गर्भ बस्दा होसियार
डा. रंगीना साह । पाठेघरमा गर्भ नबसी यसको नली (फ्यालोपियन ट्युब) वा डिम्बासयमा बस्यो भने यसलाई एक्टोपिक प्रेगनेन्सी भनिन्छ। शल्यक्रिया गरेर बच्चा जन्माइसकेका महिलाको पाठेघरको घाउमा वा पेटमै (एब्डोमिनल प्रेगनेन्सी) गर्भ बसेको अवस्थामा पनि एक्टोपिक प्रेगनेन्सी हुन सक्छ।
कसलाई हुन्छ
- महिलाको पाठेघरको मुखको संक्रमण भए वा गुप्तांगको संक्रमण (पेल्भिक इन्फ्लामेटरी डिजिज भएमा एक्टोपिक प्रेग्नेन्सी हुने सम्भावना हुन्छ। कुनै पनि महिलाले गर्भधारण गर्नुअघि बच्चा बस्ने ठाउँको वातावरण कस्तो छ भनेर परीक्षण गराउनु जरुरी हुन्छ।
- पहिले पनि कसैलाई एक्टोपिक प्रेगनेन्सी भइसकेको छ भने पुनः दोहोरिने सम्भावना १० देखि २५ प्रतिशतसम्म हुन्छ।
- कुनै पनि महिलाले कुनै कारण पाठेघरको नली, डिम्बासय वा अण्डकोषको शल्यक्रिया गरिसकेको छ भने पनि त्यस्ता महिलामा एक्टोपिक प्रेगनेन्सी हुने सम्भावना बढी हुन्छ।
- परिवार नियोजनको अस्थायी साधन कपर्टी प्रयोग गर्नुहुँदैन भन्नेचाहिँ होइन। तर, लामो समयसम्म लगाइराख्यो भने वा आफूले लगाएको कपर्टी आफ्नो ठाउँबाट अन्त स¥यो भने समस्या देखा पर्छ।
- बाँझोपनको उपचार गराइरहेका महिला जो आईभीएफ प्रविधिबाट बच्चा जन्माउने प्रयासमा हुन्छन्, त्यस्ता महिलालाई पनि एक्टोपिक प्रेगनेन्सी हुने डर बढी हुन्छ।
कसरी पत्ता लगाउने ?
गाउँघरमा मात्र होइन, सहरमा पनि गर्भवती भएको तीन महिनापछि मात्रै डाक्टरलाई देखाउने प्रवृत्ति देखिएको छ। यसो गर्नु राम्रो होइन। महिनावारी हुने मिति कटिसकेपछि बजारमा पाइने राम्रो किट प्रयोग गरेर प्रेगनेन्सी टेस्ट गर्नुपर्छ। यसको नतिजा सकारात्मक आयो भने नजिकैको स्वास्थ्य चौकी वा अस्पतालमा गएर स्त्रीरोग विशेषज्ञलाई परीक्षण गराउनुपर्र्छ। डाक्टरले हातले छामेर परीक्षण गरेपछि गर्भमा बच्चा सही ठाउँमा बसेको छ कि छैन भनेर थाहा हुन्छ।
- महिनावारी रोकिएर केही दिन कटेपछि पनि अलिअलि रगत देखा प¥यो, तल्लो पेट असाध्यै दुख्यो र ढलिएलाजस्तो गरी रिंगटा लाग्यो भने एक्टोपिक प्रेगनेन्सीको लक्षण हुन सक्छ।
- अल्ट्रासाउन्ड गरेर यसको यकिन गर्न सकिन्छ।
यसरी गरिन्छ उपचार
मेडिकल म्यानेजमेन्ट, शल्यक्रियाजस्ता विधि अपनाएर यसको उपचार गर्न सकिन्छ। बिरामीको शरीरमा रगतको मात्रा राम्रो छ, बिरामीमा एक्टोपिक प्रेगनेन्सीको कुनै लक्षण देखिन्न र एक्टोपिक प्रेगनेन्सी फुटेको छैन भने मेडिकल म्यानेजमेन्टमार्फत उपचार गर्न सकिन्छ।
यस विधिमा ‘मेथोट्रेक्सेप’ नामक इन्जेक्सन लगाएर गर्भमा रहेको बच्चालाई सुकाउन सकिन्छ। यस विधिबाट गरिएको उपचार शतप्रतिशत सफल हुन्छ भन्ने छैन। त्यसैले यस्तो विधि अपनाउनुअघि रगतमा ‘सिरम बिटा एचसिजी’ नामक हर्मोनको मात्रा परीक्षण गर्नु जरुरी हुन्छ। यसको मात्रा घटेको छ भने यो विधि प्रयोग गर्न सकिन्छ। तर, यदि यसको मात्रा पहिलेको जति नै छ वा बढेको छ भने शल्यक्रियामार्फत मात्र यसको उपचार सम्भव हुन्छ।
शल्यक्रिया गर्दा पेट चिरेर (ओपन सर्जरी) वा दूरबिनको माध्यमबाट (ल्याप्रोसकोपिक सर्जरी) गर्न सकिन्छ। विकसित देशमा अहिले जम्मा ५ प्रतिशतमा मात्र पेट चिरेर शल्यक्रिया गरिन्छ। तर, हाम्रो देशमा डाक्टर नयाँ प्रविधिसँग त्यति धेरै अपडेट हुन नचाहने प्रवृत्तिले गर्दा ९० देखि ९५ प्रतिशतमा पेट चिरेर शल्यक्रिया गरिन्छ। यद्यपि, दूरबिनको माध्यमबाट शयक्रिया गर्दा स–सानो प्वाल पारेर मात्र उपचार गरिने हुनाले निकै सजिलो र प्रभावकारी हुन्छ। पेट चिरेर शल्यक्रिया गर्दा पाठेघरको नलीलाई बचाउन सकिन्न। तर, दूरबिनको माध्यमले गर्दा नलीलाई बचाउन सकिन्छ। यसरी शल्यक्रिया गरिएका महिला सात दिनपछि नियमित क्रियाकलापमा फर्कन सक्ने हुन्छन्।
ध्यान दिनुपर्ने कुरा
एक पटक एक्टोपिक प्रेगनेन्सी भइसकेका महिलालाई पुनः दोहोरिने सम्भावना रहेकाले गर्भ बसेको थाहा पाउनासाथ स्त्रीरोग विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण गराइहाल्नु राम्रो हुन्छ। यदि, गर्भ परीक्षण गर्न ढिला भई एक्टोपिक प्रेगनेन्सीले जटिल रूप लियो भने गर्भ खेर जान्छ। यसका साथै नली फुटेर रक्तस्राव हुन्छ। पाठेघरमा दुवै नली नभएपछि पुनः गर्भधारण गर्न सक्ने अवस्था रहँदैन।
(स्त्रीरोग विशेषज्ञ डा.साहसँग रामकला खड्काले गरेको कुराकानीमा आधारित)