जात्रैजात्राको सहर
छ सु खः काठमाडौं ?
छ छु खः काठमाडौं
जिं थुइकेत
छन्ता स्वयाच्वना
काठमाडौं : काठमाडौंमाथि कवि अशेष मल्लका नेपालभाषाका शब्द निकै मनमोहक र मार्मिक छन्। अजबको सहर हो काठमाडौं। बुझ्न पनि गाह्रो चिन्न पनि गाह्रो। जति नियाले पनि जति भोगे पनि बुझ्न नसकिने। कविताका भाव यसरी नै बुझेँ मैले। जात्राहरूको कोलाजले भरिएको छ यो सहर। जात्राहरू खुसीमा पनि मनाइन्छन् यहाँ, दुःखमा पनि। शोकलाई शक्तिमा बदल्ने जात्रा हो इन्द्रजात्रा। ‘योसिं’ ठड्याएर सुरु हुने जात्रा त्यही योसिं ढालेर सकिन्छ।
नालादेखि तानेर ल्याइएको रूखले कालभैरवको प्रांगणमा ठडिएपछि आठ दिन देवता बन्ने सौभाग्य पाउँछ। त्यसपछि मुढो बन्छ। अस्तित्वहीन मुढो। जात्राहरू रंगीन हुन्छन्, उन्मत्त हुन्छन्। इन्द्रजात्रा उन्मादले भरिएको पर्व हो।
मजिपा लाखे, झ्यालिंचा, पुलुकिसी, सवभक्कु, महांकाली नाच, दागीं, बौमत इन्द्रजात्रामा देखिने सांस्कृतिक सौहार्दताका प्रतीकहरू हुन्। पूर्वजहरूले जात्राका अनेक परम्परा बसालेका थिए। तिनै परम्पराहरूको निरन्तरताले सहरलाई जात्रामय बनाउने गरेको छ। जीवन्त संस्कृति र सभ्यता भन्नु नै परम्पराहरूको निरन्तरता हो। जीवित देवी देवताहरू कुमारी, गणेश र भैरवका रथ यात्रा काठमाडौंको मौलिक संस्कृति हुन्। इन्द्रजात्रालगत्तै आउने मोनी (दसैं) चाडहरू मध्येको महाचाड हो। दसैंको आगमनसँगै उपत्यकाको हावा चाडबाडमय हुन्छ। परदेशीहरूको गाउँ फिर्तीले सहर खाली खाली भए पनि जात्राहरूले सहरलाई जीवन्त राख्छ।
टेबहाः, वटु, महाबौद्धमा निस्कने पायः (खड्ग जात्रा) दसैंका विशेष आकर्षण हुन्। नारी शक्तिका प्रतीक हुन् सहरभरि रहेका देवीका मन्दिरहरू। विशेष भीड लाग्ने गर्छ यी मन्दिरमा घटस्थापनादेखि नवमीसम्म। मोनी बाजा बजाएर सखारै शक्तिपीठहरूको दर्शन गर्न जानेहरूको भीडले दशैंको माहोललाई संगीतमय बनाउने गर्छ। जात्राहरूको उन्माद सहरमा मात्र सीमित छैन। काँठतिर पनि उत्तिकै छ। यस्ता अनेक सांस्कृतिक चलनहरू र व्यवस्थित बस्तीहरूले काठमाडौंलाई विशिष्ट र सभ्य सहरको उपमा दिलाएको छ। कसरी बसे होलान् यी बस्ती ? कसरी निर्माण भयो होला यो सभ्यता ? कसले चलाए होलान् यी जात्रा पर्व ? किंवदन्तीहरू अनेक बुनिएका छन्।
काठमाडौंको सभ्यतालाई विद्वान्हरूले बाग्मती सभ्यता भनेका छन्। विष्णुमती, इच्छुमती, रुद्रमती, मनोहरा, हनुमन्ते, कर्मनाशा, नख्खु, बल्खु आदि नदिहरूको संगम हो बाग्मती। परापूर्वकालमा बाग्मती र सहायक नदी किनारमा बसेका मानव सभ्यता बाग्मती किनारमा सीमित छैन अब। काठमाडौंका फाँट छिचोल्दै डाँडा उक्लिन थालेका छन् मानवबस्तीहरू। काठमाडौंको रूप बदलिएको छ। सुन्दरता हरण भएको छ। आकर्षक सहर काठमाडौं कुरूप र कोलाहलमय भएको छ। बाग्मती सभ्यताको परिभाषामा सीमित छैन यो सहर अब।
काठमाडौंको आकर्षण यसको भूगोलमा छ, संस्कृतिमा छ, वातावरणमा पनि छ। यी सब गुणहरूको सम्मि श्रण हो काठमाडौंको सुन्दरता। कृषि, मौसम, वातावरणमा आउने परिवर्तनसँग मेल खाने गरी चलाएका थिए पूर्वजहरूले काठमाडौंको जात्रा चक्र। जात्राहरू निश्चित पात्रोअनुसार चल्छन्। सयौं वर्षदेखि यसरी नै चलिआएका छन्।
जात्राअनुसार विभिन्न लयका लोकबाजाहरूको सुमधुर धुनमा रम्छ सहर। अंग्रेजी र आधुनिक संगीतमा अभ्यस्त हुन थाले पनि युवाहरूमा लोकबाजाको मोह घटेको छैन। आधुनिक संगीतको मोहमा रमेको नयाँ पुस्तामाझ लोकबाजा, लोकसंगीत र संस्कृति बचाउनु चुनौतीपूर्ण समय भएको छ। तर अवस्था उदासीन छैन। सचेत अभियन्ताहरू संस्कृतिका विभिन्न पक्षहरूको संरक्षण र संवर्द्धन खटिएका छन्।
‘हाम्रो पहिचान हाम्रो संस्कृति’को नारा बोकेको काठमाडौं महानगर लोकसंस्कृतिको संवद्र्धनमा उदासिन छ।
गुँला, येयाँ, मोनि बाजाका धुन सिक्ने र सिकाउनेको संख्या बढेको छ। सांस्कृतिक जात्रा पर्वमा नयाँ पुस्ताको संलग्नता उदाहरणीय बनेको छ। लोकबाजा, तिनका धुन, लय, सुर पुस्तकका पानामा भेटिने विषय होइनन्। नयाँ पुस्ताको संलग्नतामा परापूर्व कालदेखि चलिआएको निरन्तरको अभ्यास नै यसको संरक्षण र संवद्र्धनको गूढ रहस्य हो। निरन्तरता दिन नसक्दा थुप्रै संस्कृति, जात्रा, लोकगीत र धुनहरू लोप भएका छन्। निरन्तरतामा क्रमभंगताको सिद्धान्त यहाँ लागू हुँदैन। संस्कृतिको क्रमभंगताले लोकसंस्कृति लोप हुन्छ।
लोकसंस्कृति लोप हुनु भनेको पहिचान हराउनु हो। ‘हाम्रो पहिचान हाम्रो संस्कृति’को नारा बोकेको काठमाडौं महानगर लोकसंस्कृतिको संवद्र्धनमा उदासीन छ। सम्पदा र संस्कृतिको संवद्र्धनमा राज्यको भूमिका अहम हुन्छ। तर वास्तविकता फरक छ। राज्यको उदासीन भूमिकाप्रति स्थानीयवासी आक्रोशित छन्। सम्पदा र संस्कृतिको महत्वमाथि भाषण मात्रै गर्ने स्थानीय निकायको स्वभाव उदेकलाग्दो छ। सम्पदा पुनर्निमाणमा भइरहेको आधुनिकीकरण त्यसको संरक्षण होइन विनाश हो। हाम्रो मौलिकता के हो भन्ने बुझ्न चाहनेलाई ती पुनर्निमित सम्पदाले मद्दत गर्दैन। भोलिको पुस्ता रनभुल्लमा पर्ने पक्का छ।‘घरभन्दा मन्दिर धेरै छन्’, पाहुनाहरू काठमाडौंको बयानमा घर फर्किएर यस्तै गफ सुनाउँथे उहिले। सुन्नेहरू आआफ्नो कल्पनामा काठमाडौंको सुन्दर तस्बिर बुन्थे। ती गफ किंवदन्ती बनेका छन् अब। सहरको परिचय फेरिएको छ। मठमन्दिर घरहरूको घेराबन्दीमा परेका छन्। पाटी पौवा, ख्यः (खुला चौर) मासिएका छन्। धान, बकुल्ला, काउली, चम्सुर, पालुंगोको रैथाने स्वाद हराएको छ। तोरीका लागि प्रसिद्ध खोकनाका तेल पेल्ने मिलहरू विलुप्त भएका छन्। सैंबु पुग्दानपुग्दै तोरीको तेलको वासनाले स्वागत गथ्र्यो उहिले। तेल पेल्ने मिलहरू लहरै भेटिन्थे। स्थानीय तोरी हराएसँगै सैंबु, खोकनाको हावाबाट तोरीको तेलको बासना पनि हराएको छ।
मिलको खट्खट् आवाज बिलाएको छ। आयातीत तोरीबाट तेल पेल्ने मिलहरूले धानेको खोकनाको तेल किंवदन्ती बन्न लामो समय कुर्नु नपर्ला। विकासको मारमा पिल्सिएको छ खोकना। त्यसैले आन्दोलित छ। सांस्कृतिक पहिचानसहितका सम्पदा मास्ने षड्यन्त्रले उपत्यकाको दक्षिणी भेग आक्रोशित छ अहिले। आक्रोशको ज्वाला दक्षिणी भेगमा मात्रै होइन उपत्यकाभरि फैलिएको छ। त्यसैले उपत्यकामा बेमौसमी जात्राहरू हुने गरेका छन्। यी जात्राको सरोकार संस्कृतिसँग गाँसिएको छैन। सम्पदासँग जोडिएको छैन।
राजनीतिक रंगले भरिएको, वादको पक्षधरतामा जेलिएको, निरंकुशतालाई बोक्न हतारिएकाहरूको भीडले सहरका चोकहरूमा हरेक दिन जात्रा चलाइरहेका हुन्छन्। सामाजिक विभेदका विरुद्ध, हिंसाका विरुद्ध, राज्य आतंकका विरुद्ध सहरमा सँधै आगो बल्ने गरेको छ। तर अगुवा पछुवाको भीड बाँधेर कालो सिसाभित्र बसेर कोलाहल मच्चाउँदै कुद्ने राज्य सञ्चालनको ठेक्का लिएकाहरू यी जात्रा देख्दैनन्।
यी आगो र धुवाँ देख्दैनन्। देख्छन् त केवल आसेपासे र आफ्ना मान्छेको आवश्यकता। लोभ लालच। कसैले औंलो ठड्याए, प्रश्न गरे ऊ प्रतिप्रश्न गर्छ- दुई तिहाइ सरकारले कहीँ गल्ती गर्छ ? जे मन लाग्यो त्यो बोल्ने ? सरकारलाई हेप्ने ? प्रश्नोत्तरको यो विनोदी शैलीलाई जनता देशमा चलिरहेको उत्कृष्ट जात्रा ठान्दछन्। यी सब सांस्कृतिक र राजनीतिक जात्राहरूलाई देखेरै त कवि मल्लले लेखेका छन्- तिमीलाई बुझ्न म गहिरिएर नियालिरहेको छु काठमाडौं।