भारतलाई थप खोप र स्वास्थ्य सामग्री पठाउन अमेरिकी सांसदहरुको माग
वासिङटन: अमेरिकी सांसदहरुले भारतको कोरोना महामारी नियन्त्रणका लागि अमेरिकाले सहयोग गर्नुपर्ने भन्दै जो बाइडेन प्रशासनलाई सुझाव दिएका छन् ।
भारतलाई खोप उपलब्ध गराउन बाइडेन प्रशासनले प्रतिवद्धता व्यक्त गर्नुपर्ने उनीहरुको सुझाव छ । भारतको स्वास्थ्य संकट भयावह भन्दै गएको भन्दै उनीहरुले यस्तो अवस्थामा भारतलाई सहयोग गर्नु अमेरिकाको जिम्मेवारी समेत भएको सांसदहरुले बताएका छन् ।
भारतलाई अमेरिकी सरकारले धेरै खोप र स्वास्थ्य सामग्री सहायता पठाउनुपर्ने उनीहरुको माग छ । राष्ट्रपति जो बाइडेनले गत बिहीबार जुनको अन्त्यसम्ममा २ दशमलब ५ करोड डोज खोप दक्षिण र दक्षिणपूर्वी एसियाली देशहरुमा पठाउने घोषणा गरेपछि सांसदहरुले भारतलाई प्राथमिकता दिनुपर्ने माग गरेका हुन् ।
बाइडेनका अनुसार अमेरिकाले संयुक्त राष्ट्रसंघको कोभ्याक्स खोप कार्यक्रम अन्तर्गत विश्वभर ८ करोड खोप वितरण गर्नेछ ।
"भारतको संकट भयावह बनेको छ । यसका लागि राष्ट्रपति बाइडेनबाट थप कदमको आवश्यकता छ । हाम्रो महत्वपूर्ण मित्र राष्ट्र भारतका लागि भाइरस विरुद्ध लड्न थप कोभिड खोप र स्वास्थ्य सामग्री आवश्यक परेको छ," टेक्ससका गभर्नर ग्रेग एबोटले बताए ।
रिपब्लिकन पार्टीका गभर्नर उनले ट्वटीमार्फत भारतका लागि प्रार्थना गर्न अमेरिकी नागरिकहरुलाई आग्रह गरेका छन् । रिपब्लिकन सिनेटर टेड क्रुजका अनुसार कोभिडको झण्डै ३ करोड डोज खोप अमेरिकामा प्रयोग भएको छ ।
केही सांसदले भने बाइडेनको खोप वितरणको कार्यक्रम त्रुटिपूर्ण भएको भन्दै भारतलाई हाल अत्यावस्यक भएकाले भारतलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
सांसद रोजर विकरले पनि अन्य राष्ट्रहरुलाई खोप उपलब्ध गराउनु अमेरिकाका लागि महत्वपूर्ण भए पनि भारत जस्ता निकटतम मित्र राष्ट्रलाई प्राथमिकता दिनुपर्ने माग गरे ।
विधायक माइकल म्याक्वेलले पनि भारतलाई सहायता गर्नाले अमेरिकी समुदाय र भारतीय-अमेरिकी प्रवासी समुदायबीच घनिष्ठ सम्बन्धलाई अझै सुदृढ बनाउने प्रतिक्रिया दिएका छन् ।
विधायक एडम स्मिथले भने सहयोगको खाँचो परेका देशलाई सहयोग गरेकोमा बाइडेनको प्रशंसा गरे । भारतीय-अमेरिकी प्रवासी समुदायबाट सांसद बनेका नेताहरुले समेत भारतलाई खोप उपलब्ध गराउनका लागि पहल गरेका छन् । भारत पनि अमेरिकाको सहयोगी राष्ट्र भएकाले यतिबेला भारतलाई प्राथमिकता दिनुपर्ने उनीहरुको माग छ ।
भारतमा सोमबार १ लाख ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन पछील्लो ६१ दिनयताकै सबैभन्दा कम रेकर्ड हो । भारत सरकारको तथ्यांक अनुसार हालसम्म २ करोड ८९ लाख ९ हजार ९ सय ७५ जना भारतीय संक्रमित भइसकेका छन् ।
साथै ३ लाख ४९ हजार भन्दा धेरैको मंत्यु भइसकेको छ । साथै पछिल्लो २४ घण्टामा २ हजार ४ सय भन्दा धेरैको मृत्यु भयो । जुन पछिल्लो ४५ दिनमा सबैभन्दा कम मृत्यु हो ।