पर्व मनाउन भेला भएकाबीच भागदौड मच्चिँदा कम्तिमा ३८ को मृत्यु
जेरुसेलम : इजरायलमा भागदौड मच्चिँदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यहुदी पर्व मनाउन भेला भएकाहरूबीच भागदौड मच्चिँदा ३८ जनाको मृत्यु भएको हो।
स्थानीय समयअनुसार शुक्रबार राति भएको सो भागदौडमा दर्जनौँ मानिस घाइते भएका छन्।
अलजजीराका अनुसार यहुदीले हरेक वर्ष मनाउने पर्व ‘लाग बाओमर’ मनाउन मानिसरू हजारौँको संख्यामा जम्मा भएका थिए। पर्वमा तीर्थ कार्यपछि ठुलो भोज खाने चलन छ। सो क्रममा एकैपटक हजारौँ मानिस साँघुरो बाटोबाट हिँड्ने क्रममा भागदौड मच्चिएको थियो।
सो घटनापछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ‘ठुलो संकट’ आइलागेको बताएका छन्। उनले सामाजिक सञ्जाल मार्फत् घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
कोरोना महामारीका कारण गत वर्ष रोकिएको पर्व यस वर्ष कोरोनाकैबिच मनाउन देशभरबाट करिब ३० हजार मानिस भेला भएको जनाइएको छ।