कोरोनाको इन्डियन भेरिएन्ट चीनमा पनि भेटियो
नयाँदिल्ली: पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोनाइरसको 'इन्डियन भेरिएन्ट' चीनमा पनि फेला परेको बताइएको छ । चिनियाँ अधिकारीहरुले कोरोना भाइरसको बी १६१७ भेरिएन्ट पुष्टि भएको बताएका छन् । यससँगै चीनमा उच्च शतर्कता अपनाइएको छ ।
तर यो भेरिएन्ट हालसम्म अहिलेसम्म कतिजनामा देखियो भन्ने बारे यकिन विवरण आएको छैन । चीनबाट २०१९ मा सुरु भएको कोरोनाभाइरस विभिन्न देशमा नयाँ र घातक रुपमा देखिन थालेको छ । विज्ञहरुका अनुसार विभिन्न ठाउँ र अवस्था अनुसार कोरोनाभाइरसका नयाँ भेरिएन्ट देखिएका हुन् ।
भारतमा भेटिएको नयाँ भेरिएन्टबारे पनि हालसम्म वैज्ञानिकले कुनै ठोस तथ्य फेला पारेका छैनन् ।
चिनियाँ सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) का प्रमुख वु जुनयुले भारतको नयाँ भेरिएन्ट म्युटेट स्ट्रेन चीनमा पनि फेला पर्नु चिन्ताको विषय रहेको प्रतिक्रिया दिए । साथै नयाँ भेरिएन्टले फेरि महामारीको चेतावनी दिएको भन्दै सबै सचेत रहन उनले आग्रह समेत गरेका छन् ।