सप्तरीमा ४७ जनाको स्वाब रिपोर्ट नेगेटिभ
राजविराज : परीक्षणका लागि सप्तरीबाट एक साथ पठाइएको स्वाबको रिपोर्ट आउने क्रम सुरु भएको छ। सप्तरीको जोखिमयुक्त तीन क्षेत्रका साथै क्वारेन्टाइनमा बसेका र विदेशबाट आएका व्यक्तिहरुको स्वाब संकलन गरी पठाइएकोमा सोमबार ४७ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार दुई दिनको अवधिमा ३ सय १७ जनाको स्वाब पिसिआर परीक्षणका लागि बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकोमा ४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
जोखिमयुक्त ठहर गरिएको सप्तरीको सप्तकोशी नगरपालिकाबाट १ सय १३, कञ्चनरुप नगरपालिकाबाट ४३ र बोदे बर्साइन नगरपालिकाबाट १ सय ६१ जना गरी ३ सय १७ जनाको स्वाब परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ। बोदे बर्साइन नगरपालिकामा गरिएको संकलनमा शिलाजित र हिंग बेच्न आएका जुम्लाका तीन घुमन्ते व्यापारीसहित बोदे बर्साइनका १ सय १३, डाकनेश्वरी नगरपालिकाका २८, सुरुङ्गाका १२, खडक नगरपालिकाका दुई र बलान बिहुल गाउँपालिकाका तीन जनाको स्वाब संकलन गरिएको थियो। कञ्चनरुपस्थित क्वारेन्टाइनमा बसेका नौ जनासहित वडा नम्बर १ र २ बाट ४३ जना र सप्तकोशी नगरपालिकाको विभिन्न वडाबाट १ सय १३ जनाको स्वाब आइतबार निकालेर राति धरान पठाइएको थियो।
आरडिटी परीक्षण भरपर्दो नभएकोले पिसिआर विधिबाटै परीक्षण गर्नुपर्ने माग उठेपछि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सप्तरीसहित प्रदेश २ मा पिसिआर बिधिबाट परीक्षण तिब्र बनाएको हो। प्रदेश २ मा खटिएको केन्द्रीय प्रयोगशालाका प्राविधिकहरुसहितको आठ वटा टोलीले दुई दिनमा साढे एक हजार व्यक्तिको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको छ। सप्तरीको धरानमा र प्रदेश २ का अन्य सात जिल्लाको स्वाबको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौं पठाइएको छ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले गत चैत २० गतेदेखि स्वाब संकलन सुरु गरेकोकोमा हालसम्म ४७ वटा स्वाब संकलन गरेर परीक्षणका लागि धरान पठाएको छ। परीक्षणका लागि पठाइएको ४७ वटा स्वाबकै परीक्षणको रिपोर्ट नेगेटिभ आएको राजविराज अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए। मंगलबार साँझसम्म सबै स्वाबको परीक्षण भई रिपोर्ट आइसक्ने डा. दासले आशा गरे।
प्रतिक्रिया दिनुहोस !