बेलैमा थाइराइडबाट बचौं

बेलैमा थाइराइडबाट बचौं

आज मे २५। अर्थात्, विश्व थाइराइड दिवस। थाइराइडसम्बन्धी जानकारी एवं जनचेतनामूलक कार्यक्रम आयोजना गरी विश्वभर यो दिवस मनाइँदै छ। यो रोगबाट पीडित हुनेको संख्या बढ्दै छ। विश्वमा कुनै पनि मुलुक यो रोगबाट अछूतो छैनन्। थाइराइड रोगीमध्ये अधिकांशलाई आफूलाई लागेको रोगबारे जानकारी छैन। जुनसुकै उमेर र समूहका महिला र पुरुषलाई यो रोग लाग्छ। नेपालको सन्दर्भमा हामीले गरेको अनुसन्धानअनुसार कुल जनसंख्याको करिब ४.५ प्रतिशत जनसंख्यालाई थाइराइड रोग लागेको देखिएको छ। थाइराइड पहिचान गर्न रगत परीक्षण, थाइराइड स्क्यान, भिडियो एक्स–रे गर्नुपर्ने हुन सक्छ।

सबै किसिमका थाइराइडमा जीवनभर औषधि सेवन गर्न नपर्ने पनि हुन सक्छ भने केही थाइराइड रोग आफैं निको हुन सक्छ। नेपालमा थाइराइड रोगको पहिचान हुनुमा मानिसमा देखिएको चेतना स्तर, सामाजिक, आर्थिक पक्षको प्रभाव, स्वास्थ्य परीक्षणमा आएको व्यापकता आदि मान्न सकिन्छ। नेपालमा थाइराइड रोग बढ्नुको एउटा मुख्य कारण हामीले खाने नुनमा आयोडिनको मात्रा धेरै हुुनु हो। आयोडिन शरीरलाई चाहिने आवश्यक तत्व हो। शरीरमा आयोडिन थोरै हुँदा पनि थाइराइड ग्रन्थिलाई असर गर्छ र धेरै हुँदा पनि। यो रोगबारे सबैको चासो रहेको र सबैमा जानकारी हुन जरुरी छ।

 के हो थाइराइड ?

थाइराइडबारे जानकारी हुनुअघि मानिसका शरीरमा रहेका अंगबारे जानकारी हुनुपुर्छ। रुद्रघन्टीको तलतिर रहेने एउटा ग्रन्थिलाई थाइराइड ग्रन्थि भनिन्छ। यो पुतली आकारको हुन्छ। यसले हर्मोन उत्पादन गर्छ। यसलाई हामी टी– थ्री, टी– फोर भन्छौं। यी हर्मोनले शरीरको मेटाबोलिजमलाई नियन्त्रण गर्छ। थाइराइड ग्रन्थिलाई अर्को पिट्युटरी ग्रन्थिले नियन्त्रण गर्छ। यो ग्रन्थि दिमागको फेदीमा हुन्छ। यो ग्रन्थिले टीएसएच भन्ने हर्मोन दिन्छ। यसले थाइराइड ग्रन्थिलाई टी– थ्री, टी– फोर निकाल्न प्रेरित गर्छ।

यी हर्मोनले मानव शरीरको वृद्धि विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। थाइराइड ग्रन्थिमा देखिने समस्याबाट थाइराइड हर्मोनको उत्पादन असन्तुलन हुन जान्छ। यसले गर्दा थाइराइड रोग लाग्छ। अर्थात्, थाइराइड हर्मोनको उत्पादन बढी वा कम भएमा यो रोगका समस्या देखा पर्छन्।

थाइराइड ग्रन्थिले कम काम गर्ने रोग 

थाइराइड रोगमा पनि सबैभन्दा बढी देखिने समस्या भनेको हाइपोथाइराइडिज्म हो। यो रोग लाग्दा टी– थ्री र टी– फोर कम हुन्छ र टीएसएच बढ्छ। पुरुषको तुलनामा महिलामा यो रोग बढी देखिन्छ। खासगरी २० देखि ४० वर्ष उमेर समूहका प्रजनन उमेरका महिलालाई यो रोगले बढी सताउँछ। यसका साथै सीमित रूपमा पुरुष तथा बालबालिकालाई पनि यो रोग लाग्न सक्छ। यो रोगमा हर्मोन कमी हुँदा देखिने लक्षण तथा असरमा जाडो धेरै हुने, शरीर सुन्निने, छाला खस्रो हुने, काम गर्न जाँगर नहुने, कब्जियत हुने, गलगाँड निस्कने, तौल बढ्ने, महिनावारी गडबड हुने, निसन्तान हुने, मुटुसम्बन्धी रोग लाग्ने, शारीरिक र मानसिक विकास ठीकसँग नहुने र जन्मने बच्चाको दिमागको विकास ठीकसँग नहुने आदि छन्।

नियमित रूपमा चिकित्सक सल्लाह, उपचार, औषधि सेवन गरेमा यस रोगले कुनै पनि नकारात्मक असर पार्दैन।

उपचार विधि : हाइपोथाइराइडिज्म भएको थाहा पाउन रगतको जाँचमार्फत थाइराइड फक्सन टेस्ट (टीएफटी गर्नुपर्ने हुन्छ। औषधि खानुपर्ने बार्नुपर्ने सम्बन्धमा रगतको जाँच (एन्टी–टीपीओ एन्टीबडी) गर्नुपर्छ। रिपोर्टअनुसार औषधि खानु पर्ने–नपर्ने वा जीवनभर खानुपर्ने हुन्छ। औषधिको प्रयोग गरेपश्चात् प्रत्येक ६–६ महिनामा टीएसएच परीक्षण गर्नुपर्छ।

 थाइराइड ग्रन्थिले धेरै काम गर्ने रोग  

यो रोगमा टी– थ्री र टी– फोर बढ्छ र टीएसएच कम हुन्छ। हाइपोथाइराइडिज्मजस्तो धेरै मानिसलाई लाग्ने रोगमा पर्दैन। यद्यपि यो रोग हाइपोथाइराइडिज्मको तुलनामा केही जटिल मानिन्छ। यो रोग प्रायः प्रजनन उमेरका महिलामा देखिन्छ। यसको उपचार समयमै सही रूपमा नभएमा ज्यानै जाने जोखिमसमेत हुन सक्छ। यो रोगका लक्षण तथा असर यस प्रकार छन् : तौल कमहुँदै जानु, गर्मी धेरै लाग्नु, पसिना धेरै आउनु, मुटु धेरै धकधक हुनु, धेरैपटक दिसा लाग्नु, हातखुट्टा काम्नु, सास फुल्नु, निद्रा धेरै नलाग्नु, बेचैनी धेरै हुनु, गलगाँड निस्कनु, आँखा धेरै ठूलोहुँदै जानु र महिनावारी गडबड हुनु।

उपचार विधि : रगतमा टी फोर र टीएसएच हर्मोन जाँच गरेमा यो रोग पत्ता लाग्छ। साथै थाइराइड स्क्यान गरेर पनि यो रोग पत्ता लगाउन सकिन्छ। यो रोग आफंै निकोहुँदैन। यसका लागि जीवनभर औषधि खाइरहनुपर्ने हुन सक्छ। औषधि ट्याब्लेट र विकीरणको रूपमा पनि पाइन्छ। कुनै गलगाँड देखिएको थाइराइडको उपचारमा शल्यक्रिया गर्नुपर्ने हुन्छ। केही अवस्थामा भने गलगाँड देखिए पनि औषधि खाँदा निको हुन्छ। यो रोगले कहिलेकाहीं आँखामा समेत असर पुर्‍याउँछ।

थाइराइड ग्रन्थिको क्यान्सर

 थाइराइड ग्रन्थिको क्यान्सर निको पार्न सकिने क्यान्सर हो। थाइराइड ग्रन्थिमा गिर्खा पलायो भन्दैमा त्यो क्यान्सर नै हुन्छ भन्ने छैन। कतिपय गिर्खा वा डल्ला पछि गएर क्यान्सरमा परिणत हुन सक्छ। यस रोगका लक्षण यस प्रकार छन् : गलगाँड देखिने, स्वर परिवर्तन हुने, गलगाँड ठूलो भएर श्वास फेर्न गाह्रो हुने र खाना नलीलाई असर गरेर खाना निल्न गाह्रो हुने।

उपचार विधि : गलगाँडको सुई जाँच (एफएनएसी) बाट र घाँटीको भिडियो एक्स–रेबाट यो रोग पत्ता लगाइन्छ। थाइराइडको शल्यक्रियाबाट यसको उपचार गर्न सकिन्छ। शल्यक्रिया गरिसकेपश्चात् पनि धेरैलाई एक किसिमको रेडियो एक्टिभ आयोडिन दिनुपर्ने हुन सक्छ। उपचारपछि नियमित रूपमा जाँच गरिरहनु पर्छ।

सामान्य गलगाँड

 आयोडिन कमी या बढी हुँदा, भाइरल इन्फेक्स नहुँदा, अटोइम्युन रोग लाग्दा वा खानपानमा हुने मिसावटले पनि ग्रन्थिमा गलगाँड देखा पर्छ। विभिन्न किसिमका रासायनिक खाद्य सेवन, वातावरणमा विषादिको प्रयोग र वंशाणुगत कारणले पनि यो रोग लाग्न सक्छ। यो रोगका लक्षण यस प्रकार छन् : गलगाँड देखिने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने र खाना खान गाह्रो हुने।

उपचार विधि : यो रोग पत्ता लगाउन थाइराइड ग्रन्थिको सुई जाँच गर्नुपर्छ। भिडियो एक्स–रे पनि गर्नुपर्ने हुन्छ। यसको उपचार शल्यक्रियाबाट हुन्छ। यस रोगको निरन्तर रूपमा निगरानी गर्नुपर्ने हुन्छ।

अन्त्यमा, थाइराइड रोग खानपिनका गडबडी अथवा व्यायामको कमी र मोटोपनाको कारणले हुने रोग होइन, बन्दा, काउली खाँदैमा लाग्ने रोग पनि होइन। आज पनि यस रोगबारे धेरै मानिसमा धेरै भ्रम रहेको पाइन्छ। यस्ता भ्रम बेलैमा चिर्नु जरुरी छ। यसका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ। नेपालमा सहजै यस रोगको पहिचान र उपचार हुन्छ। नियमित रूपमा चिकित्सकसँग सल्लाह, जाँच तथा उपचार गरेमा यस रोगले कुनै पनि नकारात्मक असर पार्दैन। त्यसैले कम्तीमा वर्षको एकपटक थाइराइड परीक्षण गरौं, स्वास्थ्य नै धन हो भन्ने कुरालाई ख्याल राखौं।

डीएम इन्डोक्राइनोलोजिस्ट डा. जोशी अल्का अस्पतालमा कार्यरत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.