'चासोक तङ्नाम'को रौनक
ताप्लेजुङ : लिम्बू समुदायको मौलिक चाड 'चासोक तङ्नाम' (उधौली पर्व) सुरु भएको छ। नयाँबाली पाकेपछि पहिले प्रकृतिलाई चढाउने (न्वागी खाने) अनि मात्रै मानिसले प्रयोग गर्ने लिम्बु जातिको परम्परा छ। जसलाई चासोक तङ्नाम भनिन्छ।
चासोकसँगै लिम्बू जातिमा खुसियाली छाएको छ। बुधबार ताप्लेजुङमा चासोकको अवसरमा राखिएको कार्यक्रमको प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङ्गामले उद्घाटन गरे। लिम्बूसहित विभिन्न जातजातिले साँस्कृतिक झाँकिसहित फुङलिङ बजार परिक्रमा गरेका छन्।
सुनुवार, राई, शेर्पा, नेवार समुदायको समेत झाँकिमा सहभागिता थियो। कार्यक्रममा न्वागी पूजासहित लिम्बू समुदायका पम्लुङ, लितोङ, यालाङ, केलाङ, तुवा ताप्के, हाक्पारे, ख्याली जस्ता मौलिक खेल प्रदर्शन हुने आयोजक किराँत याक्थुम चुम्लुङका अध्यक्ष प्रेम सेलिङले बताए।