रवीन्द्रको स्मृतिमा प्रतिष्ठान स्थापना : प्रधानमन्त्री भावुक
पोखरा : दिवंगत मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान स्थापना भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पोखरामा प्रतिष्ठान स्थापनाको शुभारम्भ गरे। अधिकारीको फागुन १५ गते ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो।
रवीन्द्र पत्नी विद्या भट्टराईको अध्यक्षतामा गठित प्रतिष्ठानमा ३५ सदस्य छन्। ४१ सदस्यीय सल्लाहकार कमिटी छ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा अनुसन्धानमूलक काम गर्ने प्रतिष्ठानको उद्देश्य रहेको भट्टराईले सुनाइन्।
प्रधानमन्त्री ओलीले प्रतिष्ठानका लागि सरकारले १ करोड रुपैयाँ तत्कालका लागि उपलब्ध गराउने वचन दिए।
ओलीले रवीन्द्र अधिकारीलाई वाइडबडी जहाज भ्रष्टाचार काण्डमा अनाहकमा मुछिएको बताए। ‘उनी निर्दोष थिए, मैले निर्दाेष भनेपछि केही भुइँफुट्टा व्यक्ति र संस्थाले विरोध गरे’, उनले भने। प्रधानमन्त्री ओली रवीन्द्रको विषयमा बोल्दा भावुक बनेका थिए।
गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिका अगुवा रवीन्द्रको स्मरण गर्दै प्रगतिपथमा लम्कनुपर्नेमा जोड दिए।