जसको नामै काफी छ

जसको नामै काफी छ

दुर्घटनाले नयाँ कुराको शिलान्यास हुनसक्ने भनेको यस्तै होला। नेपाली किताब नफ्याँकिएका भए के बालकृष्ण गुरुको यति अग्लो हुनसक्थे भाषासाहित्यमा ?


विद्वान् भनेपछि विद्वान् नै हुनुपर्छ। अलिकति पनि तलमाथि हुनुहुँदैन। परिभाषामा परिवर्तन हुनुहुँदैन। व्याख्या जताबाट गरे पनि हुनुपर्छ एउटै। कोही सत्ताले, कोही शक्तिले र कोही सम्पत्तिले पनि बनिरहेका छन् विद्वान्। जति बने पनि बालकृष्ण पोखरेलजस्ता कोही बन्न सकेका छैनन्। भाषासाहित्यको संसारको कुरा हो यो। अध्ययनले, अनुभवले, अनुसन्धानले र ज्ञानले भनिने विद्वान् नै। उदाहरण नै बनेका छन् बालकृष्ण गुरु। पद हुँदा र नहुँदा पनि। भौतिक शरीर हुँदा र नहुँदा पनि। 

अनेक नाम छन् र अनेकै काम पनि छन्। लेखेर पढेर कहिले थाकेनन् सकुञ्जेल। अठार घण्टासम्मको हिसाब छ लेखपढ गर्ने दिनमा। सत्तरी नाघिसक्दाको कुरा हो यो। त्यत्तिकै होइन एकसय पचासजति पुस्तक लेखेका। बाँकी कुनै विधा छैन लेख्न। कथा, बालकथा, उपन्यास त्यस्तै। जमेकै छन् निबन्ध, नाटक र काव्यमा पनि। इतिहासको गतिलै खोजी गर्न सक्ने। समालोचनामा मदन पुरस्कार नै पाउने। गहिरिएरै गर्नसक्ने अनुसन्धान। शब्दशास्त्र, कोश विज्ञान सबैमा आफ्नोपन छ, दम छ। भाषाको त कुरै भएन। बालकृष्णसँग भाषा नजोडे अन्याय नै हुन्छ दुवैलाई। अधुरै हुन्छ भाषा पनि बालकृष्णबिना। पर्याय नै हुन् एकअर्काका। 

भाषाको ‘क’ देखि ‘ज्ञ’ सम्म बालकृष्ण नभेटिने कुनै ठाउँ छैन। इतिहास पल्टाए पनि उनै। वर्तमानमा नहुने कुरै भएन। भविष्यमा पनि बालकृष्णको विकल्प छैन। उनी विना भाषाको ‘भ’ भन्दा अगाडि बढ्न सक्दैन। भाषाले श्रीपेच नै लगाइदिएको छ बालकृष्णलाई। श्रीपेच नै लगाएपछि अरूमाथि अलिअलि अन्याय त हुने नै भयो। आपैंmले आफैंप्रति गरिने अन्याय हो यो। ठूलो माछाले सानो माछालाई निलिदिएजस्तै। हुनुपर्ने जति प्रकाश फैलिन नसकेको मात्र हो। सुगन्ध भएर पनि सीमित हुनुपरेको मात्र हो। भएको यति नै हो।

लेखेकै संख्याले हुने भए उपन्यास नै भारी हुनुपर्ने हो बालकृष्ण गुरुको। संख्या पचास भनेको सामान्य हँुदै होइन। भइदियो भाषामा नै हाइहाई। चाहेर मात्र हुने कुरा होइन यो। लोकले मान्नुपर्ने रहेछ। लोकले मानेपछि अरूले जे गरे पनि केही नलाग्दो रहेछ। यस्तै हुन्छ कहिलेकहीँ। धेरै न्याय हँुदा अलिअलि अन्याय भएजस्तै। भएकोे त्यस्तै नै हो। नलेखको केही नभए पनि नाम अघिल्तिर भाषाविद् नै आउने। सिर्जनाको मात्र कुरा होइन यो। त्यत्रो भारी समालोचना पनि त हलुंगोजस्तै बनेको छ। नेपाली भाषाको काल विभाजन गर्ने, मदन पुरस्कार पाउने समालोचना।

भाषाले जताबाट पनि छोपिएका छन् बालकृष्ण गुरु। व्यक्तित्व नै छोपिएपछि अरू ओझेल पर्नु प्राकृतिक न्याय होला। गुरुकै पनि चित्त दुखाइ होला नै पक्कै। पढ्नेलाई त लाग्छ लेख्नेलाई किन नलागोस् र ? न्वारनदेखिको नाम चिनाउन गाहे हुन्छ धेरैलाई। बालकृष्ण गुरुको भने नामै नाम। उपनाम राख्नेहरू कति छन् कति ? उपनामबाटै धेरै कृति निकाल्ने पनि एक नम्बरमै पर्छन् उनी। सम्झेर नै नसकिने उपनामहरू, केकेमनुक्च्यो पोखरेल, वसन्त, रूपावासी, गढतिरे साइँलो, हिमालपाने बराल, इसावापुर, वत्सल, लक्ष्मीविलास पाध्या।

अरू त शासकका आँखामा छारो हाल्न लेख्थे उपनाम। रहरले लेख्ने होलान् सबैभन्दा धेरै। पारितोषिककै लागि लेख्नेहरू पनि नभएका होइनन्। पुरस्कारका लागि प्रतियोगितामा त कतिले लेखे लेखे। बालकृष्ण गुरुले भने हलुका पाठकले सस्तो उपन्यास पढोस् भनेर नराखेका रे नाम। अङ्ग्रेजी र हिन्दीका धुरन्धर नै हुन् उनी। रुसी, मगर, उर्दू, नेवारी भाषा जान्ने। मैथिली, राई, लाप्चा जान्ने। होइन सिकेका पनि कसरी होलान् जस्तो ? कसरी मात्र अटेका होलान् त्यत्रो ज्ञान त्यति सानो दिमागमा ? सानो बनेर सरस्वती नै बसेजस्तो। बोल्दा विस्तारै बोल्थे बालकृष्ण गुरु। भेटाउन भने जति छिटो बोल्नेले पनि नसक्ने। जानेको छु भन्नेहरूले कहिले जितेनन् गुरुलाई। नजानेको कुनै क्षेत्र र विषय नै छैनजस्तो। बोलेर कहिले नथाक्ने फेरि।

गुफाजस्तै रहस्यमय लाग्थ्यो मलाई बालकृष्ण गुरु। खोज्नसक्ने जतिले पाइरहने। अध्ययन अनुसन्धानमा कहिले थाकेनन् कहिल्यै। भाषासाहित्यको सर्वोच्च शिविर पुग्नसकेको त्यतिकै होइन। झर्रोवादी अभियानको परिकल्पना गर्ने पनि उनी। सुरु गर्ने र प्रयोग गर्ने पनि उनी नै। बेलायततिर बरालिँदामा ‘नियात्रा’को पहिलो टाँचा लगाउने उनै। नियात्राका शब्द जन्माउने कोख उनकैै। हुनसम्मको लोकप्रिय बनेको छ अहिले। शाखा अधिकृत बनाउने पनि उनै सेक्सन अफिसरको सट्टामा। क्लिष्ट लाग्थ्यो पहिला। अहिले नबुझ्ने कोही छैनन्। बृहत् नेपाली शब्दकोशको सम्पादन गर्ने पनि उनी। चिल्लो पात नै प्रमाणित गरेका थिए  तेह्र वर्षमा कविता लेखेर।

बालकृष्णले गुरुले गरेको कामको जति पूजा गरे पनि कमै हुन्छ। पुरस्कार सम्मानले मूल्यांकन पूरा गर्न सकेकोे छैन भन्छु। जेजे नामका भए पनि। धन्य सिलसिला परिवारले विशेष काम गर्‍यो। रथमा मज्जैले डुलाएर। बालप्रसादलाई जन्मायो मकवानपुरे चिसापानीले। साउनको तीस गते नब्बे सालमा। नबुझेरै अनुभव लिन पाए महाभुइँचालोको। रूपाटार पैतृक थलोलाई बनाए उपनाममध्ये एक। जिउने र बिसाउने काम भयो विराटनगरमै। 

उपनामहरू धेरै भएजस्तै धेरैले धेरै भन्छन् गुरुलाई। कसैले भाषाका भाग्य भने। कसैले शब्द निर्माता भने। कसैले महागुरु भने।  कसैले सरस्वती पुत्र भने। कसैले प्रेरणापुरुष भने। कसैले स्वल्पकार व्यास भने। कसैले समष्टिबाट ब्यष्टि भने। कसैले इतिहासकार, कसैले अनुसन्धानकर्ता। कसैले उपन्यासकार, कथाकार, निबन्धकार। कसैले प्रमुखअतिथिको शुल्क लिने भने। जसले जे भने पनि विद्वान् धेरैले भने। प्राज्ञ लेख्न कसैले छाडेनन्। सम्मानमा जसले जे विशेषण लाउँदा पनि नराम्रो हुँदैन।

होचाहिँ के भने बालकृष्ण पोखरेल भनेपछि भन्नै पर्दैन अरू केही। नामै काफी छ गुरुको। सुनलाई खोल हालिरहनु नपरेजस्तै।  जहाँ बालकृष्ण पोखरेल त्यहीँ आउँछन् अरू आफैं खुरुखुरु। भाषा, साहित्य, समालोचना, इतिहास, निबन्ध सबै सबै। यीमध्ये कुनै सन्दर्भमा पनि बालकृष्ण गुरु आएन भने त्यो अपुरो सिद्ध हुन्छ। जहाँ भाषासाहित्य त्यहीँ बालकृष्ण।

‘खस जातिको इतिहास’ नसम्झनु बालकृष्ण गुरुलाई बिर्सनुजस्तै हो। गुरुलाई बुझ्न पनि सकिँदैन समग्रमा। बयालीस वर्षको तपस्याकै परिणाम हो त्यो। तेह्र सालदेखि खोज्दै लेख्दै बल्ल पचपन्नमा प्रकाशमा आएको ग्रन्थ। विषयमा चाहेजस्तै पाउनसक्ने। ‘खस जातिको इतिहास’ पुस्तक हो तर पुस्तक मात्रै होइन। खस आर्यहरूको मूल उत्पत्तिको नालीबेली पनि हो। विषयमा कीर्तिमानी पुस्तक मात्र होइन, भविष्यवाणी पनि हो। बाह्र दर्जन पुस्तकमा सर्वोकृष्ट यही नै सिद्ध भएको छ गुरुको। ४२ वर्षका १५ हजारभन्दा बढी दिन लगाएर तयार भएको। बालकृष्ण पोखरेलजस्ता सर्वमान्य विद्वान्को दिमाग लागेको पुस्तक हो। समय र बुद्धि मात्र होइन। यही पुस्तकका लागि ५० वटा उपन्यास लेखेको खर्च पनि यसैमा परेको छ। 
झन्डै तीस वर्ष गुरु बनेका थिए त्रिभुवन विश्वविद्यालयमा। सोधिरन्थे म अनेक विषय र सन्दर्भका जिज्ञासा। गुरु बिस्तारै भनिरहन्थे। त्यसैले सुखद् लाग्थ्यो गुरुको उपस्थिति सधैं। इमान्दार पनि उदाहरणकै थिए गुरु। अरूका पुस्तक उतारेर आफ्नो नाममा छाप्ने लेखकहरू छन्। अनुवाद गरेर आफ्नो नाममा छाप्नेहरू छन्। आरोप लाग्ने साहित्यकारको लाइन छोटो छैन। नभएको पगरी बाँधेर ठूलो भएको भ्रम पाल्नेहरू छन्। सर्कसको वैशाखी टेकेर अग्लो भएको देखाउनेहरू पनि छन्। 

गुरु भने अरूले दिएको सम्मान पनि थपक्क नस्वीकाने। समाजले स्वीकार गरिसकेको प्रतिष्ठा पनि खोजीखोजी अर्कोलाई सुम्पने। गुरुलाई नै पहिलो भाषाशास्त्री भनेर निकै हल्ला चल्यो। सबैले स्वीकार र समर्थन पनि गरे। गुनासो गर्ने कोही थिएनन्। कसैले टिप्पणी पनि गरेका थिएनन्। तर, पनि चित्त बुझाएनन् गुरुले। खोजी गर्न थाले रातोदिन। आफूभन्दा अगाडि कोही भए नभएको पत्ता लगाउन। आखिर तथ्यसहित प्रमाणित गरेरै छाडे। आफूभन्दा बीस वर्षअघि नै भाषाशास्त्रमा स्नातकोत्तर गर्ने इन्दिवर पन्त भनेर। 

भाषासँगको अन्तरङ सम्बन्ध र भाषासँगको प्रेमले भाषाकै पर्याय बनायो गुरुलाई। तर  होइन रहेछ रहरले पढेका। चाहेर पनि होइन रहेछ नि। गुरुले साठी सालको अन्तर्वार्तामा लेखेका अक्षर ताजै लाग्छ अहिले पनि। नेपाली भाषालाई भाषा नै मानिन्थेन पाँच सालतिर। हिन्दीको बोली मात्र मानिन्थ्यो। त्यही बेला परीक्षामा पक्षपात भयो भनेर विद्यालयमा तोडफोेड गरे विद्यार्थीहरूले। काम नलाग्ने भनेर नेपालीका किताबहरू फ्याँकिदिए। फ्याँकिएका किताबहरू बटुलेर घरमा लगेछन् गुरुले। ल्याएका तीन सय जति किताब नेपाली भाषा, सााहित्य र व्याकरणका रहेछन्।  किताबले गुरुलाई तान्नसम्म तानेछ। त्यही पढेपछि नै रहेछ गुरुमा भाषासाहित्यको टुसा उम्रिन थालेको।

कहिलेकाहीँ नराम्रो गर्दा पनि राम्रो कामको सुरुवात हुन्छ भनेको यस्तै होला। दुर्घटनाले नयाँ कुराको शिलान्यास हुनसक्ने भनेको यस्तै होला। नेपाली किताब नफ्याँकिएका भए के बालकृष्ण गुरुको यति अग्लो हुनसक्थे भाषासाहित्यमा ? लेखेर नसकिने जीवन, भनेर नसकिने विद्वता छ गुरुमा। पूर्णता भने फेरि नाममा नै छ। मात्र बालकृष्ण पोखरेल।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.