आइसोलेसनको खानामा किरा
राजविराज : खानाको विषयलाई लिएर राजविराजस्थित आइसोलेसन केन्द्रको खानामा किरा भेटिएको छ। खानामा किरा भेटिएको भन्दै संक्रमितहरु राजविराजस्थित साइकृष्ण हस्पिटल एण्ड मेडिकल कलेजको आइसोलेसन केन्द्रमा आक्रोशित भएर तोडफोडमा उत्रेका छन्।
एक बालकले खाँदै गरेको खानामा किरा फेला परेको भन्दै संक्रमितहरुले खाना नखाने अडान राखेर भोक हडतालमा बसेका छन्। पटक-पटक गुनासो गर्दा पनि व्यवस्थापन पक्षले सुधार नगरेपछि आफूहरुले टेवुल, बेञ्च तोडफोड गरेर अनसनमा बसेको संक्रमित एक युवकले बताए। खानामा सुधार गर्न माग गर्दै केही दिनदेखि विरोध जनाएपछि झनै समस्या थपिएको भन्दै संक्रमित युवकले माग सम्बोधन गर्नुभन्दा पनि व्यवस्थापन पक्ष आत्मप्रशंसामा रमाउन खोजेको आरोप लगाए। निको भएर फर्कनेहरुले आइसोलेसन केन्द्रको व्यवस्थापन र स्वास्थ्यकर्मीको व्यवहार अत्यन्त राम्रो रहेको भन्दै गरेको प्रशंसाप्रति उनको संकेत थियो। निको भएर ठूलो सङ्ख्यामा बुधबार राति घर फर्कनेहरुले आइसोलेसन केन्द्रमा रहेका २र४ जना युवाहरु खैनी, गुटखा खाएर फोहोर गर्ने, रातभरी तास खेलेर नसुत्ने, होहल्ला गर्ने, व्यवस्थापन विरुद्ध योजनाबद्ध ढंगले लाग्ने गरेको र आफूहरु बाध्य भएर मौन बस्नु परेको जस्ता आरोप लगाएका थिए।

आइसोलेसन केन्द्रभित्र व्यवस्थापन पक्षको विरोध गर्ने र बाहिर निक्लने बित्तिकै प्रशंसा गर्नेहरुको शैली देखेर आश्चर्य लागेको भन्दै विरोधमा रहेका संक्रमित युवकले डाक्टरको दवाबमा बाध्यतावश उनीहरुले कुरा फेरेको दाबी गरे। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रणजीतकुमार झाले समाजमा पहिचान बनाएका व्यक्तित्वहरुले स्वस्फूर्त बोलेको कुरालाई अरुले सिकाएर बोलेको भन्नु उनीहरुको अपमान गर्नु हो भन्दै संक्रमतिमध्येका ५/६ जनाले गर्न नहुने काम गरिरहेको बताए। उनले महिला स्वास्थ्यकर्मीलाई जिस्काउने, अपशब्द बोल्ने, दुव्यवहार गर्ने, तोडफोड गर्ने, बहाना खोजी खोजी विवाद गर्ने तथा संक्रमितहरुको पहिचान खोलेर तस्विर र भिडियो सार्वजनिक गर्ने गरेको कामप्रति आपत्ति जनाए।
संक्रमितहरुले आइसोलेसन केन्द्रमा रहेको बेञ्च, टेबुल, टेन्ट तोडफोड गरेको र तीन वटा सिसी क्यामेरासमेत बिगारेको अस्पताल प्रशासनले जनाएको छ। तनाव उत्पन्न भएपछि आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मीलगायत नास्ता, खानाको व्यवस्थापन पक्षले आइसोलेसन स्थल छाडेर अस्पताल पुगेका छन्। आइसोलेसन केन्द्रका सामग्रीहरु तोडफोड गर्न र स्वास्थ्यकर्मीहरुलाई दुव्यवहार गर्न थालेपछि उनीहरु भागेर अस्पताल आएको डाक्टर झाले वताए। उनले भने- ‘पहिले राम्रै थियो, एक सातादेखि लगातार स्वास्थ्यकर्मीमाथि दुव्यवहार हुन थालेपछि घरपरिवार छाडेर आइसोलेसन केन्द्रमा खटिरहेका स्वास्थ्यकर्मीलाई काममा खटाउन गाह्रो भइरहेको छ।’ हात जोडेर खाना पकाउनेलाई अहिले रातको खाना तयार गर्न पठाएको भन्दै डाक्टर झाले अस्पतालले स्वास्थ्य सेवा र उपचार बाहेक खाना व्यवस्थापनको जिम्मा लिन नसक्ने बताए। खाना व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने विषयमा छलफल भइरहेको छ।

राजविराज नगरपालिका प्रमुख शम्भुप्रसाद यादव, जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत आनन्द ठाकुरले आइसोलेसनमा भएको सम्पूर्ण घटना विवरणको यथार्थ जानकारी लिन सम्बन्धित व्यक्तिहरुसँगै गएर भेटेको बताए। स्वास्थ्यकर्मीको टोली, खाना व्यवस्थापन पक्ष पछि विरोधमा रहेका ६/७ जना संक्रमितहरुसँग भेटेर समाधानको उपाय खोज्ने उनले बताए।

संक्रमितले पटक-पटक खानाको विषयमा गुनासो गरेपछि राजविराज नगरपालिकाका प्रमुख यादवले बुधबार संक्रमतिहरुसँग भेट गरेका थिए। संक्रमितहरुले चामल गुणस्तरहिन भएको गुनासो गरेपछि नगर प्रमुख यादवकै निर्देशनमा नयाँ चामलको साटो बिहीबारदेखि पुरानो चामल पकाईएको थियो। खानामा किरा भेटिएको भन्दै संक्रमितहरुले होहल्ला गरेपछि व्यवस्थापनले पुनः खाना पकाएर दिएको बताउँदै डाक्टर झाले ६ जना बाहेक सबै संक्रमितले खाएको बताए। दोस्रो पटक ल्याएको खानामा पनि किरा भेटिएको भन्दै संक्रमित एक युवकले खानामा सुधार गर्नुपर्ने माग ६ जनाको मात्र नभई सबै संक्रमितको साझा माग भएको बताए।
प्रतिक्रिया दिनुहोस !