माइकल ज्याक्सन : सेलिब्रेटीका पनि सेलिब्रेटी !
गोरो हुन र भद्दा नदेखिनलाई गरेको पटकपटकको प्लास्टिक सर्जरी इत्यादिले उनको स्वास्थ्य पनि खस्कँदै थियो। सर्जरीकै कारण हुने दुखाई कम गर्न विभिन्न प्रकारको पेन किलर खान उनी बाध्य थिए। भनिन्छ, एउटा यस्तो पनि समय आयो कि उनको शरीरमा हाडछाला मात्र बाँकी थियो।
१८, नोभेम्बर २००७। बर्लिनको ब्राण्डेनवर्ग गेट अघिल्तिर टहल्दै थिएँ। छेवैमा सुप्रसिद्ध होटेल एडेलन थियो। स्थानीय साथीले चौथो तलाको झ्यालतिर औल्याउँदै भने– यो त्यही झ्याल हो जहाँबाट माइकल ज्याक्सनले आफ्नो काखे बच्चालाई दुई हातले बोकी बाहिर निकाले र त्यहाँ हजारौंको संख्यामा एकत्रित प्रशंसकहरूलाई देखाए। बच्चा देखाउँदै गरेको उनको तस्बिर पहिले नै टाइम म्यागेजिनमा हेरिसकेको थिएँ, एडेलन अगाडि उभिँदा त्यही तस्बिर भिडियोमा परिणत भएर ‘लूप’मा ‘प्ले’ भएजस्तो भान हुन्छ मलाई। सन् २००२ मा उनी कुनै पुरस्कार ग्रहण गर्न बर्लिन पुगेका बेला उनले यस्तो गरेका थिए। त्यसको पाँच वर्षपछि अर्थात् सन् २००७ मा त्यही ठाउँमा पुग्दा आफू उभिएको ठाउँ र होटेल एडेलनमा उनको उपस्थिति कल्पना गरेर रोमाञ्चित भएँ।
माइकल ज्याक्सन आएर बसेको कुनै ठाउँको यतिको नजिक पहिलोपटक उभिएको थिएँ। यसअघि सन् १९९६ मा कन्सर्टका लागि उनी मुम्बई आएका बेला म भैरहवावासीेलाई लाग्थ्यो, सात समुद्रपारीको त्यो महान् कलाकार र हाम्रो बीचमा एउटामात्र सिमाना छ भनेर। त्यो जमाना टेलिभिजनविहीन थियो। भिडियो हलहरूमा गएर सिनेमा हेर्ने युग थियो, पछि साथीकै घरमा डेक र स्क्रिन आएपछि भिडियो हलमा जाने धपेडीबाट मुक्त भइयो। आफूलाई मन लागेको सिनेमाको भिएचएस क्यासेट भाडामा लिन पाउने सुविधामा हामी पुगेका थियौं। माइकल ज्याक्सनको ‘थ्रिलर’ भिडियो त्यही बेला हेरेका थियौं। त्यसपछि उनी समेतले गाएको ‘वी आर द वल्र्ड’ भन्ने गीत हेरेर आँखासमेत रसाएको थियो। अरू गायकगायिकालाई सामान्य किसिमले देखाइए पनि उक्त गीतमा उनलाई जुत्तादेखि ‘टिल्टअप’ गर्दै देखाइएको थियो। त्यतिबेलै लागिसकेको थियो, अरूभन्दा माइकल ज्याक्सन विशेष छन् भनेर...।
- उनले करिब ३० वर्ष पप संगीतको क्षेत्रमा विश्वमै राज गरे।
- नृत्यकै दौरान गर्ने ‘मुन वाक’का आविष्कारक थिए उनी।
- ‘ब्रेक डान्स’ र अद्भूत मानिएको ‘मुन वाक’ को कायल थियो संसार।
- महान् कलाकार ज्याक्सन १५० वर्षसम्म बाँच्न चाहन्थे।
- मृत्युपछि पनि हरेक वर्ष करिब १४० लाख डलर कमाउँछन् ज्याक्सन।
- पोष्टमार्टम रिपोर्टअनुसार उनले खाने गरेका सातवटा औषधि पेनकिलर थिए।
संसारमा सायदै कोही संगीतप्रेमी होला, जसले माइकल ज्याक्सनलाई मन नपराओस्। ज्याक्सनले संगीत र नृत्यमा एक प्रकारले भूकम्प नै ल्याइदिएका थिए। नृत्यकै दौरान गर्ने ‘मुन वाक’का आविष्कारक थिए उनी। ‘मुन वाक’ त्यसअघि संसारले देखेकै थिएन जुन अद्भुत थियो, उनको ‘ब्रेक डान्स’ र ‘मुन वाक’ को कायल थियो संसार। त्यसैले उनी ‘सेलेब्रिटी’हरूका पनि ‘सेलेब्रिटी’ भइसकेका थिए। जहाँ जान्थे मानिसहरू उनको झलक पाउन घन्टौं कुर्थे। संसारभरका धनाढ्य, राजनीतिज्ञ एवं अन्य चर्चित मानिसहरू उनलाई आफू कहाँ बोलाउने गर्दथे, चाहे त्यो बेलायतको राजपरिवार होस् वा साउदी अरबका सुल्तान। सारा संसारमा उनको एउटा उचाई स्थापित भइसकेको थियो। पहिला ‘किङ अफ पप’ र पछि ‘गड अफ पप’ भनिन्थ्यो उनलाई।
नाम, इज्जत, अरबौं डलरको बैंक ब्यालेन्स अनि लस एन्जलसमा २८ सय एकड भूमिमा विस्तारित ‘नेभरल्याण्ड’ नामक उनको फार्महाउस थियो। जसभित्र चिडियाखाना, अम्यूजमेन्ट पार्कसम्म थियो। आफ्नो मेहनतले बनेको एक यस्तो भाग्यमानी मानव जसमा उन्नत स्वर अनि समुन्नत नृत्य समाहित थियो। तर यति हुँदाहुँदै पनि आफ्ना अनेकौं अन्तर्वार्ताहरूमा उनी भन्ने गर्थे, संसारभरबाट माया, मानसम्मान सबै प्राप्त भए पनि आफू एक्लो छु भनेर। तर
किन ? अमेरिकाको इण्डियानामा २९ अगस्ट १९५८ मा जन्मेका माइकलका पिता जो ज्याक्सन पनि एक संगीतकर्मी थिए। पारिवारिक वातावरण नै संगीतमय भएकाले आफ्ना दाजुभाइसँगै पाँच वर्षको उमेरदेखि माइकल पनि संगीतमा लागेका थिए। परिवार गरिब थियो। दुई कोठाको घरमा ९ सदस्य बस्ने गर्दथे। बाल्यकालदेखि नै दाजुभाइभन्दा माइकल पृथक थिए, राम्रो आवाज भएका उनी मीठो लय बनाउने तथा नृत्यका नयाँ नयाँ स्टेपहरू प्रयोग गर्ने गर्दथे। यो कुरा माइकलका बुबाले पनि राम्ररी बुझेका थिए। त्यसैले उनले ज्याक्सन दाजुभाइहरूलाई मिलाएर एउटा ब्याण्ड बनाइदिए।
प्रस्तुतिको क्रममा पनि सबैभन्दा कान्छा माइकल नै अगाडि हुन्थे। बुबा जोलाई भने आरोप थियो, उनले घर चलाउन आफ्ना केटाकेटीहरूको बाल्यकाल खोसे भनेर। त्यसमा पनि जम्मा पाँच वर्षको माइकललाई दिनभर अभ्यासमा लगाउँथे उनी। ब्याण्डको प्रस्तुति राम्रो हुँदै गएपछि उनीहरूलाई कामको कमी रहेन। जसमा म्यूजिक कम्पनीहरू र विज्ञापनका कामहरूका काम प्रमुख थिए। विज्ञापनको संवाद अभ्यास गर्नु, रेकर्डिङका लागि स्टूडियो जानु इत्यादि। यस्तै काममा व्यस्त रहँदारहँदै माइकलको बाल्यकाल उनीबाट खोसिइसकेको थियो। परिवारले गर्ने आम्दानीमा उनको योगदान ठूलो हुँदै गएको थियो। उनलाई सबैभन्दा पीडा त्यतिबेला हुन्थ्यो जब काममा स्टूडियो जाँदा घरअगाडिको पार्कमा उनकै उमेरका केटाकेटी खेल्दै गरेको उनी देख्थे।
बुबाबाट उनले नराम्ररी कुटिनु पथ्र्यो। यी सब कुराले माइकलको मस्तिष्कमा गहिरो असर पारेको थियो। उनको नाक भद्दा भएको र अनुहार नराम्रो भएको भनेर बुबाले नै उनलाई जिस्काउने गर्थे। बुबाले पटकपटक गरेको यस्ता कुराका कारण उनी आफूलाई कुरूप मान्थे। कस्तो विडम्बना, जुन छोरालाई उनी विशेष मान्थे, उसैलाई कुरूप भनेर हतोत्साही पनि गरिरहन्थे जो ज्याक्सन। तर माइकलको प्रतिभा ईश्वरप्रदत्त थियो। त्यसैले उमेरका साथै उनको प्रसिद्धि बढ्दै गइरहेको थियो।
यही प्रसिद्धिको फाइदा उठाउँदै ज्याक्सन परिवार लस एन्जलस बसाइँ सर्छ। माइकल आफूले ब्याण्डबाट अलग भएर काम गर्ने सोच बनाउँछन्। सन् १९७५ मा पहिलो पटक बुबाको नियन्त्रण र परिवारबाट उनी बाहिरिन्छन्। त्यतिबेलासम्म माइकल एक प्रकारले स्थापित भइसकेका थिए। त्यसैले चर्चित म्यूजिक प्रोड्यूसर क्वेन्सी जोन्सबाट उनलाई सँगै काम गर्ने प्रस्ताव आउँछ। पहिलो पटक माइकल ज्याक्सनको सोलो एल्बम रिलिज हुन्छ, जसले राम्रो निकै लोकप्रियता हासिल गर्छ। त्यसपछि १९७९ मा अर्को एल्बम बनाइन्छ, यो पनि पूरै हिट हुन्छ। यति बेलासम्म प्रसिद्धि बढ्दै गए पनि उनी वास्तविक माइकल ज्याक्सन बनिसकेका थिएनन्।
यस क्रममा १९८२ मा एउटा टेलिभिजन कार्यक्रममा उनको नयाँ एल्बम रिलिज हुन्छ। जसमा उनले पहिलो पटक ‘मुन वाक’ गरेका थिए। उनको यो नृत्य रातारात चर्चित हुन्छ, हरेक महादेशका हरेक देशका युवा ‘मुन वाक’ गर्दै गरेका देखिन थाल्छन्। सबैलाई माइकल ज्याक्सनजस्तै बन्नु थियो। यही एउटा मुन वाकका कारण उनी अब सुपरस्टार माइकल ज्याक्सन बनिसकेका हुन्छन्। संसारभरमा उनलाई नचिन्ने कोही हुँदैनन्। त्यसपछि सन् १९८२ मा माइकलको अर्को एल्बम आउँछ– थ्रिलर... थ्रिलरले क्यासेट बिक्रीमा यसअघिसम्म सबै कीर्तिमान तोड्छ। थ्रिलरको ६६ मिलियन कपी बिक्री हुन्छ। अब माइकल कहिल्यै नअस्ताउने स्टार बनिसकेका हुन्छन्। उनको तस्बिर भएको टीसर्ट संसारभर अत्यधिक बिक्री हुने वस्तु भइसकेको थियो।
त्यसपछि विभिन्न मुलुकमा उनको कन्सर्टहरू हुन थाल्छ। जसले गर्दा पनि उनको प्रसिद्धिले उचाई नाप्दै गरेको हुन्छ। उनले ग्रामी अवार्डहरू पनि उनले पाउँदै गए, एकपछि अर्को कीर्तिमान उनको पोल्टामा पर्दै गयो। उनको गीतहरूको भिडियोको डिमाण्ड यति बढ्न थाल्यो कि त्यसका लागि बेग्लै च्यानल आरम्भ गर्नुपर्ने अवस्था आइलाग्यो। त्यसै क्रममा बनेको एक च्यानल थियोे एमटीभी। एकातिर माइकल ज्याक्सनको प्रसिद्धि बढ्दै थियो भने सन् १९८५ आउँदासम्ममा उनको स्वरूप पनि परिवर्तन हुँदै गएको संसारले महसुस गर्न थाल्योे। बुबाले सधैं जिस्काइरहने उनको भद्दा नाक अब तिखोतिखो हुँदै गएको थियो। उनको श्याम वर्ण अब श्वेत हुँदै थियो।
माइकल ज्याक्सनले आफ्नो हुलिया बदले, प्लास्टिक सर्जरीमार्फत। उनी कालोबाट गोरो हुने भन्ने चर्चा संसारभर चल्न थालिसकेको थियो। उनको अनुहार, हुलिया र रंग सबै परिवर्तन हुँदै गइरहेको थियो। सन् १९९५ मा उनले आफ्नो जमानाका चर्चित गायक एल्बिस प्रेस्लेकी छोरी लिजा रे प्रेस्लेसँग विवाह गरे। यो वैवाहिक सम्बन्ध एक वर्षसम्म मात्र चल्छ। त्यसपछि सन् १९९६ मा आफ्नै हेरचाह गर्ने नर्ससँग माइकलले विवाह गरे। जसबाट तीन सन्तान भए। सन् १९९९ मा बच्चाहरू माइकल ज्याक्सनसँगै हुने गरी नर्ससँग पनि उनको डिभोर्स भयो।
वैवाहिक जीवनको उतारचढावले उनको प्रसिद्धिमा कुनै असर गरेको थिएन। तर फेरि सन् २००३ मा उनीमाथि यौनशोषणको अर्को आरोप लाग्यो। त्यसपटक मामिला क्रिमिनल कोर्टमा पुग्यो। १४ हप्तासम्म त्यो मुद्दा चलेको थियो। कुनै प्रमाण फेला नपरेपछि अदातलले उनलाई मुक्त गरिदियो। आरोपहरूले माइकलमा बेलामौकामा डिप्रेसन देखिन थाल्यो। तर पनि संसारभर कन्सर्ट गर्ने काम रोकिएको थिएन। सफलताको जुन शिखरमा उनी थिए त्यहाँ उनलाई टिक्नु पनि थियो। अथाह सम्पत्ति हुँदाहुँदै पनि उनलाई करिब ५० करोड डलरको ऋण पनि लागेको थियो। पेश्की लिइसकेको एल्बम र कन्सर्टका कामहरू पनि गर्नुपर्ने बाध्यता थियो।
यसबीच, गोरो हुन र भद्दा नदेखिनलाई गरेको पटकपटकको प्लास्टिक सर्जरी इत्यादिले उनको स्वास्थ्य पनि खस्कँदै थियो। सर्जरीकै कारण हुने दुखाई कम गर्न विभिन्न प्रकारको पेन किलर खान उनी बाध्य थिए। भनिन्छ, एउटा यस्तो पनि समय आयो कि उनको शरीरमा हाडछाला मात्र बाँकी थियो। एकातिर पेशाको बाध्यता किनकि जस्तो प्रकारको नृत्य उनी गर्दथे। उनलाई छरितो रहन आवश्यक थियो, शरीरमा अलिकति पनि बोसो थप्ने सुविधा उनलाई थिएन। तर हाडछाला मात्रको उनको त्यो शरीर उनले खाने पेनकिलरहरू धान्न पनि तयार थिएन। पटकपटकको कस्मेटिक सर्जरीले उनी फरक देखिन थालेका थिए, कुनै जन्मजात सेतो छाला भएको मानिसभन्दा पनि उनको छाला बढी सेतो भइसकेको थियो तर यो कृत्रिम कर्मको मूल्य पनि उनले चुकाउँदै थिए।
यसैबीच सन् २००९ मा उनले विश्वभर कन्सर्ट गर्ने इच्छा व्यक्त गर्छन्। उद्देश्य थियो, लागेको ऋणबाट मुक्ति। उक्त कन्सर्टको अन्तिम गन्तव्य लण्डन हुनेवाला थियो। यसपछि कुनै पनि लाइभ कन्सर्ट नगर्ने मनस्थितिमा उनी पुगे। जुन २००९ मा लण्डनमा हुने भनिएको अन्तिम कन्सर्टको अभ्यासमा उनी लागेका थिए। तर उनलाई बिसन्चो पनि भइरहेको थियो। उनी निरन्तर पेन किलर खाइरहेका थिए। २५ जुन २००९ मा लस एन्जलसस्थित आफ्नो निवासमा बिहानीपख उनलाई श्वासप्रश्वासमा कठिनाई महसुस भयो। त्यतिबेला उनी सामू आठजना चिकित्सक थिए। जसमध्ये मुटु विशेषज्ञ थिए डा. कनरड मरे। जसलाई करिब डेढ लाख डलर प्रतिमहिना तलब दिएर ज्याक्सनले राखेका हुन्छन्। डा. कनरडले माइकललाई अस्पताल पु¥याए। तर त्यतिबेलासम्म माइकल ज्याक्सनको निधन भसकेको थियो।
खबर संसारभर फैलन्छ। निधन ह्दयघातबाट भएको बताइयो। उनका २÷२ वटा पोष्टमार्टम गरियो। उनको पेटबाट औषधि मात्र निस्किएको थियो। खानेकुराको कुनै अंश भेटिएन। उनी औषधि मात्रको डोजमा जीवित थिए। पोष्टमार्टम रिपोर्टअनुसार उनले खाने गरेका सातवटा औषधि पेनकिलरहरू मात्र थिए। जसको केही डोज नै सामान्य मानिसलाई मार्न पर्याप्त हुन्थ्यो। ती औषधि यस्ता थिए : डेमरोल (अत्यधिक शक्तिशाली पेन किलर, इन्जेक्सनको माध्यमबाट लिने औषधि), मेथेडेनकक (हेरोइनभन्दा पनि बढी नशा दिने औषधि, घबराहट कम गर्न लिने औषधि), डिलोडिड (पटकपटकको प्लास्टिक सर्जरीपश्चात हुने दुखाई कम गर्न दिनभरमा अनेकौं पटक लिने औषधि), फ्याट्नारिल (मोर्फिनभन्दा १०० गुना बढी शक्तिशाली पेन किलर), वाइकोडिन (पारासिटामोल मिश्रित यो औषधि), वेरियम (घबराहट कम गर्न लिने गरेको अर्को औषधि) र प्रोपाफल (बिरामीलाई बेहोस पार्ने औषधि) लिन्थे।
यी सबै औषधिहरू माइकल ज्याक्सनले केही वर्षौं त केही महिनौंदेखि लिइरहेका थिए। जाँच कमिटिले यी सबै औषधि एकैपटक एकजना मानिसलाई दिनै हुँदैनथ्यो भनेर ठहर गर्दै डा. मरेले यी औषधि कसरी माइकललाई दिइरहेका थिए भन्ने प्रश्न उठायो। त्यसैले लामो मुद्दापश्चात डा. मरेलाई अदालतले ज्याक्सनको गैरआशय हत्याको दोषी ठहर गर्दै चार वर्षको जेल सजाय तोकेको थियो। यसबाहेक लसएन्जलस कोर्टले माइकल ज्याक्सनको निधनका बारेमा अन्य कुनै निष्कर्ष निकालेन। जबकि उनको परिवारले मृत्यु षडयन्त्रपूर्ण रहेको कुरा उठाइरहन्छ। अन्तिम निष्कर्षमा ड्रग्सको ओभरडोजबाट उनको निधन भएको ठहर गरिन्छ।
सुनौलो कफिनमा उनको शव राखिएको भए पनि उनको अनुहार कसैलाई देखाइएन। त्यसैले यदाकदा प्रश्न पनि उठ्ने गर्छ– के त्योे कफिनमा माइकल ज्याक्सनकै शरीर थियो ? भनेर। अर्को एउटा हल्ला, उनको दिमाग झिकेर कतै संरक्षण गरिएको छ भनेर। तर यी सबै कुरा हालसम्म हल्लामात्र साबित हुँदै आएका छन्। मृत्युपश्चात पनि आम्दानी गरिरहने मानिसमा पर्छन् माइकल ज्याक्सन। अहिले पनि हरेक वर्ष करिब १४० लाख डलरको कमाई माइकल ज्याक्सनको छ, जुन उनको परिवारलाई प्राप्त हुने गर्दछ।
करिब ३० वर्ष पप संगीतको क्षेत्रमा संसारभर राज गरेका यी महान् कलाकार १५० वर्षसम्म बाँच्न चाहन्थे। भनिन्छ, उनले मासिक लाखौं डलर खर्च गरेर अंग अनुसारका चिकित्सकहरू राखेका थिए। तर नियतीको खेल, चिकित्सकहरूका ती फौजले उनलाई ५० वर्ष पनि यो धरतीमा टिकाउन सकेन। त्यसैले परिवारका सदस्यहरूको आरोप आज पनि उही छ– के तिनीहरू नाम र पैसाका लागि मात्र माइकलसँग जोडिन आएका थिए ?