाउने गुरुहरूबाट जान्नुपर्ने थियो। आफू हुर्किएको समाज र परिवेशबाट जान्नुपर्ने थियो। घरमा आफ्नै बा, आमा, दिदीबहिनी, दाजु, भाउजूबाट जान्नुपर्ने थियो, ‘महिलालाई के गर्यो भने असहज हुन्छ ? के गर्न र भन्न हुँदैन।’
बल्ल ख्याल भयो, मभित्र अर्को पुरुष पनि रहेछ। जसले मलाई जसरी बाँच्नुपथ्र्यो, त्यसरी बाँच्न दिएको रहेनछ।
वर्षौंसम्म कुण्ठाले भरिएको गिदी बोकेर हिँडेको रहेछु। बल्ल चाल पाएँ। त्यसपछि सार्वजानिक बसमा हिँड्दा सचेत हुन थालेँ। भीडभाडमा कुनै महिलालाई छुइँदा उसलाई अप्ठ्यारो पो भइरहेको छ कि ! भनेर सोच्न थालेँ। छुइँहालिएँ तत्काल माफी माग्न थालेँ। भीडभाड हुने सार्वजानिक बसमा यात्रा गर्दा एकदमै सकस हुन थाल्यो।
चेतनाले यति ग्रस्त भएछु कि कतै झुक्किएर प्रेमिकालाई छुइँदासमेत माफी माग्न थालेको थिएँ। दीपा भन्थिन्, ‘किन तिमी सरीसरी भनिरहन्छैां ?’
दीपासँग प्रेमसम्बन्धमा रहँदा पटकपटक सोध्थें, ‘मेरो व्यवहारले तिमीलाई अप्ठ्यारो महसुस त भएको छैन नि ?’
यस्तो व्यवहारले एकअर्कामा विश्वास र सम्मान बढायो। अझ बेस्मारी खुल्न र बुझ्न सिकायो। एकअर्कालाई के गर्दा सहज, असहज हुन्छ भन्ने थाहा भयो। सम्बन्ध मजबुत भयो।
म ती असल महिला साथीहरूको संगतमा नपरेको भए दुर्व्यवहार बारे बुझ्न नपाएको भए कुण्ठाग्रस्त अवस्थामै रहन्थेँ। आफ्नी प्रेमिकालाई समेत कैयौं पटक दुर्व्यवहार गर्थें हुँला। मेरो व्यवहारले सम्बन्ध सकिन्थ्यो होला। फेरि म एउटा समस्याबाट अर्को सम्मस्या फस्थें हुँला। मभित्र कुण्ठामाथि कुण्ठा थपिँदै जान्थ्यो होला ! यसरी नै एक दिन मर्थें हुँला।
मैले कैयौं साथीहरूबाट एउटा वाक्य बारम्बार सुनेको छु, ‘प्रेमिकाले सुरुमा हुन्न हुन्न भन्छन्। एकछिन जबर्जस्ती गरेपछि मान्छन्।’ यो पढ्ने तपार्इं पाठकले समेत यो वाक्य बोल्नुभएको हुनुपर्छ। यस्तो हर्कत गर्नुभएको हुनुपर्छ। एकान्तमा एक्लै सत्य बोल्नुस्, ‘गर्नुभयो कि भएन ?’ गर्नुभएको छ भने त्यो सम्बन्ध कति टिक्यो ? अहिलेसम्म टिकेको भए आपसी सम्मान कति छ ? कत्ति छ, आपसी विश्वास ? फेरि अर्कोपल्ट एकान्तमा सत्य बोल्नुस्।
केही वर्षअघि, आप्रवासी मजदुरका रूपमा साउथ कोरिया पुगेँ। काम गर्ने कृषि फार्ममा प्रत्येक वर्ष जनवरी पहिलो हप्ता एउटा लम्बेतान पत्रमा सहीछाप गर्नुपथ्र्यो। त्यो पत्र आफूले राम्ररी बुझ्ने भाषामा लेखिएको हुन्थ्यो। जहाँ ‘सहकर्मी वा अन्य कसैलाई पनि यौनहिंसा वा दुर्व्यवहार गर्दिनँ’ भन्ने वाचा हुन्थ्यो।
‘के गर्यो भने हिंसा वा दुर्व्यवहार हुन्छ ?’ प्रस्ट लेखिएको हुन्थ्यो।
जसमा एउटा बुँदा यस्तो थियो, ‘अपरिचित महिलालाई एकोहोरो हेरिरहे पनि दुर्व्यवहार कहलिन्छ, महिलाले असहज मानेको खण्डमा।’ थुप्रै कोरियन युवाहरूसँग संगत भयो तर उनीहरू हामी जति कुण्ठित थिएनन्। यौनलाई इज्जत गर्थे। आफ्नो यौन जीवनलाई हामीले जस्तो गर्वका साथ कहिल्यै शब्दमा बयान गर्दैनथे। वेश्यालय त जान्थे तर सानका साथ ‘यसरी गरेँ उसरी गरेँ !’ भन्दै ठाउँ कुठाउँ साथीहरूलाई कुण्ठित भावमा बताउँदै हिँड्दैनथे। ‘आफू मर्द हुँ ! जे पनि गर्न हुन्छ। गर्छु !’ भन्दै गर्व गर्दैनथे। यौन जैविक प्रक्रिया हो। गर्व गर्नुपर्ने विषय हैन ! शारीरिक आवश्यकताका लागि कहिलेकाहीँ वेश्यालय जान्छु भन्थे।
त्यहाँका यौनकर्मीहरूले पनि आफ्नो अधिकार र सीमा राम्ररी बुझेका थिए। आफू यौंनहिंसा वा अपराधमा परेको महसुस भयो भने उजुरी गर्थे। यौनकर्मलाई उनीहरूले ‘कर्म’ (काम) को रूपमा लिएका थिए। कर्ममा हिंसा वा अपराध सहनु आवश्यक छैन।
मैले काम गर्ने परिवारभित्र यौनको विषयमा खुलेर कुरा हुन्थ्यो। किशोर छोराछोरीलाई बाबुले सिकाउनुपर्ने कुरा बाबुले, आमाले सिकाउनुपर्ने आमाले सिकाउँदा रहेछन्। अभिभावकले, यौनलाई लाज वा रहस्यको विषय बनाएर आफ्ना छोराछोरीलाई यौन कुण्ठित बनाउन हुँदैन भन्ने बुझेका रहेछन्।
यसको प्रस्ट कारण छ, ‘स्कुल–कलेजमा पढाइ हुने शिक्षा। सामाजिक सिकाइ र चेतनाको स्तर।’ सँगै काम गर्ने एक जना नेपाली भाइ भन्थ्यो, ‘बिहेपछि बूढीलाई एक्लै हिँड्न कतै दिन्नँ। केटाहरूको विश्वास हुँदैन। भ्याइदिन सक्छन्।’ तर ऊ प्रत्येक महिना तलब थापेको दिन वेश्यालय जान्थ्यो। अर्काे एक जना विवाहित भाइ थियो। कम्पनीभित्रै सहकर्मीसँग प्रेममा थियो। जसको सम्बन्धबारे गर्वका साथ सुनाउँथ्यो।
यौनबाट मात्र आनन्द लिँदैनथ्यो। यौन सम्बन्धबारे कुरा सुनाउँदा साथीहरूको अनुहारमा आउने भावबाट समेत आनन्द लिन्थ्यो। अन्य देशमा बस्ने साथीहरूलाई समेत फोनमा सम्बन्धबारे बताउँथ्यो। खुब गर्व गथ्र्यो। हुँदाहुँदा घरमा श्रीमतीले समेत थाहा पाइन्। अहिले उसको घरको सम्बन्ध बेहाल छ। श्रीमतीलाई कुरा नबुझ्ने मूर्ख, गवाँर ठान्छ। जतिखेरै हकारिरहन्छ।
यी दुई पात्र पूर्ण पुरुष हुन्। थुप्रै पुरुषसँग यिनीहरूको बुद्धि र कुण्ठाको लेभल मिल्छ। पुरुषहरू यसरी पतन हुन्छन् कि कुनै पनि महिलालाई यौनिक नैतिकतामाथि प्रश्न उठाउनै हैसियत गुमाइसकेका हुन्छन्। तर पनि सामाजिक संरचना यस्तो छ कि पुरुषको यौनिक नैतिकता सधैं माथि हुन्छ। सधैं प्रश्न गर्न सक्छ।
म चाहन्नँ जसरी म हुर्किंदै आएँ, त्यसरी मेरा सन्तान हुर्किऊन्। आँखा चिम्लिएर सोच्छु। भयंकर डर लाग्छ। सन्तानलाई के सिकाऊँ ? कसरी सिकाऊँ ?। स्कुल र समाजमाथि पटक्कै भर छैन। त्यहाँ जे पढ्छन्। जे सिक्छन् त्यसको असर उल्टो पर्छ। समय औंलामा छ। एक क्लिकमा संसार थाहा हुन्छ। तर के थाहा पाउने, के थाहा नपाउने भन्ने ज्ञान छैन।
@rashayans ‘भागेर भूगोलभरि’ र ‘छुटेका अनुहार’ पुस्तकका लेखक हुन्।