कलेजो क्रान्ति
‘सफलताको अन्त्य छैन। असफलता घातक छैन। यी गणनालाई निरन्तरता दिनु नै साहस हो।’ बेलायतका प्रसिद्ध कूटनीतिज्ञ एवं प्रखर वक्ता विन्स्टन चर्चिलको यो भनाइ बेलाबखत प्रा.डा. रमेशसिंह भण्डारी स्मरण गर्छन्। गत शनिबार उनीसहितको टिमले कलेजो प्रत्यारोपणमा सफलता पायो। फलस्वरूप त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा १६ घण्टाको प्रयासपछि पहिलोपटक कलेजो प्रत्यारोपण भयो। यो सफलताले भण्डारी पुलकित छन्। त्यत्तिकै उनलाई थप जिम्मेवारी बोध पनि भएको छ।
भण्डारीको जीवनकालमा यो वर्ष कोसेढुंगाको रूपमा रहने छ। दुई महिनाअघि मात्र उनी प्राध्यापक भए। सात दिनयता अर्को बधाई ग्रहण गर्न भ्याइनभ्याइ छ। चर्चिलले भने झैं यो सफलतालाई उनले अन्तिम मानेका छैनन्।
बैतडीदेखि अस्ट्रेलिया
बैतडीको रोडिदेवलमा जन्मेका भण्डारी पाँच भाइबहिनीमध्ये दोस्रा हुन्। मध्यमवर्गीय उनी अध्ययनका क्रममा काठमाडौं आए। भीएस निकेतनमा नर्सरीदेखि एसएलसी दिँदासम्म उनी मेधावी छात्रका रूपमा परिचित थिए। वीरेन्द्र सैनिक विद्यालयमा उनले होस्टेल बसेर पढे। आईएस्सी सकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस सके। सन् २००१ मा एमबीबीएस गरेपछि डाक्टर बने। तर, कुनै निश्चित विधामा विज्ञता हासिल गर्नेबारे उनी अन्योलमा थिए। ‘इच्छाचाहिँ पेडियाट्रिसियन बन्ने थियो। समय र परिस्थितिले सर्जन बनायो’, उनले सुनाए।
जे पढे पनि मज्जाले पढ्ने र त्यस विधामा उल्लेखनीय कार्य गर्ने उनमा हुटुहुटी थियो। सन् २००३ मा उनले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जमा नाम निकाले। तीन वर्षमा उनले मास्टर्स इन सर्जरी (एमएस) सके। त्यसपछि शिक्षण अस्पताल (टिचिङ) मा कार्य गर्न थाले।
यसैबीच उनले ग्यास्ट्रोइन्टेसटाइनल सर्जरी (जीआई) मा तीनबर्से एमसीएच गरे। सन् २०१० मा उनी अस्टे«लिया पुगे। उनले कलेजो र प्यांक्रियाजबारे अध्ययन गर्न रोयल अस्ट्रेलेसियन कलेज अफ सर्जन्समा छात्रवृत्ति पाए। ‘त्यहीबेला नेपालमा पनि प्रत्यारोपण सेवा सुरु गर्न पाए त गजब हुन्थ्यो भन्ने विचार आयो। त्यसपछि पुनः प्रत्यारोपणमै थप ज्ञान हासिल गर्न एक वर्षका लागि अस्ट्रेलिया गएँ’, उनले यात्रा शृंखला कहे। सन् २०१५ मा अस्टे«लियाबाट फर्कंदा नै उनले स्वदेशमै कलेजो प्रत्यारोपण गर्ने अठोट लिइसकेका थिए। तर, वातावरण अनुकूल एवं सहज थिएन। धेरैले त कलेजो प्रत्यारोपण सम्भव नभएको सुनाए। कतिपय साथीहरूले यस्तो सपना नदेख्दा राम्रो भन्दै उडाए। तर, उनी अठोटमा अविचलित थिए।
शिक्षण (टिचिङ) अस्पतालमा बिरामीको सेवा गर्दै प्रत्यारोपणको माहोलका लागि दौडधूप सुरु गरे। उनले भने, ‘कहिलेकाहीं दिक्क लाग्थ्यो। कहिले फेरि हरेश खानु हुँदैन भन्दै उत्साह जाग्थ्यो। जति गर्न सकिन्छ गर्दै जाऊँ। आफूले गर्न नपाए पछिल्लो पुस्तालाई त सजिलो हुन्छ भन्दै निरन्तर लागिरहें। अन्नतः त्यो सम्भव भयो। त्यो दिन आयो।’
बिरामीको खुसी
उनले कलेजोका बिरामी भेटिरहन्छन्। जसमध्ये कतिपयको कलेजो फेल भएको हुन्छ। उनीहरू मृत्युको नजिक पुगेको थाहा पाउँदा दुःखी हुन्छन्। बिरामीलाई नयाँ जीवन दिन उनी लालायित हुन्छन्। यसै क्रममा उनले बाबु र छोरी भेटे। ५८ वर्षीय बुवाको कलेजो फेल भएको थियो। ३३ वर्षीय छोरी कलेजो दिन तयार थिइन्। गत शनिबार उनै छोरीको कलेजोको केही भाग काटेर बुवामा प्रत्यारोपण गरिएको थियो।
प्रत्यारोपणमा नेतृत्व गर्नुपर्ने अवस्था आउँदा उनलाई एक खालको दबाब महसुस भयो। ‘कलेजो दिने व्यक्ति स्वस्थ र बच्चाबच्चीकी आमा भएकाले उनको स्वास्थ्यप्रति चिन्तित थिएँ’, उनले स्मरण गरे।
स्वदेशमा बसेर बिरामीको सेवा गर्न पाउँदाको खुसी यहाँबाहेक अन्यत्र पाउँदिनँ। यसर्थ म कहीं जानेवाला छैन। यसमा ढुक्क भए हुन्छ।
उनी फेरि भन्छन्, ‘शुक्रबार बिहान ८ बजेदेखि प्रत्यारोपण सुरु भएको थियो। शनिबार मध्यराति साढे १२ बजे अर्थात् १६ घण्टा लाग्यो। उनी सपना साकार भएकोमा खुसी भएँ। मध्यरातमा खानपानतिर ध्यानै गएन। सुत्न मन पनि लागेन। बिहान साढे चार बजेसम्म बिरामी र कलेजो दाताको वरपर रहेर सूक्ष्म अवलोेकन गरिरहें। शनिबार बेलुका चार बजे सुत्न गएँ। चार घण्टा सुतेर पुनः बिरामी भएका ठाउँमा आएँ।’
‘प्रत्यारोपणपछि कलेजो दाता पनि वार्डमा सरिसकेकी छिन्। बिरामी पनि सघन उपचार कक्षमा हुनुहुन्छ। केही समयपछि वार्डमा सार्ने योजना छ’, उनले खुसी व्यक्त गरे। प्रत्यारोपणमा अगुवाइ गरेका कारण बधाई उनले धेरै पाएका छन्। तर, बधाईको हकदार सम्पूर्ण टिम भएको उनी बताउँछन्। प्रत्यारोपण कार्यलाई दिगो बनाई बिरामीहरूलाई पुनर्जीवन दिएर खुसी बनाउने आगामी योजना सुनाउँछन्। नेपालमा बर्सेनि झण्डै एक हजार बिरामीको कलेजो बिग्रने अनुमान गरिएको छ। कलेजोका बिरामी र दाताबीच ब्लड ग्रुप मिलेको र दाता स्वस्थ भएको अवस्थामा दान दिन सकिन्छ।
बिरामीलाई सहुलियत
कलेजो प्रत्यारोपण सबैभन्दा जटिल र संवदेनशील मानिन्छ। कलेजो प्रत्यारोपणले निरन्तरता पाएको अवस्थामा त्यसको फाइदा चौतर्फी पर्छ। डा. भण्डारीका अनुसार, कलेजो प्रत्यारोपण जटिल र संवेदनशील भएका कारण आईसीयू, एनेस्थेसिया, ल्याबलगायत अस्पतालका सबै सेवाहरू गुणस्तरीय हुन पुग्छन्। ‘कलेजोका बिरामीलाई मात्र होइन, सबै बिरामीलाई यसले प्रत्यक्ष/परोक्ष फाइदा पुग्छ’, उनले भने।
कलेजो प्रत्यारोपण गर्ने अस्पतालका सबै सेवा राम्रो भएको सन्देश जाने डा. भण्डारीको भनाइ छ। स्वदेशमा कलेजो प्रत्यारोपणमा झण्डै २५ लाख खर्च लाग्छ। त्यो रकम बिरामीलाई जुटाउन सकस पर्ने डा. भण्डारीलाई थाहा छ। यसका लागि सरकारले मिर्गौला प्रत्यारोपणका बिरामीलाई जस्तै उपचार सहयोग गर्दा सबैको पहुँचमा पुग्ने उनको आशा छ।
फुटबल खेल्न रुचाउने डा. भण्डारीले कलेजो प्रत्यारोपणमा क्याप्टेनको भूमिका निर्वाह गर्दै गोल गरेका छन्। उनका साथीहरूमध्ये अधिकांश अमेरिका र बेलायतमा छन्। तर, तालिम लिन मात्र विदेश जाने उनको योजना छ। स्वदेशमै बिरामीको सेवा गर्न पाएकामा गौरवबोध गर्छन्। ‘स्वदेशमा बसेर बिरामीको सेवा गर्न पाउँदाको खुसी यहाँबाहेक अन्यत्र पाउँदिनँ। यसर्थ म कहीं जानेवाला छैन। यसमा ढुक्क भए हुन्छ’, ४२ बर्से प्राध्यापकले मुस्कुराउँदै भने।