अटिजम र म आमा
अटिजम बालबालिकालाई कतिपय ठाउँमा मानसिक सन्तुलन गुमाएको भनेर बुझिदिन्छन्। कति ठाउँहरूमा डोरीले बाँधेर राखेको पाइन्छ। यस्ता बालबालिका न मानसिक रूपमा अपांगता भएका मानिस हुन् न त यिनीहरू सुस्त मनस्थितिका नै। केवल मस्तिष्कको फरक अवस्था भएका बालबालिकाहरू हुन्।
बीस वर्षकी हुँदा २०६७ असार ९ गते करिब दुई दिनको प्रसव व्यथापछि नेपालगञ्ज नर्सिङ होममा छोरालाई जन्म दिएँ। होसमै रहँदा पनि छोरा जन्मनेबित्तिकै रोएको सम्झना छैन। बरू नर्सहरूले कानेखुसी गर्दै मुखामुख गरेको चाँही याद छ। छोराको मुख हेर्न मन लाग्यो र हेरें, ठीकै देखें। उहाँहरूले एकापसमा मुखामुख गरिसकेपछि भने– ‘बच्चा तौल कम छ, राम्ररी खुवाउनु होला। सानो भए पनि दह्रो छ।’ छोरा दुई केजी पुगेको थिएन। बच्चाको जन्मपश्चात् वार्डमा सार्ने तयारी भयो।
त्यसबेला ह्वीलचियरबाट बेडमा जाँदा बेहोस भएँ। होस आउँदा आमाले मलाई घरबाट ल्याएको दुध खुवाउँदै हुनुहुन्थ्यो। आमा, श्रीमान् र दिदीले छोरालाई ल्याक्टोजिन खुवाइदिनु हुन्थ्यो। जन्मेको राति करिब १२ बजेतिर छोरा धेरै चिच्चाइ–चिच्याइ रुन थाल्यो। धेरै बेर रुन थालेको भएर नर्सलाई बोलायौं र छोरालाई आईसीयूमा राख्न लगायौं। उनीहरूले बच्चालाई खासै केही भएको छैन भने तर विभिन्न टेस्टहरू– ब्लड टेस्ट, यूरिन कल्चर गर्न लगाए। पाँच दिन सुई लगाए र डिस्चार्ज भयो। त्यसपछि सामान्य हुँदै गए दिनहरू। छोरा पास्नीपछि पनि राम्रोसँग खान जान्दैनथ्यो। करिब दुई वर्षसम्म पनि उसले ठोस खाने कुरा राम्ररी चपाई चपाई खान जानेन। मिचेर, थिचेर खुवाएँ।
बाबु एकदमै चकचके थियो। बामे सर्दा देखिनै एकछिन नबस्ने, काखमा बोक्दा पनि उसलाई हल्लाइरहनुपर्ने, एकदम चकचके थियो। बाबुले १३, १४ महिनामा बाबा, पापा, आमा, हट्, पापी, पा, म्या, च्याजस्ता केही शब्द बोलेको थियो। एकदमै चकचके थियो तर ऊ गोरो, स्वस्थ र राम्रो पनि थियो। करिब दुई वर्षसम्म खासै बिरामी परेन। उसलाई गर्मीले घाउहरू आउँथ्यो। सबैले उसलाई गोरो, चकचके देखेर कति राम्रो, बाठो भने। समयसँगै छोराको उमेर पनि बढ्दै गयो। तर उसले बोल्नुपर्ने समयमा पनि बोलेन। बाबाआमा देखाऊ भन्दा पनि देखाएन। बाबु खेल्न लाग्दा बाबु बाहिर जाऊ भनेर कैयौंपटक भन्दा पनि हेर्दैन थियो। कहिले फोन बजाएर सिरक मुनि राख्दा पनि उसले खोजेर भेट्टाउँथ्यो।
बाबुले बोलेका शब्दहरू पनि भन भनेको बेला भन्दैनथ्यो तर कहिलेकाँही आफ्नै सुरले भन्थ्यो। एक दिनको कुरा हो, श्रीमान्को साथी आउनुभयो। बाबुलाई बोलाउनुभयो तर उसले कतिखेर हेर्ने कति खेर नहेर्ने गर्यो। त्यसपछि उहाँले बाबुले कान सुन्दैन भन्नुभयो। उहाँले आफ्नो छोराले पनि त्यस्तै गरेको र कहिलेकाँही प्लेन उडेको पनि देखाएको भन्नुभयो। आफ्नो छोरालाई भारतको दिल्लीमा कानको उपचार गरी अप्रेसन गरेर कान सुन्न कानमा मेसिन जडान गरेको बताउनुभयो। ढिलो नगरी कान परीक्षण गर्न सुझाव दिनुभयो। उहाँको सल्लाह मनन गर्दै काठमाडौं पुगेर टिचिङ हस्पिटलमा कान टेस्ट गरायौं। कान टेस्ट गर्दा सँगै बस्यौं, उसलाई विभिन्न ध्वनी सुन्न लगाइयो। उसले सुन्छ भन्ने भएपछि उहाँहरूले डा. मेरिनालाई रिफर गर्नुभयो। मेरिनाले बाबुलाई अटिजमको शंका गरी गैरीधारामा रहेको अटिजम केयर सेन्टरमा रिफर गर्नुभयो। त्यो कुरा करिब २०६९ सालको हो। त्यसबेलासम्म हामीलाई अटिजम के हो ? थाहा थिएन।
गैरीधारामा बाबुको व्यवहार परीक्षण गर्नुभयो। विभिन्न सामान र खेलौना भएको शान्त कोठाहरूमा लगेर एक्लै छोडिदिनुभयो। बाबुले ती खेलौना कसरी प्रयोग गरी खेलाउँछ, हेर्नुभयो। बाबुलाई केही कुराभन्दा उसले आई कन्ट्याक्ट गर्दैनथ्यो, खाने सामान देख्दा खाने अभ्यास गर्दैन थियो। बल खेलेन, गाडी खेलेन, बरु गाडीलाई उल्टो बनाएर त्यसका चक्काहरू घुमायो। धेरै सामान भएता पनि एकदुई वटा सामान मात्र खेल्यो। त्यसपछि हामीलाई घरिघरि नाम भनेर बोलाउन लगाउनुभयो। हामीले बाबु खेलेको बेला बोलायौं तर आफ्नो धुनमा रहेको बेला हेर्दैन थियो। सबै सामान, खेलौना विभिन्न विधिबाट परीक्षण गरिसकेपछि एउटा प्रतिवेदन दिनुभयो। जसमा बाबुमा अटिजमका लक्षणहरू रहेको देखियो। जतिखेर बाबु १८ महिनाको मात्र थियो र उहाँहरूले हामीलाई मदर्स ट्रेनिङका लागि आह्वान गर्नुभयो, त्यसका लागि तीन महिनापछि समय दिन सकिने बताउनुभयो। त्यसपछि घर फर्कियौं।
अटिजम भनेको थाहै नभएका हामी त्यति हँुदा पनि भित्री आत्माले छोरालाई त्यस्तो त भएकै छैन भनी विश्वास गर्न सकिरहेका थिएनौं। अलि ढिलो बोल्छ, बुझ्छ होला भन्ने भएता पनि मनभरी पीडा बोकेर, गहभरी आँसु झार्दै नेपालगन्ज फर्कियौं। दिन बित्दै गए। बाबु करिब साढे दुई वर्षको भयो। त्यतिखेरसम्म उसका बुझाइ बढ्दै जानुपर्नेमा बोलेका शब्द पनि बिर्सन थाल्यो। प्रयोगका शब्दहरू पनि भन्न छाड्यो तर चकचक उस्तै थियो। फेरि एक दिन नेपालगन्जकै एकजनाले बाबुलाई जँचाउन भारतको लखनउ लैजाने सुझाव दिए। उनको छोरा पनि हाम्रो बाबुजस्तै भएको र लखनउमा उपचार गरी ठिक भएको भनी उपचार गरेको अस्पतालको नाम, ठेगाना र डाक्टरको नाम सिफारिस गरे। त्यसपछि हामी लखनउ प्रस्थान गर्यौं।
सर्वप्रथम डाक्टरले बाबुको एमआरआई गर्न लगाए।
भोलिपल्ट रिपोर्ट लिएर भेट्यौं। उनले रिपोर्ट हेर्नासाथ भने, अच्छा हे, बहुत ठिक हे। बच्चाको विगत सबै सुनायौं। बच्चाके डेभलपमेन्ट डिले हे भने। बच्चा एकदम चकचके र ध्यान नै नदिने भएकाले सिकाई राम्रो नभएको डाक्टरको भनाइ रह्यो। उनले उदारहण दिए जुन स्मरणीय छ– ‘जस्तै हामी कुनै गाडीमा कानपुर जाँदैछौं, त्यहाँ जाँदा के हामी एउटै गतिमा जान सक्छौं ?’ उनले भने। जसरी कहिले स्लो, कहिले स्पीड गर्छौं त्यस्तै यो बच्चाको दिमाग एउटै गतिमा छिटो चलिरहेको छ। यसलाई धिमा गर्नुपर्छ र बच्चाले ध्यान दियो भने सिक्छ भने। यो उपचार ६ वर्षभित्र भयो भने मात्र हुन्छ, ६ वर्ष पढ्छ हँुदैन भने। यो दबाईको खासै साइड इफेक्ट छैन भन्दै महमा हालेर खाने औषधि पनि दिए।
हामी पनि कन्भिन्स भयौं। त्यो औषधि किनेर घरतर्फ फर्कियौं। हामीलाई १५ दिनपछि फेरि लखनउ बोलाइएको थियो। यसैगरी १५ दिनबाट २० दिन, २० दिनबाट १ महिना, १ महिनाबाट ३ महिना, ३ महिनाबाट ६६ महिनामा हामीले डाक्टरको फलोअप गरिरह्यौं। क्रमशः औषधिको डोज पनि बढ्दै गयो। महलाई हटाएर सोझै खुवाउन भनियो। त्यो औषधि दुई वर्षसम्म खुवाउँदा ठिकै गरेको छ कि जस्तो लाग्यो बाबु त्यो औषधि खाएपछि दिनमा २३ घण्टा निदाउन थाल्यो। राति पनि निदाउँथ्यो। औषधि खुवाउनअघि सुरुमा सुताउन ज्यादै गाह्रो हुन्थ्यो। अत्याधिक चकचकले छोरालाई लिएर कुनै पसलमा सामान किन्न, गाडीमा बसेको बेला भाडा तिर्नसमेत सक्दैनथे। लखनउका औषधिहरू खाएपछि बाबु राम्ररी निदाउने, चकचक पनि कम भएको हो कि भन्ने महसुस भयो तर देखिने परिवर्तनहरू कुनै थिएनन्। त्यसैले ती औषधिहरू खुवाउँदै गयौं।
नातागोताले पनि मलाई कस्तो सामाजिक हुन नजानेको जस्तो ठान्दा त झनै मनमा हुटहुटीको हुरी मडारिन्थ्यो। दुनियाँलाई आफ्नै साना समस्या पनि सागर हुँदोरहेछ, अरूमा ठूला समस्या पनि पानीका थोपा !
बाबु जन्मिएपछि पढाइलाई निरन्तरता राम्ररी दिन सकेकी थिइनँ। बाबुको स्याहारसुसार गरी बचेको समय या बाबु सुतेको बेलामा लोकसेवाको तयारी गरें। बाबुलाई करिब तीन वर्षको उमेरमा नेपालगञ्जकै एउटा मन्टेश्वरीमा बाबुका सबै कुरा गरेर भर्ना गरिदिए। बाबु स्कुल गएको बेला एकदम चिन्ता लाग्थ्यो किनकि बाबुलाई खुवाउन ज्यादै गाह्रो थियो। उसले सबै खानेकुरा खाँदैन थियो। लिटो, केरा मिचेको, दाल भात मिचेको गाह्रो गरी खुवाउनु पथ्र्यो। मिचेर जबरजस्ती मुखमा राखिदिएपछि थुक्न जान्दैनथ्यो र निल्थ्यो। बाबुलाई स्कुलमा खुवाउनै नसकिने, एकदम चकचक गर्ने, जहाँ पायो त्यही चढ्ने, आँखा नहेरी भन्केर हिँड्ने, झ्यालहरू चढ्ने र अरूलाई डिस्टर्ब हुने भनेर त्यहाँका शिक्षिकाले गुनासो गर्न थाले। एक दिन झ्यालमा ठोक्किएर टाउकोमा काटेछ, धेरै रगत बगेछ, उहाँहरूले अस्पताल लगेर टाँका लगाई ल्याएपछि खबर गरे। बाबुलाई स्कुलमा राख्न नसकिने बताए। हामी निराश भयौं। त्यसपछि बाबुलाई अटिजम नै होला, राम्रो स्कुलमा राखेमा बाबुमा सुधार आउँछ कि भन्ने सोचले काठमाडौं जाने निधो गर्यौं।
२०७० सालमा काठमाडौं आयौ। श्रीमान्ले काठमाडौं बस्ने व्यवस्था मिलाइदिएर काममा फर्किनुभयो। वनस्थली बस्थ्यौं। अटिजम स्कुल खोज्दै जाँदा विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र (एसएसडिआरसि) खहरेमा बुझ्न गयौं। त्यहाँ अटिजम मात्र राखिँदोरहेछ। उहाँहरूको सबै कुरा सुनिसकेपछि छोरालाई त्यहीँ भर्ना गर्ने निर्णय गर्यौं। बाबुलाई त्यही स्कुलमा पठाउन थालें। उसलाई ट्वाइलेटको समस्या थियो। तैपनि उनीहरूले केयर गर्ने, थेरापी गर्ने गर्न थाले। अभिभावकको पनि विभिन्न मिटिङ गर्ने, समस्या बुझाउने गरे। अभिभावकहरू पनि भेला भएर छोराछोरीहरूका लक्षणहरूका बारेमा छलफल गर्दथ्यौं। कस्तो लक्षण देखिँदा के गर्ने ? एकापसमा सेयर पनि गर्दथ्यौं। दिनहरू बितिरहँदा बाबु एक्कासि छिनछिनमा मुखमा थुक निकाल्दै बेहोस हुन थाल्यो। बाबुलाई ज्वरो पनि ज्यादै आयो। ज्वरो निन्यत्रण हुन सकेन। श्रीमान् जागिरको सिलसिलामा उपत्यकाबाहिर भएकाले हरेकको सामना एक्लै गर्नुपर्यो। बाबुलाई केएमसीको इमर्जेन्सी पुर्याएँ। डाक्टरहरूले बाबुको उपचार गरे। सुई लगाए, स्लाइन चढाए। बाबु बेडमा बेहोस नहँुदा त्यतिकै उठ्न थाल्थ्यो। स्लाइन तानेर हटाउन खोज्थ्यो। समाइरहनु पथ्र्यो। बल्लतल्ल ज्वरो नियन्त्रणमा आएपछि बेहोस हुन कम भयो। बाबुले त्यतिखेरसम्म लखनउको औषधि खाइरहेको थियो।
लगत्तै लखनउ गयौं। अवस्थाबारे डाक्टरलाई सबै बतायौं। डाक्टरले अर्को औषधि लेखिदिए। चित्त बुझेन किनकि पटकपटक नयाँ औषधि खुवाउने पक्षमा थिएनौं। त्यसैले सिफारिस गरिएका औषधिहरू नकिनी काठमाडौं फर्कियौं। त्यसपछि काठमाडौंको ग्रयान्डी अस्पताल गयौं। पेडाक्टिसियन प्लस न्यूरोलोजिष्ट डाक्टरसँग भेट भयो। नेपालमा यी दुवै पढेको चिकित्सक पाउन ज्यादै कठिन रहेछ। पुराना सबै रिपोर्ट देखायौं। उहाँले बाबुको ईईजी गर्न लगाउनुभयो। रिपोर्ट हेरेपछि बाबुलाई छारे रोग भएको बताउनुभयो। लखनउका औषधि कम गर्दै हटाइदिनुभयो। निरन्तर उहाँको फलोअपमा रह्यौं। पछि बाबुलाई सिजरिङ कम हुँदै गयो।
तीन वर्षसम्म फलोअपमा थियौं तर पछि डाक्टर क्यानडा जानुभएछ। आफ्ना सबै बिरामीलाई अर्को न्यूरोलोजिष्ट डाक्टरलाई सिफारिस गरिदिनु भन्नु भएको रहेछ। नयाँ डाक्टरले त बाबुका क्रियाकलाप नियन्त्रणका लागि राम्रो हुन्छ भन्दै नयाँ औषधि सिफारिस गर्नुभयो। हामी राजी भएनौं। उहाँले राम्रो मान्नुभएन र हामी पनि ग्राण्डीबाट अलगियौं। बाबु पटक–पटक बिरामी भएकाले बाबुको सिकाइ पनि प्रभावकारी भएन। एसएसडीआरसीकी अध्यक्ष सविता उप्रेतीले पनि देश विदेशका डाक्टरका, अटिजम विशेषज्ञहरूका सल्लाह, सुझावहरू सेयर गर्नुहुथ्यो। सकभर क्रियाकलाप नियन्त्रणकै लागि औषधि नखुवाउन भन्नुहुथ्यो।
छोरालाई बाहिरै जानुपर्ने, एक ठाउँमा बस्न नसक्ने, केले आफूलाई गाह्रो भएको हो थाहा नपाउने, ढोकातर्फ धकलेर रुँदै भए पनि बाहिरै जाम भन्ने, दिनरात केही नबुझ्ने, बाहिर बत्ती बालेको देखेमा राति नै बाहिर लैजा भन्दै रुने गर्दथ्यो। बाबुले झगडा गरेर, ट्वाइलेट गरेर, सामान पोखेर हैरान बनाउँदा कहिलेकाँही त खाना खान लाग्दा ४५ पटकसम्म हात धुनु पथ्र्यो। बाबुसँग म एक्लै हुन्थें। बाबुको यस्तो हालत र क्रियाकलापले ज्यादै रुन्थें। यतिसम्म कि त्यत्तिकै हिँड्दा हिँड्दै समेत बर्बर आँसु झर्थे। यति रोएँ, यति रोएँ, त्यसको कुनै सीमा छैन। एक्लै एक्लै रोएँ। सानै उमेरमा छोरा जन्माएकी म समयको त्यो अत्यासलाग्दो भँुमरीमा निस्कनै नसक्ने गरी हराउन विवश भएँ, भइरहें।
बीचमा बाबुलाई हर्नियाको समस्या देखियो। यस्तो एकछिन पनि एक ठाउँमा शान्तले बस्न नसक्ने, बुझाइ नभएको छोरालाई अप्रेसनका लागि सर्जन डाक्टरले ज्यादै साथ र हिम्मत दिनुभयो। अप्रेसनपछि बाबु होसमा आउने बित्तिकै उठ्न खोज्यो। जबरजस्ती ती स्लाइन हटाउन खोज्यो। आफूलाई अन्तै लैजा भनिरहेको थियो। त्यसबेला पनि हातबाट रगतहरू बगे। पछि डाक्टरहरूले मिलाउनु भयो। बाबासँग बाबु त्यति नमान्ने भएकाले २३ दिनसम्म बाबुलाई प्रायः एक्लै समाएर बसिरहें। त्यसरी बस्दा मेरो शरीर एकदम दुख्ने भयो। अप्रेसन गरेर डिस्चार्ज भएपछि पनि उसलाई समाल्न एकदम गाह्रो भएको थियो। एक हप्तामै ऊ उफ्रन खोज्दथ्यो।
दिनहरू बित्दै गए। एसएसडीआरसीमा बाबु आवद्ध नै थियो। सन्चो भएको बेलामा स्कुल जान्थ्यो। म पनि स्कुलका हरेक क्रियाकलापमा प्रायः सहभागी हुन्थें। २०७२ सालको भुइँचालोको बेलामा गर्भवती थिएँ। त्यो बेला पनि बाबुलाई समाल्न ज्यादै गाह्रो भयो। भित्र जानु हुँदैनभन्दा झन् बल गरी गरी भित्र जान खोज्थ्यो। एक्लै बाबुसँग कति दुःखले बोक्दै, समाल्दै राखें। खुला आकाश र मानिसहरूको भीडमा बाबुलाई समाल्न ज्यादै गाह्रो भयो। दिन त जसरी तसरी भए पनि बित्दा नै रहेछन्। २०७२ असोजमा छोरीलाई जन्म दिएँ। त्यतिबेला पनि नानी (छोरी) र आफू जोगिन र छोराको केयर गर्न ज्यादै गाह्रो हुन्थ्यो। बाबुले हामीलाई झम्टने र अठ्याउने गर्दथ्यो। गर्भावस्थाका ती समयमा पनि गाह्रो हँुदा कहिल्यै पनि आराम गर्न पाइनँ।
एकछिन पल्टिएँ भने जहाँ पायो त्यही अठ्याउने, लड्ने र झम्टने गर्दथ्यो। ती अवधिमा आफूलाई केयर गर्न र बाबुलाई समाल्न ज्यादै कठिन भएको थियो। उसलाई ब्रस गर्न सिक्न पनि झन्डै दुई वर्ष लाग्यो। थुक्न नजान्ने भएकाले पहिला नुनले घोटेर गराउँथे, हरेक दिन नुनले घोट्दा पानी लिएर थुक भन्थें। यसरी निरन्तर भनिरहँदा १२ वर्षपछि बल्ल थुक्न थाल्यो। यस्तो सुन्दा मान्छेलाई यस्तो पनि हुन्छ होला र भन्ने लाग्न सक्छ। कहिलेकाँही एकदमै तनाव हुन्थ्यो। लाग्थ्यो, कुनै दिन मानसिक सन्तुलन गुमाएकी मानिस हुन्छु होला। कतै जाउँ भने कता जाउँ ? बाबुका कारण कतै टिक्नै सक्दैनथें। त्यसैले प्रायः कतै जाँदिनथें। गइहाले पनि धेरै बेर बस्दैनथें।
बिहे, पार्टी, रमाइलो, भोजजस्ता कुनै कार्यक्रममा जाँदिनथें। किनकि सानोमा बाबुले भीड र ठूलो आवाज मनै पराउदैन थियो। रुन्थ्यो, झर्को मान्थ्यो। हात तानेर आफूलाई त्यहाँबाट लैजान भन्थ्यो। आर्थिक स्रोत नै श्रीमान्को कमाई भएकाले विदामा आएर काममा गइहाल्नु पर्दथ्यो। अटिजम भनेको एउटा फरक व्यवहार भएका बच्चाहरू रहेछन्, जसलाई समाजका हरेक क्रियाकलाप सिकाउन एकदमै समय लाग्ने र कठिन हुँदोरहेछ। प्रायः एक्लै हुने भएकाले तरकारी किन्न, केही सामान किन्न, जहाँ काम परे पनि सँगै लैजान्थें। मान्छेहरू उसका स्वभावहरू देखेर हेर्थे। के भएको भनी सोध्थे र कति दुखः दिएको भनी सामान चलाइदिए, खसाइदिए रिसाउँथे। केहीले मात्र बुझ्थे र बच्चा भनेर रिसाउँदैन थिए।
बाबुलाई सिकाउन ज्यादै कठिन भयो तर पनि सिकाइरहें। नानी जन्मेपछि आमाले मेरा दुःख देखेर सहारा दिन आउनुभयो। बाबु आफ्नो स्कुल जान्थ्यो, बाबु स्कुल गएका बेला पढ्थें। आमाले नानीलाई हेरिदिनु हुन्थ्यो। यही पढाइले पनि एक हदसम्म तनाव कम गराएको थियो। राति बाबुलाई सुताउन ज्यादै कठिन हुने भएकाले नानीलाई प्रायः आमाले सुताइदिनु हुन्थ्यो। बाबु सुतेपछि नानीलाई दूध खुवाउँथे, नानीलाई म चाहिएको बेला, भनेको बेला दूध खुवाउन नपाएको देखेर कहिलेकाँही त आमासमेत रुनु हुन्थ्यो। आमालाई बाबु हेर्न एकदम गाह्रो हुन्थ्यो। बाबु स्कुल गएको बेला पढ्दै जाँदा लोकसेवाको परीक्षा पास गर्न सफल भएँ। अहिले सरकारी सेवामा आवद्ध छु।
अटिजमलाई सिकाउन एकदमै गाह्रो हुन्छ। हरेक पल उनीहरूलाई केयर गर्नुपर्ने भएकाले आफ्ना साधारण काम गर्न पनि नभ्याइने हुन्थ्यो। आफैंलाई र स्वास्थ्यलाई पनि ख्याल गर्न नपाइने, राति उनीहरू नसुतेसम्म हेरिरहनुपर्ने हुन्थ्यो। नातागोताहरूले पनि मलाई कस्तो सामाजिक हुन नजानेको जस्तो ठान्दा, कहिल्यै आफ्नोपन देखाउन नजान्ने जस्तो मान्दा, कसैलाई सहयोग नगरेको महसुस गर्दा त झनै मनमा हुटहुटीको हुरी मडारिन्थ्यो। कहिलेकाँही त अटिजमसँग बिताएका ती दिनलाई कसैले बुझ्नै नसकेको, पीडाको रापलाई महसुश नै गर्न नसकेको जस्तो लाग्दथ्यो। दुनियाँलाई आफ्नै साना समस्या पनि सागर हुँदोरहेछ, अरूमा ठूला समस्या पनि पानीका थोपा ! बस् आफैंलाई सम्झाएर बस्नुको विकल्प थिएन मेरो। यसरी अटिजमले गाँजेको छोरासँगका दिनहरू बिताउँदै गएँ।
अहिले बाबुले धेरै कुरा बुझ्छ। ट्वाइलेटिङ समस्या छैन। खानेकुराहरू प्रायः सबै खान्छ। भोक लागेको थाहा पाउँछ, टिभी हेर्छ। आफूले हेर्ने च्यानल थाहा पाउँछ। आफूले केही सामान खसाएमा उठाउँछ। बोलाएर लैजान्छ, राति टेलिभिजन बन्द गरेर सुत्छ। आफ्नो लुगा आफैं लगाउँछ। रिसाएको र माया गरेको दुवै बुझ्छ। मोबाइल हेर्छ, चलाउँछ। पहिलाभन्दा अहिले कति धेरै कुरा बुझ्छ बुझ्छ। छोराका धेरै व्यवहार सामान्य हुँदै आएका छन्। अटिजम बालबालिकालाई कतिपय ठाउँमा मानसिक सन्तुलन गुमाएको भनेर बुझिदिन्छन्। कति ठाउँहरूमा डोरीले बाँधेर राखेको पाइन्छ। यस्ता बालबालिका न मानसिक रूपमा अपांगता भएका मानिस हुन् न त यिनीहरू सुस्त मनस्थितिका नै। केवल मस्तिष्कको फरक अवस्था भएका बालबालिकाहरू हुन्। त्यसैले यिनीहरूलाई हामीले स्वीकार्नु पर्छ, बुझ्नु पर्छ र निरन्तर अटिजममैत्री वातावरणबाट सिकाइरहनु पर्दछ। उनीहरूको त्यो संसार नै महसुस गर्न नजानेको पीडादायिक जीवनलाई हाम्रो माया, साथ, सहयोग, प्रयत्नहरूबाट सरल र सहज बनाउन र बुझाउन कोसिस गर्दै जानु पर्दछ।
अन्त्यमा, अटिजम बालकको आमाको तर्फबाट सम्पूर्ण अटिजमका अभिभावकलाई भन्न चाहन्छु कि बच्चा फरक व्यवहारको छ, अटिजम छ भने त्यस्तो अवस्थालाई कृपया नलुकाइदिनुस्, उनीहरूलाई खुला मनले स्वीकार्नुहोस्। बच्चा यस्तो छ भनेर हजुरहरूलाई लाज हुँदैन। भन्नेले त जे पनि भन्छन् पहिलाको जुनीको पाप भन्छन्। धेरै कुरामा असहयोग पनि हुन्छ। कतिलाई त भाडासमेत नदिने, दिए पनि धेरै बस्न नदिने आदि अनेकौं समस्या झेल्दै आउनु परेको छ। आफैंले कमाउनु पर्ने र हेरचाह पनि आफैं गर्नुपर्नेलाई अटिजम बालक र अभिभावक दुवैका लागि कल्पना गर्न नसकिने दुःख जुन वर्णन गरेर सक्दिनँ। त्यसैले अटिजमलाई स्वीकारौं, बुझौं र अरूलाई पनि बुझाउँदै लैजाउँ। समाजका सबै वर्गलाई बुझाउँदै गयौं भने जुन परिवार र समाजबाट अटिजमलाई नबुझ्दा हामी र हाम्रा अटिजम बालबालिकाले दुःखमा पनि असहयोग गरे वा झेल्यौं त्यो पछि हुनेले झेल्नुपर्ने छैन। हामीले त अटिजमलाई समालेर, साथ दिएर, जीवन जिउन सहज हुने प्राण दिएर पुण्य कमाइरहेका छौं। हामीले त भगवान्को स्वरूपलाई स्याहार गरिरहेका हौं। यस्तै शक्तिहरूले हिम्मत बढाउँदै अघि बढ्नु पर्छ, बढिरहनु पर्छ।