ओर्लिए ४ अन्तरिक्ष यात्री
वासिङ्टन : स्पेस–एक्स ड्रागनमार्फत चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन्। अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा)का अनुसार अन्तरिक्ष यात्रीहरू पनामा सिटीनजिक समुद्री जलक्षेत्रमा अवतरण गरेका हुन्।
ती अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा ६ महिना रहेका थिए। उनीहरू जलक्षेत्रमा अवतरण गर्नासाथ डुंगामार्फत बाहिर निकालिएको थियो। नासाले सबै चार अन्तरिक्ष यात्रीले आफूहरू ठीक रहेको बताएको जनाएको छ। फ्लोरिडाको तटीय गल्फ अफ मेक्सिकोमा आइतबार बिहान २ बजेर ५६ मिनेटमा उनीहरू पृथ्वीमा अवतरण गरेका थिए।
उनीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा आइपुग्न साढे छ घण्टा लागेको नासाले जनाएको छ। गत नोभेम्बरमा मिचेल हप्किन्स, भिक्टर ग्लोभर, शानोन वाल्कर र जापानका सोइची नोगुची अन्तरिक्षमा गएका थिए। उनीहरू अन्तरिक्षमा जाँदा एलन मस्कले निर्माण गरेको स्पेस–एक्सबाट प्रस्थान गरेका थिए।