धूमपानले हरेक अंगमा हानि
हरेक दिन मुटुका बिरामीको उपचार गरिरहेको हुन्छु। मुटु चिरेर हेर्छु। रक्तनलीहरु ब्लक भएको पाउँछु। चुरोट सेवन गर्ने व्यक्तिको रक्तनलीमा असर परेको देख्छु। रक्तनली सुकेर कक्रक्क परेको हुन्छ।
धूमपानले छाला, फोक्सोलगायत विभिन्न अंगमा असर गर्छ। धूमपान गर्नेलाई हृदयाघातको जोखिम हुन्छ। चुरोट नखाँदाको तस्बिर र तीन महिनासम्म चुरोट सेवन गरेपछिको तस्बिर तुलना गरेर हेर्ने हो भने धेरै कुरा प्रस्टिन्छ। छालासमेत डढेर कालो हुन थालिसकेको हुन्छ।
गरिब व्यक्तिले चुरोट एवं सुर्ती सेवन गरेर रोग निम्त्याइरहेका छन्। धूमपानले शरीरका अंगमा पार्ने असर धेरै छन्। धनी व्यक्तिले ब्रान्डेड भन्दै महँगो चुरोट सेवन गरेका छन्। थोरै निकोटिन हुन्छ भन्ने भ्रम उनीहरूमा परिरहेको छ। निकोटिन नभएको कुनै त्यस्तो चुरोट वा सुर्ती अहिलेसम्म बनेको छैन। सात हजार खालका केमिकल हुने भएकाले चुरोट, सुर्ती सेवनबाट दम, क्यान्सर र हृदयाघातको जोखिम हुन्छ। स्वास्थ्यका लागि सबै हानिकारक छन्।
फिल्ममा हिरोले चुरोट सेवन गराएका दृश्य समावेश गरिएको हुन्छ। यसले विशेषगरी किशोर एवं युवाहरूलाई असर गर्छ। विज्ञापन हेरेर पनि चुरोट सेवन गर्दा स्टाइल हुने रहेछ भन्ने भन्ने सोच विकास हुन सक्छ। धूमपानले स्वास्थ्यमा गम्भीर असर पर्छ। धूमपानको उपभोग जति सक्यो कसरी घटाउँदै लैजाने भन्नेतर्फ ध्यान दिनु आवश्यक छ। धूमपानको करको दर बढाउँदा मूल्य महँगो हुन पुग्छ। थोरै व्यक्तिले मात्र सेवन गर्न सक्छन्।
चुरोट कारखाना सरकारले चलाउनुहुँदैन। व्यक्तिलाई मार्न सहयोग गर्ने उद्योग सरकारले चलाउने कुरा स्वास्थ्य एवं नैतिकताका हिसाबले पनि मिल्दैन।
कानुन छ। तर कार्यान्वयनमा समस्या छ। सार्वजनिक स्थानमा भने चुरोट सेवन गर्नेको संख्या घटेको छ। बसमा पनि चुरोट सेवन गर्ने संख्या घटेको सुनेको छु। कानुन पनि बनाउने र त्यसको कार्यान्वयन पनि गर्नुपर्छ। चुरोट कारखाना सरकारले चलाउनुहुँदैन। व्यक्तिलाई मार्न सहयोग गर्ने उद्योग सरकारले चलाउने कुरा स्वास्थ्य एवं नैतिकताका हिसाबले पनि मिल्दैन।
चुरोट तथा सूर्ती सेवन गर्ने व्यक्तिको लत छुटाउन सहयोग गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ। चुरोट एवं सुर्ती सेवन गर्ने व्यक्तिलाई सामाजिक रूपमा बहिष्कार गर्नुपर्छ।
(स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालको सहकार्यमा शुक्रबार आयोजित कार्यक्रममा व्यक्ति विचार)