कडा रोगले पिरोल्दै
इलाम : देउमाई नगरपालिकाले कडा रोग लागेका २१ बिरामीलाई सहयोगका लागि सिफारिस गरेको छ। माघको अन्तिम साता यसका लागि सिफारिस गर्ने अधिकार दिइएको थियो। जिल्लाका अन्य चार नगरपालिका र ६ गाउँपालिकाले पनि देउमाईकै हाराहारी सहयोग सिफारिस गरेका छन्।
देउमाईमा ११ जनाले क्यान्सर रोगको उपचारका लागि सहयोग मागेका छन्। मुटुका ६ र मिर्गाैलाका चार सिफारिसका लागि निवेदन आएको स्वास्थ्य शाखा प्रमुख तुलसी पोख्रेलले बताए। सूर्योदय नगरपालिकाले २५ जनालाई सिफारिस दिएको स्वास्थ्य शाखा प्रमुख विपुल अधिकारीले जानकारी दिए।
यस्ता कडा रोगका सम्पत्तिसँगै ज्यानै गुमाउनेको संख्या बढ्दै गएको छ। स्थानीय तहमा सहायता माग्नेको संख्या बढ्दै गएको सूर्योदयका मेयर रणबहादुर राईले बताए। विषादीको अनियन्त्रित प्रयोग र खानपानमा हेलचेक्र्याइँका कारण कडा रोगको प्रकोप बढेको चिकित्सक बताउँछन्।
इलाममा विषादी प्रयोग, खानपान आदिका कारण क्यान्सरका रोगी बढेको डाक्टर रामकृष्ण आचार्यले बताए। व्यावसायिक खेतीका नाममा विषादीको अत्यधिक प्रयोग र खानपानका कारण क्यान्सरका रोगी बढेको उनको भनाइ छ।
सूर्योदय चिया र तरकारीको पकेट क्षेत्र हो। चुलाचुली र माई नगरपालिका पनि खेतीमा विषादीको प्रयोग उच्च रहेको पाइन्छ। इलाम नगरपालिका तरकारी र खाद्य उपयोग गर्ने क्षेत्र हो। अन्य क्यान्सर रोगी पनि व्यावसायिक तरकारी खेती गर्ने गाउँमै बढी पाइन्छ। टमाटरजस्ता तरकारी नियमित प्रयोग गर्ने, विषादी प्रयोग गर्ने व्यक्तिमा क्यान्सको असर देखिएको डक्टर बताउँछन्।
इलामका १० स्थानीय तहमै क्यान्सरका रोगी देखिएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ। सूर्योदयमा गत वर्ष २३ जनामा क्यान्सर रोग देखापरेको थियो। इलाम नगरका २१ जनालाई क्यान्सर लागेको स्वास्थ्य कार्यालयको तथ्यांक छ। देउमाईमा एक वर्षमा १३ जना क्यान्सरका बिरामी देखिएका थिए। सन्दकपुर, फाकफोकथुम, माङसेबुङ, चुलाचुली, रोङ गाउँपालिका र माई नगरपालिकामा पनि क्यान्सरका बिरामी देखिएका थिए।
गत आर्थिक वर्षमा जिल्लाभरका ९६ जना क्यान्सरका रोगीलाई आर्थिक सहायता सिफारिस गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। जसमा ५२ महिला र ४४ पुरुष छन्। २ सय २२ जनालाई कडा रोग लागेको उल्लेख छ। कडा रोगमा क्यान्सर, मुटु रोग, ब्रेन ट्युमर, स्पाइनल इन्ज्युरी, पार्किन्सन पर्दछन्। २०७३/७४ मा १ सय ५२ जना क्यान्सरका रोगीलाई सुविधाका लागि सिफारिस गरेको थियो।