घामको असरले मुहारमा चायाँ !

घामको असरले मुहारमा चायाँ !

गर्मी बढ्दै छ । स्वस्थ र सुन्दर अनुहार बनाउन चाहनुहुन्छ भने छाता ओढ्न वा ह्याट लगाउन नबिर्सनुस् । अनुहारलगायत शरीरका विभिन्न भागमा चर्को घामले असर पुर्‍याउन सक्छ ।गर्मीको बेला अनुहारमा कालो पोतो अर्थात् चायाँ आउने समस्याले धेरैलाई पिरोल्छ । वीर अस्पताल, चर्म तथा यौनरोग विभागका प्रमुख प्राडा. भाष्कर मोहन मेहेर कायस्थका अनुसार घाममा हिँडडुल गर्दा सूर्यको प्रत्यक्ष किरणले अनुहारमा असर पुर्‍याउँछ ।

सूर्यको हानिकारक किरणले अनुहारको छालाको कोषलाई क्षति पुर्‍याउँछ । मुहारमा चायाँ देखिन सक्छ । घरबाहिर काम गर्ने महिला एवं पुरुषको मुहारमा चायाँ देखिनुको मुख्य कारण घामको असर नै हो । गुणस्तरहीन सौन्दर्य सामग्रीको प्रयोगले पनि अनुहारमा चायाँ देखिने हुन्छ ।

अनुहारमा देखिने कालो पोतो हटाउन बजारमा विभिन्न खालका प्राकृतिक लेप, औषधि वा मल्हम पाइन्छन् । त्यस्तै सनस्क्रिन वा सन ब्लकहरू पनि यथेष्ट छन् । आफूखुसी मुहारमा दलेपछि निको हुनु साटो चायाँ फैलँदै गएपछि झन् निराश भएर उपचार गर्नेहरू पनि बढिरहेका छन् । सम्बन्धित विशेषज्ञले छालाको प्रकृति जाँच गरी सिफारिस गरेको क्रिम लगाउनुपर्ने डा. कायस्थको सुझाव छ ।

सुक्खा छाला भएका व्यक्तिहरूलाई लोसनयुक्त चिल्लो खालको क्रिम उपयुक्त मानिन्छ । चिल्लो छाला भएकाहरूले लोसन लगाउँदा डन्डीफोर निस्कने सम्भावना हुन्छ । घामका कारण अनुहार, घाँटीलगायतका भागमा ससाना दाना निस्कने समस्या देखिएको छ । यसलाई घमौरा भनिन्छ ।

त्यस्तै कतिपयलाई पसिनाका कारण फंगलको संक्रमण भई छाला चिलाउने वा अन्य समस्याले हैरान बनाएको डा. कायस्थ बताउँछन् । त्यस्तै दादको समस्या पनि देखिने गर्छ ।

काखीमा पनि चिलाउँछ

गर्मी मौसममा काखी एवं काछमा चिलाउने समस्याले पनि धेरैलाई सताउँछ । नुहाउन अल्छी गर्ने व्यक्तिलाई गर्मीमा काखी एवं काछमा ढुसी हुने जोखिम हुन्छ । ‘काछ लाग्ने समस्या देखिने गरेको छ । फंगलको संक्रमणले यस्तो समस्या हुने गर्छ’, डा. कायस्थले भने ।

काछ वा काखीमा समस्या भएको अवस्थामा चिलाउँछ । खुट्टाका औंलाको कापमा समस्या देखिएमा चिलाउँछ । खुट्टा गन्हाउने हुन्छ । कन्याउँदा छाला रातो हुन्छ । कत्लासमेत देखिन सक्छ । जीउमा संक्रमण भएको अवस्थामा गोलो चक्का जस्तो आकृति बन्छ । भित्र खाली हुन्छ । बाहिर वरिपरि रिङ बन्छ ।

यसरी जोगिनुस्

घमौरा आएको अवस्थामा पंखामा बस्नुपर्छ । घमौरा आएको भागमा सफा पानीले भिजाउनुपर्छ । र हावामा सुक्न दिनुपर्छ । रुमाल वा कुनै कपडाले पुछ्नुहुँदैन । पंखा वा एसीमा बस्ने हो भने घमौरा छिटो निको हुन्छ ।

गर्मीमा शरीरबाट पसिना निस्कने भएकाले पहिरनमा पनि ध्यान दिनुपर्छ । पसिना सोस्ने भएकाले सुतीको कपडा लगाउनु उपयुक्त हुन्छ । मोजाका साथै सुतीको भित्री वस्त्र प्रयोग गर्नुपर्ने डा. कायस्थको सुझाव छ । अरु खालको पोसाक लगाउँदा पसिना सोस्दैन । ‘पसिनालाई कपडाले सोसेन । छालामा पसिना रहिरह्यो भने ढुसीको संक्रमण हुन्छ । फंगसको कीटाणु सक्रिय हुन्छ’, डा. कायस्थले भने । दिनभरि काम गर्दा आएको पसिना काछमा रहिरहेको अवस्थामा पनि संक्रमण हुन्छ ।

सूर्यका हानिकारक किरणले अनुहारको छालाको कोषलाई क्षति पुर्‍याउँछ । र मुहारमा चायाँ देखिन सक्छ ।

राति सुत्ने बेला भित्री वस्त्र फेर्नुपर्ने डा. कायस्थको सुझाव छ । बिहान लगाएको भित्री वस्त्र राति सुत्दा पनि नफेर्ने धेरैको बानी हुन्छ । सुत्दाखेरी भित्री वस्त्र खोल्नु उपयुक्त हुन्छ । पुरुषले खुकुलो पाइजामा, लुंगी तथा महिलाले पेटीकोट, मेक्सी वा गाउन लगाउँदा पसिना गुम्सिन पाउँदैन ।

कसरी लगाउने क्रिम ?

सनस्क्रिन वा सनब्लक कसरी लगाउने ? यसबारे धेरैजसो पुरुष मात्र होइन महिलालाई समेत जानकारी छैन । गुणस्तरीय सौन्दर्य सामग्री ठीक तरिकाले लगाउँदा अनुहारको छाला सुन्दर र स्वस्थ हुने चिकित्सकहरू बताउँछन ।

मुख धोएपछि महिलाले सुरुमा मोस्चराइजर लगाउनु उपयुक्त हुने कायस्थको भनाइ छ । त्यसपछि सनस्किन क्रिम लगाउनुपर्छ । अनि मात्र बल्ल पाउडर लगाउँदा राम्रो हुने उनले बताए । हत्केलामा क्रिम दलेर मुखमा लगाउने तरिका भने सही नभएको उनको भनाइ छ । यसरी लगाउँदा जति गुणस्तरीय सनस्क्रिन क्रिम लगाए पनि त्यसले काम नगर्ने उनले बताए ।

चिकित्सकहरू सनस्क्रिन क्रिम दिनमा पटकपटक लगाउन सुझाउँछन् । तर नियम पुर्‍याएर क्रिम लगाउने हो भने त्यसले करिब सात घण्टा पुग्छ । पटकपटक क्रिम लगाइरहन पर्दैन ।

क्रिम लगाउनुअघि सुरुमा सफा पानीले मुख धोएर चिल्लोपना हटाउनुपर्छ । हातका दुई औंलामा क्रिम लिएर सोही औंलाले नै अनुहारमा दल्नुपर्छ । बाहिर निस्कने समयभन्दा आधा घण्टाअघि अनुहारमा सनस्क्रिन लगाउनुपर्ने डा. कायस्थको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.