(न)पढ्ने किन ?
हामीलाई महाप्रलयले जस्तै प्रभावित गर्ने, अत्यन्तै नजिकको प्रिय व्यक्तिको मृत्युले जस्तो, दुनियाँबाट पर एकान्त जंगलमा निर्वासित भएजस्तो र आत्महत्याजस्तो गहिरो पीडा दिने पुस्तक चाहिन्छ। किताब त्यस्तो होस्, जसले हामीभित्र जमेको बरफका लागि बन्चरोको काम गरोस्। -फ्रान्ज काफ्का।
काफ्काको विचारमा किताबले हामीभित्र जमेको हिउँलाई टुक्राटुक्रा पारेर फुटाउन सक्दैन भने नपढ्नु धेरै उपयुक्त हुन्छ। हाम्रा चेतनारूपी वृक्षका हाँगाहरूमा हिउँ जमेका हुन्छन्। हिउँको बोझले यसको गतिशीलतामा पूर्णविराम लागेको हुन सक्छ। पुस्तक पठनले चेतनाको वृक्षलाई जोडले हल्लाउन सक्नु पर्छ र जमेका हिँउलाई टुक्रा टुक्रा पारिदिन सक्नु पर्छ, ताकि हाम्रो चेतना फेरि एकपटक तरोताजा हुन सकोस्। तब न पुस्तक ! तब न पठन !
किन पढ्ने ?
मानिस पढ्न अभिशप्त छ। अर्थात् नपढ्न खोजेर हामी उम्कन सक्दैनौं, पढ्नु हाम्रो नियति हो। यो अवधारणाले पढ्नु शब्दको बृहत्तर अर्थलाई समेट्छ। वस्तु र घटनाबारे कुनै निष्कर्ष निकाल्नुअघि तिनको प्रणालीबद्ध अवलोकन गर्नु पढ्नु हो। तर सामान्य अर्थमा पढ्नु शब्दले पुस्तक, पत्रपत्रिका आदिमा लेखिएका कुरालाई ग्रहण गर्नु भन्ने बुझिन्छ। अझ सीमित तर आमबुझाइमा पढ्नु भनेको ‘पुस्तक पढ्नु’ मात्रै हो।
पढ्नुका उद्देश्य विविध हुन्छन्। औपचारिक शिक्षाका लागि तोकिएका पाठ्यसामग्री पढ्नुपर्ने हुन्छ। यसको उद्देश्य ज्ञान आर्जन गर्नु वा सम्बन्धित विषयमा विज्ञता हासिल गर्नु हो। पढाइको दोस्रो उद्देश्य हो समाज, संस्कृति, इतिहास, दर्शन आदिसँग सामान्य रूपले परिचित हुनु। यो तहको पढाइ तुलनात्मक रूपले गैरप्राविधिक हुन्छ।
विशिष्टीकृत ज्ञान भएका विविध क्षेत्रका व्यक्तिहरूबीच आपसमा र सर्वसाधारणबीच समेत पुलको काम गर्ने हुँदा यसप्रकारको पठनले समग्र समाजको चेतनास्तरको प्रतिनिधित्व गर्छ। सूचना र ज्ञानलाई सरलीकृत गरेर पस्किने यस्ता पुस्तकहरू नै लोकप्रिय हुने सम्भावना राख्छन्। यो प्रयोजनका लागि लेखिने पुस्तकहरू तयार पार्नु लेखकका लागि चुनौती पनि हो।
पढाइको तेस्रो उद्देश्य हो, मनोरञ्जन। क्षणिक आवेग, उत्तेजना र मान्छेका आधारभूत तहका संवेगहरूलाई सुम्सुम्याउनु यो तहको पठनको उद्देश्य हो। तनावबाट मुक्त हुन, फुर्सदको समयलाई उपयोग गर्न, काल्पनिक लोकमा विचरण गर्न वा मानव जीवनका अन्तरंग पाटालाई अनुभूति गर्न यस्ता पठनले सहयोग गर्छन्। आख्यान, नाटक र काव्य यसका उपयुक्त विधा हुन्।
संक्षेपमा भन्दा, तत्कालीन समयको धारलाई पछ्याउन, परिस्थितिअनुसार आफूलाई अनुकूलित तुल्याउन र मस्तिष्कलाई निरन्तर क्रियाशील राखिराख्नअ पठनको महत्वपूर्ण भूमिका रहन्छ।
हामी पठनमैत्री छौं ?
गएको साठी वर्षमा नेपाल सरकारको उद्देश्य साक्षरता दर बढाउने नै रह्यो। साक्षरता र पठन संस्कृति फरक कुरा हुन्। पठन संस्कृति समाजको समृद्धिको परिसूचक पनि हो। हाम्रो जनसंख्याको ठूलो हिस्साको प्रतिव्यक्ति आय एकदमै कम छ। त्यो आयले उनीहरूलाई जीवन निर्वाहका लागि पनि मुश्किल हुन्छ। आधारभूत जीवन निर्वाहका लागि आय आर्जनमा खट्नुपर्ने भएकाले आधारभूत शिक्षा समेतबाट वञ्चित हुनुपर्ने जमातभित्र पठन संस्कृतिको अपेक्षा गर्नु मिल्दो पनि देखिँदैन।
सामान्य अर्थमा औपचारिक शिक्षाभन्दा बाहेक र निर्देशित पाठ्यक्रमभन्दा बाहिरका पाठ्यसामग्री पढ्ने र त्यसप्रति निरन्तर चासो राख्ने् प्रवृत्तिलाई पठन संस्कृति ठान्ने प्रचलन छ। यसका लागि पाठ्यसामग्रीको सुगमता पहिलो आवश्यकता हो। बजार र पुस्तकालय पाठ्यसामग्री प्राप्त गर्ने स्थान हुन्। आर्थिक रूपले दयनीय जनताको क्रयशक्तिको कुरा गर्नु वृथा हुन्छ। मध्यमवर्गीय र मध्यमवर्ग उन्मुख समुदाय पनि दिन–पर–दिन बढ्दो महँगीले अतिरिक्त विषयमा खर्च गर्न सक्ने क्षमतामा छैनन्। पुस्तकालयहरूले निश्चितै पठन संस्कृतिको अभिवृद्धि गर्छन्। तर विद्यालय र महाविद्यालयहरू नै पुस्तकालयको दृष्टिले दरिद्र छन्। सार्वजनिक पुस्तकालयहरू लगभग छैनन् भन्दा हुन्छ। पुस्तकालय र पठन संस्कृति हाम्रो समाजको प्राथमिकतामा रहेको देखिँदैन।
जीवन निर्वाहका लागि खटेर मानिसहरूसँग कति समय बाँकी रहन्छ र उनीहरू त्यो समयलाई कुन रूपमा उपयोग गर्छन् भन्ने कुरा पठन संस्कृतिको विकासको सन्दर्भमा अहम् प्रश्न हो। फुर्सदको समयको सदुपयोगको विकल्प पढ्नु मात्र होइन। व्यावसायिक संलग्नताबाहेक व्यक्तिको पारिवारिक र सामाजिक भूमिका पनि उत्तिकै हुन्छ। वर्तमान नेपालको तरल राजनीतिले पैदा गरेको विभिन्न प्रकृतिका अस्थिरताले मानिसहरूलाई समकालीन राजनीतिक गतिविधिप्रति निरपेक्ष रहन दिइराखेको पनि छैन। शिक्षित समुदायका मानिसहरू त अतिरिक्त रूपले प्रभावित देखिन्छन्। सीप, दक्षता र ज्ञानले मात्र सफल हुन सकिन्छ भन्ने तथ्य स्थापित हुन सकेको छैन। यो पृष्ठभूमिमा सामान्य अभिभावकहरू आफ्ना केटाकेटीलाई बाह्य पाठ्यसामग्रीमा अल्झिएको देख्नू रुचाउँदैनन्।
ग्रामीण र आर्थिक रूपले निम्नवर्गीय परिवारको कुरा छोडौं, सम्पन्न परिवारमा पनि निजी तथा पारिवारिक पुस्तकालयको अवधारणा भित्रिन सकेको छैन। कुरा संस्कारको हो, व्यक्तिगत प्राथमिकताको होइन। विद्यार्थी जीवनमा अतिरिक्त पुस्तक पढ्नु हुँदैन भन्ने संस्कारबाट दीक्षितहरूको बाहुल्य छ समाजमा। बहुसंख्यक अभिभावकहरू यस्ता ‘अनावश्यक’ कुरामा खर्च गर्न चाहँदैनन् पनि।
समाजको पठन संस्कृतिको मापन गर्ने तेस्रो तत्व हो, सामाजिक मनोविज्ञान। समाज पुस्तकप्रेमीको कदर गर्छ, प्रशंसा गर्छ। तर आफ्ना छोराछोरीले पढेर समय ‘खेर फालेको’ रुचाउँदैन। धेरै पढ्ने व्यक्ति समाजका लागि उपयुक्त पात्र हुन सक्दैन भन्ने विश्वासले जरा गाडेको छ। अधिकांश विद्वान् र विश्वविद्यालयका प्राध्यापकहरू सामान्य जीवनयापनका लागि युद्धरत देखिरहेको समाजको आँखा पठनमैत्री नहुनु अस्वाभाविक होइन। समाजको आँखामा समृद्धिका लागि न्यूनतम शिक्षा चाहिन्छ, व्यावसायिक शिक्षा चाहिन्छ, तर आय आर्जनसँग सोझै नजोडिएको पठन अनुत्पादक हो।
यहाँ पठन संस्कृति छ त ?
पठनमैत्री नभएको समाजमा पठन संस्कृतिको विकास सम्भव हुन्छ ? नेपालमा विश्वविद्यालयले ज्ञान उत्पादन गर्छ भन्ने विश्वास लिएर विश्वविद्यालय धाउने व्यक्तिहरू नगन्य छन्। विश्वविद्यालयको संस्थागत उद्देश्य त ज्ञान उत्पादन गर्ने नै हो, तर संस्थागत प्रयास भने लगभग शून्य छ। विश्वविद्यालय जाने व्यक्तिहरूको पहिलो उद्देश्य डिग्री ‘आर्जन गर्ने’ हुने गर्छ। हाम्रा डिग्री ज्ञानका परिसूचक हुन सकेका छैनन्। कोही व्यक्ति ज्ञानसहितको डिग्री लिएर निस्केको हुन सक्छ, तर बजारमा बिक्ने भनेको डिग्री हो। डिग्री र त्यसले अपेक्षा गरेको ज्ञानको तालमेलप्रति विश्वविद्यालय उदासीन रहनुले समाजमा पठन संस्कृतिप्रति नकारात्मक प्रभाव परेको छ।
विद्वताको परिभाषा अहिले ‘इन्टर–डिसिप्लिनरी’ (अन्तर्विषयिक) भइसकेको यथार्थलाई हाम्रा विश्वविद्यालयहरूले सम्बोधन गर्न सकेका छैनन्। अन्तर्राष्ट्रिय प्राज्ञिक परिवेश भने भिन्न छ। एउटा विषयको विज्ञ अन्य विषयप्रति बेखबर रहन सक्ने स्थिति छैन। अस्ट्रियाका भौतिकशास्त्री अर्विन स्रोडिङरको ‘ह्वाट इज लाइफ’ एउटा उदाहरण सान्दर्भिक हुन सक्छ। नोबेल पुरस्कारबाट सम्मानित स्रोडिङरले भौतिकवादी चस्माले जीवविज्ञानको विकासलाई जसरी हेरे, त्यसले जीवविज्ञानमा क्रान्ति नै ल्याइदियो। युवल हरारीको अन्तर्राष्ट्रिय बेस्टसेलर ‘स्यापिएन्स’ त्यसको भाषा र अभिव्यक्तिको सरलताले मात्र लोकप्रिय भएको होइन। मानवताको विकासमा बहुआयामिक पक्षको संश्लेषित चर्चा भएकाले यो किताब लोकप्रिय भएको हो।
अर्थात्, एउटा विषयको विज्ञले अर्को विषयको आधारभूत ज्ञान राख्ने गर्दा ज्ञानको नयाँ नयाँ पर्दा उघारिँदै जान्छ। र, यस्तै परम्पराले पठन संस्कृतिलाई टेवा प्रदान गर्छ। आफूसँग सम्बन्धित र आवश्यकताअनुसारको न्यूनतम ज्ञान व्यक्तिले आर्जन गरेकै हुन्छ। व्यावसायिक आवश्यकताअनुसार आफूलाई चुस्त राख्नर आफ्ना क्षेत्रका पछिल्ला उपलब्धिहरूप्रति व्यक्ति सजग रहन्छ र रहनुपर्छ। तर ‘बोर्डर क्रस’ गरेर अन्यत्र विकास भएको ज्ञानको क्षितिजसँग पनि परिचित हुने उत्कण्ठाले समाजमा बेग्लै प्रभाव पारेको हुन्छ। सामान्य जनतामा पठन संस्कृति विकास हुन शिक्षित व्यक्तिहरूको उदाहरणले अनुकरणीय भूमिका खेल्छ।
हाम्रो विद्वत् समुदायको एउटा पत्रमा निश्चितै रूपले यस प्रकारको जागरुकता देखिन्छ। तर यो एकदमै सीमित छ, शिशु अवस्थामै छ। यसले फैलिन पाएको छैन, हुर्कन पाएको छैन। मनोरञ्जन र समय कटाउनका लागि पढिने ‘हल्का’ साहित्यले पठन संस्कृति बढाउँदैन। पठन संस्कृति बढाउन ज्ञानको भोक हुनुपर्छ, जानकारी पाउने तिर्सनाले लखेटिनु पर्छ। काफ्काले भने जस्तो आफूभित्र जमेको हिउँको पहाडलाई भत्काउने प्रेरणाले जागृत हुनु पर्छ। हामीकहाँ यस्तो जागरुकता र यसप्रकारको संस्कृति कुण्ठित बनेको छ।
पठन संस्कृतिको संकुचन किन ?
माथि चर्चा गरिसकियो, आर्थिक कारणले गर्दा नेपालमा पठन संस्कृति फस्टाउने अवसर भएन। समाजको मनोविज्ञान पठन संस्कृतिमैत्री छैन।
वास्तवमा यी दुई कारण एउटै सिक्काको दुई पाटा जस्तै हुन्। पठन संस्कृतिको विस्तारको तेस्रो प्रेरक भाषिक पहुँच हो। विशेष गरी अंग्रजी भाषामा राम्रो दख्खल भएका व्यक्तिहरूको मात्र पहुँच हुने गर्छ राम्रा पुस्तकहरूमा। राम्रा पुस्तक नपढुन्जेल पठन उत्प्रेरणा बढ्दै बढ्दैन। यो ध्रुवसत्य कुरा हो। राम्रा पुस्तकको अभावको वातावरणलाई कमजोर र ‘हल्का’ पुस्तकहरूले उपयोग गर्छन् र पुस्तक भनेका यिनै हुन् भन्ने भ्रम पैदा गर्न सफल हुन्छन्। अन्ततः यो पठन संस्कृतिका लागि प्रत्युत्पादक ठहरिन्छ। हामीकहाँ अहिले भइरहेको यही हो। अन्तर्राष्ट्रिय स्तरका र लामो समयदेखि सदाबहार रहेका कृतिहरू नेपालीलगायत अन्य भाषामा आधिकारिक अनुवाद भएर आउन सकेको खण्डमा पाठकहरूलाई यसले उत्प्रेरित गर्न सक्थ्यो। पाठ्यसामग्रीको उपलब्धताले पनि धेरै फरक पार्छ।
स्वस्थ बहस पठन संस्कृतिको ‘लुब्रिकेटर’ हो। आलोचना, प्रत्यालोचना र बहसको परम्पराबाट हामी कोसौं टाढा छौं। केही स्वतःस्फूर्त समूहहरूले छिटपुट प्रयास गरिरहेका छन्। पत्रपत्रिकाहरूमा पनि छिटपुट चर्चा हुने गरेको देखिन्छन्। तर समग्र वास्तविकताको चित्र भने बेग्लै छ। स्वदेशी पुस्तकहरूको हकमा ‘चिनापर्ची’ र ‘व्यक्तिगत सम्बन्ध’को कारण यस्ता प्रयास प्रभावित पनि हुने गर्छन्। कतिपय विदेशी किताबहरूका हकमा हामीमा भएको अध्ययनको कमीले हामीलाई सामान्य उपभोक्ताको तहमा सीमित गरिदिएको छ। तिनमा चर्चा गरिएका विषयहरूको डटेर समीक्षा गर्न सक्ने प्राज्ञिक स्तर हामीले विकास गर्न सकिरहेका छैनौं।
पठन संस्कृतिको विकासका लागि अर्को आवश्यकता चासोको पहिचान पनि हो। अध्ययनशीलताबारे भएका विभिन्न अनुसन्धानले १८–२८ वर्षको उमेर समूहमा व्यापक पठन–रुचि हुन्छ, उनीहरूको चासोमा विविधता पनि हुन्छ। तर हाम्रा सन्दर्भमा यो समूहका युवामा रुचि पहिचानको ठूलो समस्या छ। पढ्न चासो राख्ने युवाहरूको ठूलो जमात विषयवस्तु छनोट र चासो पहिचानको अन्यौलले ग्रस्त छन्। यसो हुनुको कारणमा हाम्रा पारिवारिक र सामाजिक वातावरण नहुनु त छँदै छ। त्योभन्दा महत्वपूर्ण कुरा, हाम्रा शैक्षिक संस्थाहरू त्यसका लागि प्रेरक बन्न सकेका छैनन्। यससम्बन्धी चर्चा माथि पनि आइसक्यो। संस्थागत प्रयास त भएन नै, व्यक्तिगत रूपले हाम्रा शिक्षकहरू पनि प्रेरक बन्न सकिरहेका छैनन्। यसको पनि कारण छ। शिक्षण पेसा समाजको पहिलो रोजाइमा कहिल्यै परेको छैन। अन्तिम रोजाइको रूपमा शिक्षण पेसा अपनाएकाहरूमा अपेक्षित प्राज्ञिक उन्नयन नहुनु अनौठो होइन। अन्य आर्थिक, राजनीतिक आदि परिवेश त छँदै छ। विद्यालयदेखि विश्वविद्यालयसम्मका यस्ता शिक्षक पठन संस्कृतिको उत्थानमा सहयोगी हुन नसकेका मात्र होइनन्, कतिपय अवस्थामा अवरोधक समेत बन्ने गरेका छन्।
समाजको पठन संस्कृतिमाथि विमर्श गर्दा हाम्रा आफ्ना पुस्तकहरूको गुणस्तरको पनि अनिवार्य रूपले चर्चा गर्नुपर्ने हुन्छ। पछिल्लो समय नेपाली बजार नयाँ प्रकाशक, नयाँ लेखक र नयाँ पुस्तकहरूले गुल्जार बन्दै आएको छ। विशेष गरी गणतन्त्र स्थापनापछि यसले व्यापकता पाएको हो। बजारमा प्रकाशक, लेखक र पुस्तकहरू थपिइरहनुले पाठकको संख्यामा बढोत्तरी भएकै संकेत दिन्छ। केही लेखकहरू लेखकस्वबाटै मध्यमस्तरीय जीवन निर्वाह गरिरहेका समाचार पनि आइरहेका छन्। पाठक नबढेको भए यो स्थिति पक्कै पनि हुने थिएन। तर यो ग्राफ निरन्तर उकालो लागिरहन पुस्तकहरूको गुणस्तरमा पनि त्यही अनुपातमा सुधार हुनुपर्छ। आकर्षक कलेवर, सुन्दर छपाइ मात्र पुस्तकको गुणवत्ताको सूचक होइन। विषयवस्तु र प्रस्तुति पनि महत्वपूर्ण कुरा हुन्। ‘आज पढ्यो, भोलि बिस्र्याे’ जस्ता किताबले पठन संस्कृति मौलाउँदैन। पठन ‘संक्रामक’ हुनुपर्छ।
अकस्मात् गर्माएको पुस्तक बजार कमजोर पुस्तकहरूको बाढीले आक्रान्त बनेको छ। सामान्य क्रयशक्ति भएका “राम्रा“ पाठकहरू नेपाली पुस्तकबाट सन्तुष्ट हुन सकेका छैनन्। ज्ञान वा मनोरञ्जन जुनसुकै उद्देश्यको लागि खरिद गरेको भए पनि पुस्तकले उपभोक्ताको अपेक्षालाई सम्वोधन गरेकै हुनुपर्छ। अपेक्षित गुणस्तरको पुस्तक बजारमा नआउनु विकासोन्मुख नेपाली पठन संस्कृतिका लागि ठूलो धक्का हो।
पुस्तक बजार किन सुस्तायो ?
केही वर्षअघि नेपाली पुस्तकहरूको बिक्री ह्वात्तै बढेको थियो। बजारको यो लहरले धेरै नयाँ लेखक पनि जन्मायो। विधागत विविधता भए पनि उपन्यासले बजार पिटेको थियो। साहित्यका अन्य विधामा परिचित लेखकहरू पनि उपन्यास विधातर्फ आकर्षित भए। लेखनप्रतिको यो उत्साह नेपाली भाषा, साहित्यको लागि ऊर्जा नै थियो। युवा लेखकहरू पहिलो कृतिमै राष्ट्रिय स्तरमा पुरस्कृत पनि भए। दुर्भाग्यवश, उत्कर्षमा पुगेका अधिकांश लेखकले दोस्रो, तेस्रो लेखनीमा कुनै जादु देखाउन सकेनन्। उसो त, एउटै र पुरानै लेखकले बजार धान्ने त पक्कै पनि होइन। तर पनि उनीहरू टिक्न नसक्नु र त्यही अनुपातमा नयाँ नयाँ लेखकहरू प्रकट भइनरहनुले बजारमा सुस्तता आएको पक्कै हो।
गएका केही वर्षभित्रै थरीथरीका प्रकाशक बजारमा देखिए। प्रकाशकहरूबीच स्वस्थ, अस्वस्थ दुवै थरीका प्रतिस्पर्धा पनि फस्टायो। दुर्भाग्यवश, प्रकाशन संख्यालाई त्यसको गुणवत्ताले सघाएन। पाठक भनेका यान्त्रिक उपभोक्ता होइनन् भन्ने यथार्थलाई प्रकाशकहरूले बेवास्ता गरे। लेखक बन्न रहर गर्ने तर त्यसको योग्यता पुगि नसकेकाहरू भटाभट लेखक बनेर उदाए। प्रकाशकहरू कमाउने धन्दामा लागेको समाचार पनि आए। गुणस्तर र सम्पादनजस्ता प्रकाशनका आधारभूत कुराको धोती खुस्काउने काम प्रकाशकहरूबाटै हुन थाल्यो। मानिस चेतनशील प्राणी हो। उसलाई एकचोटि झुक्याउन सकिन्छ, तर सधैं झुक्याउन सकिँदैन। पछिल्लो समय नेपाली पुस्तकप्रति पाठकहरू उदासीन भएकै हुन्।
नेपालको पुस्तक बजार बिगार्नुमा ‘आत्मकथा’हरूको पनि ठूलो हात छ। लेख्नु र प्रकाशन गर्न पाउनु व्यक्तिको मौलिक अधिकार हो। तर सबै व्यक्ति लेखक हुन योग्य हुँदैनन्। लेखक बन्नुपर्छ र बन्न सक्छु भन्ने भ्रमले धेरैलाई गाँज्यो। सके आफू, नसके प्रेतलेखनद्वारा पनि आफैं ‘लेखक’मा दरिने लोभले उनीहरूलाई प्रकाशकको दैलोसम्म पुर्यायो। प्रकाशकहरूले ‘लोकप्रिय’ छविलाई उपयोग गरे, ‘लोकप्रिय’ व्यक्तिहरूले पनि प्रकाशकको उपयोग गरे। फलस्वरूप विकसित हुँदै गरेको पुस्तक बजारमा कँडाकर्कटको थुप्रो लाग्यो।
आत्मकथाको नाममा कतिपय यस्ता कृतिहरू कुण्ठाहरूको दस्तावेज बन्न पुगे। आफूले बीसौं, तीसौं वर्ष लगाएर आर्जन गरेको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान बाँड्नतिर नलागेर आफ्ना कमजोरी तथा गल्तीलाई छोप्न र अरूलाई दोष लगाउन ‘आत्मकथा’को उपयोग गर्ने परम्पराको सुरुआत नै भयो। निवृत्त जीवन भनेको ‘आत्मकथा’ लेख्नसकै लागि हो भन्नेजस्तो देखियो। जे प्रकाशित गरे पनि पढिदिनु पर्छ र राम्रो भनिदिनु पर्छ भन्ने आग्रहले धेरैलाई प्रेरित गरिरह्यो।
नेपाली प्रकाशन उद्योगमा लक्षित समूहको अध्ययन, विश्लेषण गर्ने प्रचलन छैन। कुन वर्गलाई कस्ता पाठ्यसामग्री चाहिन्छ, कस्ता सामग्री उपयोगी हुन्छन् भन्ने अनुसन्धानको आवश्यकता महसुस भएको छैन। जस्तो कि, नेपाली बजारमा युवा लक्षित पुस्तक भनेर प्रेम र रोमान्स मात्रै बुझेको देखिन्छ। फलस्वरूप युवाहरूको ठूलो समूह नेपाली पुस्तकको बजारबाट टाढिइसकेको छ। पुस्तकहरूको विज्ञापन पनि इन्स्ट्यान्ट नुडलका विज्ञापनजस्ता देखिन्छन्। पुस्तकको प्रचारप्रसारले पाठकलाई चुनौती देओस् न, तब पाठक जाग्छन् !
पुस्तक बजारमा नयाँ पुस्तक मात्र छैनन्, पुराना लेखकका पुराना कृतिहरू नयाँ कलेवर र नयाँ प्रकाशकहरूबाट आइरहेका छन्। बजारमा अभाव भएका गैरसाहित्यिक पुराना कृतिहरूले सीमित पाठकको मात्र ध्यानाकृष्ट गर्छन्। पुराना लेखकका कृतिहरू नयाँ प्रकाशनमा आउँदैमा यिनीहरू नयाँ कृति जसरी धडाधड बिक्री हुने भने होइनन्। बजार गरम गराउने ताकत यिनमा हुँदैन।
नेपाली पुस्तक बजार नेपाली पुस्तकहरूको मात्र होइन। केही वर्षअघिसम्म नेपाली पुस्तक सीमित हुँदा बजारको मुख्य माग भनेकै विदेशी पुस्तक हुन्थे। सरकारले कर लगाएपछि झन्डै तीन महिनादेखि विदेशी पुस्तक भित्रिएका पनि छैनन्। यसको मारमा मुख्य गरेर विदेशी पुस्तकका उपभोक्ता परेका छन्। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा चर्चित रहेका कतिपय पुस्तक नेपाली बजारमा उपलब्ध हुन सकेका छैनन्। पुस्तकको मूल्य अचानक र असामान्य रूपले बढ्न सक्ने जस्ता हल्लाहरूले सामान्य ग्राहक हच्किरहेका छन्। बजार मुर्झाउनुमा यो पनि एउटा प्रमुख कारण हो।
नेपाली पुस्तकप्रतिको आकर्षण घटेकै हो ?
नेपाली पुस्तकप्रतिको आकर्षण केही वर्षदेखि घट्ने क्रममै थियो। त्यसको मतलब सबै विधाका पुस्तकप्रति पाठकहरूको आकर्षण समान रूपले ओरालो लागेको भने पक्कै पनि होइन। साहित्यको लोकप्रिय विधा उपन्यास अहिले प्रतिरक्षात्मक स्थितिमा छ। आत्मकथा विधा प्रतिरक्षात्मक पनि हुन सकेको छैन। बजारमा नेपाली पुस्तकको पूर्ति पर्याप्त हुँदाहुँदै पनि बजारमा चहलपहल छैन भने यो परिदृश्यले नेपाली पुस्तक किन्न भनेरै बजार जाने पाठकहरू धेरै कम रहेछन् भन्ने संकेत गर्छ। केही वर्षअघि उत्साहप्रद देखिएको पुस्तक बजार सुस्ताउनुको कारण पाठकभित्र होइन, लेखक तथा प्रकाशकभित्रै खोजिनु पर्छ।
नेपाली पुस्तकहरूको बिक्रीमा कमी आउनुको अर्को महत्वपूर्ण कारण पत्रिकाहरूका शनिबारे परिशिष्टांकहरू पनि हुन्। शनिबारलाई लक्षित गरेर छापा तथा अनलाइनमा आउने विविध पाठ्यसामग्रीहरूले सप्ताहभरिका लागि नेपाली पाठकको माग पूर्ति भइरहेको छ। यस्ता परिशिष्टांकमा आउने सामग्रीहरूमा विविधता मात्र हुने गरेको छैन, सूचना र गुणस्तर पनि पुस्तकमा पाइनेभन्दा स्तरीय छ। आकारप्रकारका दृष्टिले पनि लेखहरू छरिता हुने हुँदा बहुसंख्यक पाठकको मन यसले जित्दै गएको छ। पठन संस्कृतिको बिँडो अहिले प्रतिस्पर्धात्मक रूपले प्रकाशित हुने यिनै परिशिष्टांकहरूले थामेका छन् भन्दा फरक पर्दैन।
अन्त्यमा,
पठन संस्कृतिको केन्द्रमा नेपाली पुस्तकलाई (पुनः)स्थापित गराउने मुख्य जिम्मेवारी प्रकाशकहरूमै रहन्छ। एकैचोटि अन्तर्राष्ट्रिय स्तरका कृतिहरू बजारमा आउन सक्छन् र नेपाली लेखकहरूले लेख्न् सक्छन् भन्ने होइन। तर कस्ता विषयवस्तुहरू पाठकको नजरमा पर्छन् भनेर प्रकाशकहरूले निरन्तर अनुसन्धान गरिरहनु पर्छ। प्रकाशनलाई ‘कमाउने भाँडो’ बनाउने प्रवृत्तिप्रति स्वयं प्रकाशकहरू सजग रहनुपर्ने हुन्छ। लेखकहरूले पनि आफूमा भएको सिर्जना र कलाको अभिव्यक्तिलाई गुणस्तर र विविधता दिन आफ्नो अध्ययनको सीमालाई बढाउनु आवश्यक छ। पाठक भनेका ग्राहक हुन्, यिनीहरू पर्खंदैनन्। फ्रान्ज काफ्काको भनाइ लेखक तथा प्रकाशक दुवैलाई मार्गदर्शक बन्न सक्यो भने परिणाम निश्चितै सन्तोषजनक हुनेछ।
लेखक भाषाविज्ञान केन्द्रीय विभाग, त्रिविमा प्राध्यापन गर्छन्।