नैनकला
अनामनगरको बस स्टेसनसँगै भित्र छिर्ने सानो पक्की रोडको देब्रेपट्ठि उभिएको पुरानो तीनतले घर प्रेमलाल ज्यापूको हो। घरलाई छुँदै गएको यो भित्री बाटो सिधै गए घट्टेकुलो ठोकिन्छ। चोक पुगेपछि दुईतिर हानिएको बाटो एउटा मैतीदेवी चोक र अर्कोतिर गए डिल्लीबजार पीपलबोट पुग्छ। सयौं वर्षअघि यो पीपलको बिरुवा प्रचण्ड शमशेरको बैठके कृष्णबहादुर घलेले रोपेपछि यो क्षेत्रलाई पीपलबोट भनेर चिनिन्छ। ज्यापूको तीनतले घरको भुइँ कोठामध्ये एउटा कोठा नैनकला लिम्बुको हो।
एउटा कुनामा चुलो, अर्को कुनामा दराज र पलङ अनि भित्तामा जिन्सको पुरानो पेन्ट र खैरो रङको पछाडि भिर्ने झोला झुन्डिएका छन्। किन हो कोठा शून्य–शून्य छ। नैनकलाले साग ओइरिँदै गर्दा लोग्ने टुप्लुक्क दैलोमा देखा पर्यो। लोग्नेसँगै रक्सीको गन्ध कोठामा पस्यो। उसले खुइलिसकेको नोकिया सेटमा समय हेरी, आठ बजे छ। दिनमा कतिपल्ट फोन गरी लोग्नेले उठाएन। छोरी च्यातिएको गुडियासँग खेलिरहेको थिई। छोरी जन्मिएपछि त हो लोग्ने पर पर हुँदै गएको। चक्कुले अदुवा तास्दै सोची, ‘लोग्नेमान्छेको माया अखिरमा मासुको डल्लासँग हुँदोरहेछ।’
‘आज पनि भ्याएर आएको ? शनिबारको दिन पनि के–के नै बितेजस्तो ? बाहिर नगई नहुने छोरीले बान्ता गरी। फोन गर्दा नि उठाउनु छैन।’ ‘साथीहरूले खाउँ भने र खाइदिएको।’ अनन्त बिस्तारै बोल्यो पल्लो कोठाकाले थाहा पाउलान् झैं गरेर। नैनकलाले केही नबोली पुलुक्क हेरी तर दिमाग भने रनक्क रन्किएको थियो। लोग्ने खाटमा गएर थचक्क बस्यो। छोरी झस्किएर रुँदै बाउको मुख हेरिरही।
नैनकलालाई चसक्क भयो, ‘लोग्ने भन्ने जात घरको संघार नाघेपछि कसको हो कसको ठेगान हुन्न।’ धेरै वर्षअघि आमाले भनेको वाक्य सम्झी। वरपर कोठाका छिमेकी सुतिसकेका थिए। मध्यरात बितिसक्यो आँखामा निद्रा छैन। छोरी जन्मेपछि लोग्ने पूरै बदलियो। किन ? कसरी ? उसलाई थाहा छैन। नैनकला ढुंगा भएकी छे भोगाइले।
समयले धेरै सिकाएको छ उसलाई। छिमेकीहरूले सोध्छन्, ‘दिदी, भेना कहिल्यै देखिन्नन् त ?’ अरूले यसोभन्दा हाँसेर टारीदिन्छे ऊ। दिउँसो प्रेमलालले पनि नमिठो गरी भनेर गयो। घरधनी भएर पनि प्रेमलाल कति लोभी र सन्की छ भने एक गते भाडा नदिए उसको रूप नै अर्को हुन्छ। ‘शनिबार पनि ज्वाइँ देखिन्न नि किन हो ?’, पल्लो कोठाको ताप्लेजुङे दिदीले यसोभन्दा नैनकलालाई मनमा च्वास्स बिझ्यो। पहिलोपल्ट लोग्नेको विषयमा घोत्लिएर सोची मनमनै गुनी, ‘हो त लोग्ने कहिले घर बस्दैन। कारण के होला ?’
कम्तिमा दस वर्षयता पहिलोपल्ट पीडामुत्ताm थिई। त्यसो त भित्रभित्रै आन्दोलित थिई। भित्र भने अथाह पीडा थियो। तर कति सजिलै भुलिदिन्छे ऊ ती तमाम दुःखहरूलाई। उसको अनुहारको चमक देखेर अड्कल काट्न सकिन्थ्यो।
२०६२/६३ को जनआन्दोलनसँगै देशमा आन्तरिक द्वन्द्व चर्किएको थियो। मुक्तिको सपना देख्ने ती दिन नैनकलाका निम्ति साँच्चिकै सुन्दर थिए। हो त हामी साँच्चिकै खुसी थियौं। लगातार नैनकलाको मनमा कुरा चलिरह्यो। ‘साँच्चै माया र करुणा फरक रहेछ’, लोग्नेको माया होइन अशक्ति हो भन्ने बुझ्न उसले छोरीको आमा हुनुपर्यो। सँगै उसले यो पनि बुझी कसरी आफ्ना सन्तानको निम्ति आफ्ना सारा दुःख आमाले भुलीदिन्छे। नैनकलाले सुतिरहेको छोरीलाई हेरी र डाइपर चेक गरी। काखमा लिई।
रात सुनसान छ तर उसको मन भतभती पोलिरहेको छ। ‘जीवन त घुम्तीपिच्छे आउने अलग–अलग घुमाउरो कुइनेटोजस्तो रहेछ, कहिले के नमिल्ने कहिले के नहुने।’ यति सोचेर लामो सास तानी। यसको केही सातापछि आजै हो उसले पहिलोपटक एैना हेरेको। ठम्याई आँखाको किनारमा चाउरी पर्न सुरु भएछ। धेरै टाढाबाट धुलाम्मे बाटो हिँडेर आएपछिको अवस्थाजस्तो केश धुलै–धुलो भएको रहेछ।
हो, उसले बिहे गरेको यतिका वर्षमा पहिलोपटक आफैंलाई बेस्सरी नियाली। लोग्नेका शब्दहरू सम्झी र पछिल्लो समयमा आफूले भोग्दै आएको जीवन र आफ्नो बारेमा सोची। रहरहरू सम्झी। जीवन उडेको चराजस्तै स्वतन्त्र र उन्मुक्त थियो तर अब त्यो रहेन। कति समस्याहरू थुप्रिसके उसको जीवनमा।
अगाडि उभिएको जिम्मेवारी देख्दा घरिघरी त सास रोकिएला जसरी उकुसमुकुस भएर आउछ। यस्तो बेला नैनकला छोरीको निर्दोष मुहार हेर्छे, मन शीतल हुन्छ। चिसो बढेको छ। नैनकलाले चिसो भएको खुट्ठा सिरकमा घुसार्दै सम्झी, ‘मभित्र दबेर बसेको आक्रोश कहिल्यै शान्त होला ?’ तर देख्दा पटक्कै लाग्दैन उभित्र यति धेरै दु:ख छन्।
करिब दुई महिनापछि–
खै, किन हो आजको बिहान नैनकलालाई रमाइलो लागिरहेछ। धेरै वर्षअघि बुबाले पल्टनबाट ल्याइदिएको टाटनको जामा लगाएर साथीसँग खेल्दा उसलाई यस्तै महसुुस भएको थियो। दूध चुस्दै गरेकी छोरीको कपाल हातले सुम्सुम्याउँदै युद्वका ती कठिन दिनहरू सम्झी।
कसरी मध्यरातमा जंगलहरू छिचोलेर लामो यात्रा गर्थी। त्यो दिन खलंगाको इलाका प्रहरी कार्यालय आक्रमण गर्दा छातीमा गोली लागेपछि छटपटी रहेको साथी बोकेर जंगलतिर भागेको झल्यास्स सम्झी। लामो दूरीको यात्रा लोग्नेसँगै अनकन्टार जंगल हुँदै पार गरेको ती दिनहरू सम्झी। खै के सोचेर आँखाबाट झरेको आँसुको थोपा छोरीको आँखैमा गएर खस्यो।
लोग्नेको गोलस्टार जुत्ता गन्हाएर गन्ध भित्रैसम्म आएपछि बसी सक्नु भएन। युद्वकै मैदानमा भेट भयो। मन परापरपछि बिहे भयो। माइतीहरू हुने खाने नै छन्। अन्तरजातीय बिहे गरेका कारण सहयोग गर्दैनन्। ‘मनमा लोभ रहेसम्म समाजमा समानता नआउने रहेछ’, गन्हाएको जुत्तातिर हेर्दै सम्झी ।
किन पार्टी छोड्यो ? यो कुरा पार्टीभित्र निकै चर्चा चल्यो। माथिल्लो तहसम्म कुरा पुग्यो तर त्यसै सेलाएर गयो। ‘माओवादी जनयुद्वको समयमा बन्दुक बोकेर हिँडेका ती दिन जीवनको सबभन्दा ठूलो गल्ती थियो’, यो कुरा भीमबहादुरले रक्सी खाएको बेला भने दिल खोलेरै छाती पिट्दै भन्थ्यो।
सधैंजसो उसलाई अनामनगरको धराने सेकुवा कर्नरसँगैको रमेशको चिया पसलमा भेटिन्छ तर उदास उदास। यो चिया पसल माओवादी जनयुद्वताका अखडा नै हो छापामारहरूको। घन्टौं राजनीतिको छलफल हुनु। आन्दोलन कसरी अगाडि बढाउने ? योजना त्यही बन्थ्यो। पुलिसको नजरमा सधैं शंकाको घेरामा थियो रमेशको चियापसल। नैनकला र भीमबहादुरको पहिलो भेट यही भयो।
पुतलीसडक, सिंहदरबार र बानेश्वरको जुलुसहरूमा हिँड्दा हिँड्दै कतिखेर जंगल भासिए। कतिखेर प्रेम भयो, दुवैलाई पत्तो भएन। समय यति छिटो दगुर्यो कि २०६३ सालमा माओवादी सरकारमा आएपछि के भयो र पार्टी छोडे ? उनीहरूलाई नै थाहा होला।
जनयुद्धको कठिन दिनहरूमा उनीहरू दुवै युद्धको मैदानमा थिए। बितेर गएको समयलाई पछाडि फर्किएर सोची। सुनसान रात थियो तर दिमागमा बम र बन्दुकको आवाज पनि थपिइरहेको थियो अनि घाइते साथीहरूको चित्कार पनि। तर, जीवनले आज उसलाई बिलकुलै नौलो परिस्थितिमा ल्याएर छोडेको छ।
हो, नैनकलाले कल्पना पनि गरेकी थिइन, जीवनमा उसले यस्तो निर्णय लिनुपर्छ भन्ने। यतिका वर्षदेखि आफैंभित्र गुम्सिएर बसेको प्रश्नहरू लोग्नेसँगको गुनासाहरू सबै–सबै अर्थहीन देखी। केही महिनादेखि उसको मनमा बारबार यो विचार आइरहेछ, ‘एकबारको जुनीमा भीमबहादुर तिमी स्वतन्त्र छांै। मेरो तर्फबाट कुनै अवरोध छैन।’
दिन उस्तै थियो। घाम त्यसरी नै उदाएको थियो। खासगरी बिजुलीको तारमा सधैं बसेर कराउने कागका बथान आज पनि उसैगरी कराइरहेका थिए। उ शान्त थिई हो। आज उसको मन शान्त थियो। यस्तो उसलाई पहिले कहिल्यै महसुस भएको थिएन।
कम्तिमा दस वर्षयता पहिलोपल्ट पीडामुक्त थिई। त्यसो त भित्रभित्रै आन्दोलित थिई। भित्र भने अथाह पीडा थियो। तर कति सजिलै भुलिदिन्छे ऊ ती तमाम दुःखहरूलाई। उसको अनुहारको चमक देखेर अड्कल काट्न सकिन्थ्यो।
नैनकलाले सम्झी, ‘जीवन एकबारको हो। हिजो युद्धको भूमिमा मरेको भए त्यैबेला सबै सकिन्थ्यो। सबै गुनासा सकिएर जाने थिए।’ हो, जीवन उसलाई पुगिसकेको थियो। मनमनै प्रतिज्ञा गरी, ‘सानोतिनो व्यापार गरेर खाउँला तर अरूलाई दुःख दिएर बाँच्नु ठीक होइन।’
अनुहारमा कुनै आक्रोश थिएन न त हतास नै। भोलिपल्ट बिहान उठ्दा घाम सफासँग उदाएको थियो। आफूलाई राम्ररी सिँगारी तर सिन्दुर लगाइन। लगाएको एकसर्को रातो पोते थियो। त्यसलाई बिस्तारै निकालेर सिरानीमुनि घुसारी।
शरीरबाट भारी बिसाएझैं भयो। सुतिरहेकी छोरीको अनुहारको अनुहार हेरी र बिस्तारै दुई हातले उचाली। छोरीको केही पुरानो लुगा र पानीको बोतल भएको झोलालाई पछाडि भिरी जो युद्धको समयमा भिर्थी।
लोग्ने भित्तातिर फर्केर सुतिरहेको थियो। नैनकला केही नबोली कोठाबाट निस्की। फराकिला बाटाहरूले उसलाई स्वागत गरिरहेका थिए।