पर्खंदै त्यो दिन
त्यो दिन आउनेछ
अनि त हामी मास्कले
हातेमालो गर्दै व्यस्त सडकको फुटपाथमा,
अल्मलिँदै गल्लीतिर पनि।
हो, त्यो दिन
जुन बेला हामी सडक किनाराको
कुनै सस्तो रेस्टुरेन्टमा पसेर
एउटै प्लेटमा तात्तातो समोसा
या त मम खाइरहेका हुनेछौं,
जेब्रा क्रसिङबाट सडक पार गरेर
बजारको भीडको भुँवरीमा
मिल्नेछौं हामी सूक्ष्म अणु,
त्यो भुँवरीको तरंग्याइले
अझ बढी उत्सर्जित हुँदै
निरन्तर बढ्दो भीडलाई
चिरेर बाटो निकाल्नेछौं
अनि मूल सडकमा निस्केर
यौटा खचाखच बसभित्र घुस्नेछौं
या त धुवाँ निकाल्दै भेटेटेटे
हल्ला गर्ने विक्रम टेम्पोमा चढेर
सहरको अर्को पाटामा पुग्नेछौं।
हाम्रो शब्दभण्डारको
यौटा अँध्यारो कुनामा
गन्धै पनि नआउने गरी सुकेर
उडिसकेको हुनेछ स्यानिटाइजर !
त्यो दिन
दर्शकहरूले ड्याम्म भरिएको
स्टेडियमभित्र छिरेर हामी
फुटबल या क्रिकेट म्याच हेरिरहेका हुनेछौं
तिमी एकपट्टिको टिमलाई
हौसला चिच्याइरहेकी हुनेछ्यौ
म अर्को टिमलाई
जोशले कराइरहेको हुनेछु
अनि जब समाप्तिको सिट्ठी बज्छ
अर्थात् अन्तिम बल फ्याँकिन्छ
या अन्तिम ब्याट्सम्यान आउट हुन्छ
हामी ज्वारभाटाका उठाइ र
बसाइमा पुगिसकेका हुनेछौं।
कि त स्टेडियमदेखि
केही टाढाको धुलौटे भुइँमा
अरू रमितेहरूको बीचमा
बेफिक्री थ्याच्च बसेर
सडकछेउतिर जादु देखाइहिँड्नेको
चटक हेर्दै रमाइलो मानिरहेका हुनेछौं।
उर्लिंदो र उम्लिँदो
घोर प्रतिवाद जुलुसमा पनि
मुट्ठी उज्याउँदै थर्किंदो आवाजमा
कराइरहेका हुनेछौं।
आउनेछ त्यो दिन
अनि हामी बिहेभोजतिर गइरहेका हुनेछौं,
आमन्त्रित साथीसित कस्सेर हात मिलाइरहेका
या एकअर्काको अँगालोमा बाँधिएका हुनेछौं।
केही निम्तारुहरू भीडबाट अलिक अलग्ग उभेर
एकार्कासित केही आत्मीय कुरा खुस्खुसाउँदै
निश्चिन्त एकार्काको सास सुँघिरहेका हुनेछन्।
त्यो दिन,
मराउ परेको छिमेकीको घरमा
हामी भेला भइरहेका हुनेछौं,
मृतकलाई खादा, फूल चढाउन,
अनि उसलाई पूरा संस्कारसहित
सश्रद्धा बिदा गर्न।
फेरि त्यै दिनको साँझपख
हामी यौटा बर्थ-डे पार्टीमा सामेल हुनेछौं
अनि समूह स्वरमा स्वर मिलाइरहेका हुनेछौं-
ह्याप्पी बर्थ-डे टु यु !
तर, अहिलेलाई चैं,
भ्रम र यथार्थको दोसाँधमा झुन्डिएको
यो भर्चुअल भेटघाटमा
भर्चुअल खुसी मनाउँदै बसौं !
तर... !
यतिन्जेल पर्खिराखेको त्यो दिन पनि
भर्चुअल मात्र पो भएर आउने पो हो कि !
दार्जिलिङ, भारत