सिनोफार्मको कोरोना खोपले पनि डब्लूएचओबाट पायो आपतकालिन प्रयोगको अनुमति
बेइजिङ : चिनियाँ खोपले पनि कोरोनाविरुद्ध आपतकालिन प्रयोगका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बाट मान्यता पाएको छ । डब्लूएचओले चीन सरकारको स्वामित्व रहेको कम्पनी सिनोफार्मले विकास गरेको कोरोना खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको हो ।
डब्लूएचओले मान्यता दिएको यो खोप पश्चिमा मुलुकभन्दा अन्य मुलुकले विकास गरेको पहिलो बनेको छ । डब्लूएचओले यसअघि पश्चिमा मुलुकमा विकसित फाइजर, एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्स र मोडर्नाले विकास गरेका कोरोना खोपलाई प्रयोग अनुमति दिइसकेको छ ।
डब्लूएचओबाट खोपले प्रयोगका लागि अनुमति पाउनुभन्दा पहिले नै चीनलगायतका मुलुकमा लाखौँ मानिसले प्रयोग गरिसकेका छन् । यो खोप नेपालमा पनि प्रयोग भइरहेको छ ।
कतिपयले चीनमा विकसित खोपको प्रभावकारीताको यकिन नभएको बताउँदै आएका थिए । तर शुक्रबार डब्लूएचओले सिनोफार्मले विकास गरेको कोरोनाविरुद्धको खोप प्रभावकारी र सुरक्षित रहेको बताएको हो ।
खोपले अनुमति पाएसँगै फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी तथा जोखिमयुक्त मानिसलाई राहत हुने विश्वास डब्लूएचओले लिएको जनाएको छ ।