अंगदान गर्दाको खुसी
काठमाडौं : मरणोपरान्त अरूलाई अंगदान दिन पाउनुलाई पूर्वस्वास्थ्यमन्त्री गगन थापा पुण्य काम ठान्छन्। उनी भन्छन्, ‘मैले त मञ्जुरी दिइसकेँ।’ अंगदान गर्दा सन्तुष्टि मिल्ने पूर्वमन्त्री थापाको भनाइ छ। ‘जीवनको सार्थकता नै यही हो। अंगदानको मञ्जुरी दिँदा सन्तुष्टि मिलेको थियो। अंगदान जत्तिको धर्म वा पुण्य काम अर्को के होला र ? ’ पूर्वमन्त्री थापाले भने।
डढेर वा गलेर जाने अंग दान गर्दा आफ्ना अंग जीवित रहन्छन्। पूर्वस्वास्थ्यमन्त्री राजेन्द्र महतो प्रत्यारोपण गर्न मिल्ने जति अंगदान गर्न तयार रहेको बताउँछन्। ‘जुनजुन अंग सम्भव हुन्छ, ती सबै दान गर्ने मञ्जुरी दिइसकेको छु’, पूर्वमन्त्री महतोले भने। बाँचुन्जेल आफैंलाई साथ दिएका अंग मृत्युपछि अन्यलाई काम लाग्ने गरी दान दिनु मानवीय धर्म भएको उनको ठहर छ।
अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार स्पेनमा सबै नागरिक अंगदाता छन्। ‘अंगदान गर्न तयार छैन भनेर घोषणा गरेकाबाहेक सबै अंगदाता छन्’, डा. श्रेष्ठले भने, ‘अंग प्रत्यारोपणमा स्पेन सबैभन्दा अगाडि छ।’
कसरी गर्ने अंगदान ?
१८ वर्षभन्दा माथिका व्यक्तिले नेपालमा अंगदान गर्न सक्छन्। मानव अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, ०५५ अन्तर्गत अंगदान गर्न सकिन्छ।
जिउँदो अवस्थामा पनि नजिकको नातेदारलाई अंगदान गर्न सकिन्छ। दुई वा दुईभन्दा बढी परिवारको आपसी सहमतिमा साटासाटसमेत गर्न सकिन्छ।
प्रत्यारोपणविज्ञ डा. श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु भएपछि पनि अंगदान गर्न सकिन्छ। मृत्युअघि नै अंगदान गर्न चाहेको लिखित मञ्जुरी दिनुपर्छ।
के हो मस्तिष्क मृत्यु ?
मस्तिष्कको पूर्ण क्षति भए÷नभएको परीक्षणपछि मात्र चिकित्सकले घोषणा गर्छन्।
बिरामीमा अप्रत्यावर्तनीय क्षति भएको, मस्तिष्क स्टेममा कुनै प्रतिक्रिया नभएको र प्राकृतिक रूपमा श्वासप्रश्वास नभएको अवस्था सुनिश्चित गर्न स्वास्थ्य परीक्षण गरिन्छ।
मस्तिष्क मृत्यु भएका ६ जनाको मिर्गौला प्रत्यारोपण सफल भएको छ।
विशेषज्ञसहितको टोलीले ६ घण्टाको अन्तरालमा दुई पटक परीक्षण गर्छन्। सुनिश्चित भएपछि मात्र मस्तिष्क मृत्यु घोषणा गर्छन्। मस्तिष्क मृत्युको घोषणापछि बिरामीको मृत्यु भएको मानिने कानुनी व्यवस्था छ। रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकसहित कम्तीमा एक जना एनेस्थेसियोलोजिस्ट वा इन्टेन्सिभिस्ट रहेको चिकित्सकबाट टोलीबाट मस्तिष्क मृत्युको घोषणा गर्नुपर्छ। मस्तिष्क मृत्युको घोषणा गर्ने चिकित्सक अंग प्रत्यारोपणमा संलग्न हुन पाउँदैनन्।
आठ जनालाई नयाँ जीवन
शरीरबाट आँखा, मिर्गौला, कलेजो, मुटु, फोक्सो, प्याङक्रियाज, सानो आन्द्रालगायत अंग दान गर्न सकिने चिकित्सक बताउँछन्। मस्तिष्क मृत्युपछि दुई वटा मिर्गौला, दुई वटा फोक्सो, एक÷एक वटा मुटु, कलेजो, प्याङक्रियाज र सानो आन्द्रा निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ। ‘एक जना व्यक्तिले अंगदानको मञ्जुरी दिने हो भने आठ जनाले नयाँ जीवन पाउन सक्छन्’, डा . श्रेष्ठले भने।
सडक दुर्घटना तथा विभिन्न रोगबाट बर्सेनि नेपालमा एक हजारको मस्तिष्क मृत्यु हुने चिकित्सकको अनुमान छ। हालसम्म मस्तिष्क मृत्यु भएका तीन जना व्यक्तिबाट ६ जनामा मिर्गौला प्रत्यारोपण गरेको डा. श्रेष्ठ बताउँछन्। त्यस्तै, मस्तिष्क मृत्यु भएका व्यक्तिको एक जनाको कलेजो प्रत्यारोपण गरिएको छ। मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न पाए सेवा प्रवाहमा तीव्रता आउने अर्का प्रत्यारोपणविज्ञ डा. रमेशसिंह भण्डारी बताउँछन्।
मस्तिष्क मृत्यु भएका अंगदाताको शरीरबाट अपरेसन थियटरमा पुर्याइन्छ। प्रत्यारोपण विज्ञ डा. श्रेष्ठका अनुसार शवमा कुनै विकृति देखिँदैन। जीवित व्यक्तिको झैं चिरफार गरेको ठाउँमा टाँका लगाएर सद्दे बनाइन्छ। डा. श्रेष्ठ भन्छन्, ‘अंगदान गर्न अप्ठ्यारो मान्नु पर्दैन। अरूलाई जीवन दिनु नै मानवीय धर्म हो। ’