जहाँ ढुंगा–ढुंगामा देवताको बास छ

जहाँ ढुंगा–ढुंगामा देवताको बास छ

‘श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्... जय नेपाल !’

तत्कालीन नेपाल अधिराज्यका राजाहरूबाट देशवासीका नाममा गरिने सम्बोधनहरूका अन्त्यमा उपरोक्त हरफ प्रयोग हुन्थ्यो। देशलाई धर्मनिरपेक्ष र गणतन्त्रात्मक बनाइएपछि यस्ता सम्बोधन इतिहासमा सीमित हुनु स्वाभाविकै भयो। फेरि पनि भगवान् श्री पशुपतिनाथप्रति विश्वभरका हिन्दूजनको आस्था बढेकै छ, घटेको छैन। श्रावणको महिना, भगवान् शिवको महिना, त्यसमाथि यस वर्ष पाँचवटा सोमबार परेको महिना, यतिका सन्दर्भ मिलेपछि आज पवित्र पाशुपत क्षेत्रको नालीबेली उधिन्न उपयुक्त हुनेछ।

नेपाल खाल्डोको उत्पत्तिसँगै पशुपतिनाथको अस्तित्त्व रहेको धार्मिक कथाहरूमा उल्लेख छ। गोपाल वंशावली (ईपू चौथो शताब्दी) मा उल्लेख भएअनुसार बहुद्री नामक एक गाईले बागमती किनार एक निश्चित ठाउँमा सधैं आफ्नोे दूध बगाउने गरेकोमा पछि त्यहाँ गएर हेर्दा एक दिव्यज्योति प्रकट भएको उल्लेख छ। ऋगवेद, यजुर्वेद, सामवेद र अथर्ववेदजस्ता वैदिकग्रन्थ आदिमा पशुपतिपरक मन्त्रहरूको उपलब्धताले पशुपति क्षेत्रको प्राचीनता प्रमाणित गर्दछ। हिमवत् खण्डमा उत्तरकाशी, पशुपतिपुरी तथा नेपाल महात्म्य, पशुपति पुराण आदि ग्रन्थहरूमा पशुपति क्षेत्र भनि स्वयं भगवान् शिवद्वारा लीला गरिएको उल्लेख छ।

काठमाडौंं पूर्व बागमती नदी किनारको एक भव्य वातावरणमा श्री पशुपतिनाथको मन्दिर अवस्थित छ। यो अलौकिक सांस्कृतिक सम्पदाले पुरातात्त्विक एवं ऐतिहासिक महत्त्व बोक्ने नै भयो। काठमाडौं महानगरपालिका ७, ८ र ९ मा विस्तारित पाशुपत क्षेत्र कतै मैदान, कतै स–साना डाँडा अनि कतै वनजंगलमा विस्तारित छ। केही गहिराइमा रहेको पश्चिम भाग र उचाई भएको पूर्वी भागमा पाशुपत क्षेत्र फैलिएको छ। उचाईको पूर्वी खण्ड मृगस्थली वा श्लेषमान्तक वनका रूपमा प्रसिद्ध छ भने मन्दिर उत्तरतर्फको डाँडा कैलाश नामबाट चिनिन्छ।

मन्दिरको इतिहास र वर्तमान
लिच्छवीकालमा राजा सुपुष्पदेवले पशुपतिनाथको मन्दिर स्थापना गरेका थिए, त्यसपश्चात विभिन्न शासकहरूका पालामा आवश्यकताअनुसार मन्दिर पुनर्निर्माण हुँदै गयो। स्वरूप पनि परिवर्तन हुँदै गयो। १४०६ सालमा बंगालका सुल्तान समसुद्धिन इलियासले आक्रमण गर्दा पशुपतिनाथको मन्दिर र मूर्तिहरू नष्ट भएका थिए। त्यसपछि पशुपतिनाथका साथै नेपालका अन्य मन्दिरहरूमा गैरहिन्दूको प्रवेश वर्जित गरियो जुन आज पर्यन्त कायम छ। मन्दिरको अहिलेको स्वरूप भने राजा शिवसिंह मल्लकी पत्नी गंगारानीबाट गरिएको जीर्णोद्धारपछि कायम हुन गएको हो भन्ने मान्यता छ। त्यसअघि पशुपतिनाथको मन्दिर तीन तले थियो। १७१२ सालमा जीर्णोद्धार गर्दा तीन तलासम्म यसको बिग्रेको छाना मर्मत गर्न गाह्रो परेकाले एक तला घटाई छाना र गजुर निर्माण गरिएको थियो।

१७५४ सालमा राजा भूपालेन्द्र मल्लको पालामा साविककै स्वरूप कायम रहने गरी आराध्यदेवको मन्दिर पुनःनिर्माण गरिएको थियो। खुला प्रांगणमा विभिन्न शैलीका मठमन्दिर, स्तूप, विहार तथा साधानाश्रमद्वारा सुसज्जित अनेकन धरोहरका बीच पशुपतिनाथको मुख्य मन्दिर छ। मन्दिर प्रवेशका लागि पश्चिममा मूलद्वार रहे पनि बाँकी तीन दिशामा पनि प्रवेशद्वारहरू छन््। मन्दिरमा भने बेग्लाबेग्लै फल प्राप्तिका लागि बेग्लाबेग्लै द्वारबाट दर्शन गर्ने परम्परा छ। वर्गाकार एवं दुई तले छानायुक्त यो मन्दिर चारपाखे नेपाली मण्डप शैलीको छ। डा. गोविन्द टण्डनका अनुसार पशुपतिनाथ मन्दिर जस्ता सबै नेपाली मन्दिर मण्डप शैलीकै हुन्।

पशुपतिक्षेत्रको चारकिल्ला 
पाशुपत क्षेत्रको बाहिरी सीमा १८७० चैत्र ३० गते राजा गीर्वाणयुद्ध शाहले निर्धारण गरिदिएका थिए। प्राप्त अभिलेखअनुसार पाशुपत क्षेत्रको बाहिरी सीमाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो धावनमार्गतर्फ पूर्वी सिमाना छ। धोबी खोलाको रातो पुल, कालो पुल, हाँडीगाउँबाट चाबहिल गणेशस्थान जोडिने बाटोमा पर्ने धोबीखोला पुल हुँदै धुम्बाराही चक्रपथमा रहेको धोबीखोलाको पुललाई पश्चिम सिमाना निर्धारण गरिएको छ।

धुम्बाराहीको धोबीखोलाको पुलबाट चक्रपथ, चाबहिल चोक हुँदै भगवान् स्थानबाट गौरीघाट जाने कच्चीबाटो, गौरीघाट र गौरीघाटबाट बौद्ध जाने बाटो हुँदै गुहेश्वरीघाट उत्तरतर्फको बागमती, त्यहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो धावनमार्ग उत्तरी सीमा हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो धावनमार्गको कुनाबाट अन्तर्राष्ट्रिय टर्मिनल भवन हुँदै सवारी पर्किङ क्षेत्रबाट २६० मिटर दक्षिणपश्चिम हुँदै त्यहाँबाट ४०० मिटर पश्चिम चक्रपथसम्म, चक्रपथदेखि कालीमाटीडोल र हरिजन टोलबीचको खोच, बागमती भएर राजराजेश्वरी निस्कने गोरेटो हुँदै चक्रपथ, चक्रपथको ग्रीनबेल्ट, गौशाला चोक हँुदै धोबी खोलासम्मको रातो पुलसम्म रहेको दक्षिण सीमा हो।

पशुपतिनाथको मन्दिर क्षेत्रको हेलिकप्टरबाट लिइएको तस्बिर। तस्बिर सौजन्य : चन्द्रशेखर कार्की

यति चार किल्लाभित्रको भूखण्ड पाशुपत क्षेत्र कहलिए पनि अहिले यसभित्रका अधिकांश जग्गाजमिन निजी भोगचलनमा गइसकेको छ। दुई सय ६४ हेक्टर भूमिमा विस्तारित पाशुपत क्षेत्र विभिन्न मन्दिर र स्मारकहरूले सुसज्जित एक प्रकारको खुला संग्रहालय हो। यस क्षेत्रमा करिब पाँच सय महत्त्वपूर्ण मठमन्दिर तथा स्मारक छन््। मुख्यत पशुपति र गुहेश्वरीका दुई मन्दिर प्रांगण तथा तीसँग धार्मिक सामाजिक तथा भौगोलिक रूपमा आवद्ध क्षेत्रहरू पर्छन्। पाशुपत क्षेत्रका नौ देवीमध्ये एक शक्तिपीठ गुहेश्वरी हो, जसको मन्दिर छानाविहीन छ।

वैकुण्ठ पुग्ने मार्ग
मन्दिरपूर्व बागमती पारिको भव्यता पन्ध्र शिवालयबाट आरम्भ हुन्छ। वारि बागमतीमा रहेको ब्रम्हनालको ठीक सामुन्नेको एक शिवालय अन्यभन्दा भिन्न छ, यसमा अतिरिक्त झ्याल छ जसले ब्रम्हनालको शीरभागसँग सोझो रेखा कायम गर्दछ। यसबारेमा जनविश्वास के छ भने यो वैकुण्ठ पुगिने मार्ग हो।

वानस्पतिक विविधता
बागमती पारिका अन्य आकर्षणमा मृगस्थली श्लेषमान्तक वन क्षेत्र आदि पर्दछन्। यस क्षेत्रमा मूलतः विभिन्न वनस्पति, वन्यजन्तु, पाल्तुजन्तु, मानव र मानव निर्मित संरचनाहरू छन्। भगवान् शिव र देवी पार्वती मृग र मृगिणीको रूपमा श्लेषमान्तक वनमा विहार गरी केही काल यहाँ बसेका हुनाले यो स्थल मृगस्थलीको नामबाट प्रसिद्ध भएको नेपाल महात्म्यमा बताइएको छ।
पाशुपत क्षेत्रमा अहिले श्लेषमान्तक र भण्डारखाल बाहेक अरू वन क्षेत्र छैनन्। तर पनि केही दुर्लभ बोटबिरुवाको उपलब्धता यी वनका विशेषता हुन्। मडिल्लो शिरिष, हाडेवयर, सुनचाप, काउलो, प्वाले, धुसरु, जमानीमान्द्रो, मुसलीनी, फित्तिफ्या, वर, पिपल, लप्सी, समी, रद्राक्ष, कागतेपाट, फलामकाँडे, बोरिक, बाकलपाते, कालीमयल, सिलिंगे, जगर, काभ्रो, चिलाउने, पैञू, देवदार, सिप्लेकान, मसला, सल्ला, धुपी, काढेसल्ला, बेल, खरी, कागियो, बकेना आदि केही यस्तै महत्त्वपूर्ण बोटहरू हुन्।

कुनै आयुर्वेदिक त कुनै धार्मिक दृष्टिले महत्त्वपूर्ण छन्। यी मध्येकै एक सिलिंगेको वृक्षको विशेष महत्त्व छ। यो वृक्ष तिब्बतका केही भूभाग र श्लेषमान्तक वन बाहेक अन्यत्र पाइँदैन। यसमा मंसिर महिनामा फूल लाग्छ। एउटा रोचक जनविश्वास के छ भने यो फूलको सुगन्ध तिब्बतसम्म पुग्छ। तिब्बतमा यसको सुगन्ध पुगेपछि नेपालमा धान पाकेछ भन्ने अड्कल तिब्बतमा लगाउने गरिन्छ। असाध्यै सुवासिलो सिलिंगे फूलको अर्क निकै महँगो हुन्छ। चीनमा यस्तो अर्कको मूल्य किलोको हजार डलरसम्म पर्ने गरेको बताइन्छ। यत्तिको महत्त्वपूर्ण वृक्ष पाशुपत क्षेत्रमा करिब छ सय वटासम्म रहेको बताइन्छ।

विश्वकै ठूलो ढलौटका मूर्ति
श्लेषमान्तक वनको पूर्वी किनारमा रहेको विश्वरूपा मन्दिर पशुपति क्षेत्रमा रहेका मन्दिरमा सर्वाधिक बृहदाकार छ। १९१२ सालमा भोटसँगको युद्धमा नेपाल विजय होस् र धनजनको धेरै नोक्सानी नहोस् भन्ने चाहना तत्कालीन प्रधानमन्त्री जंगबहादुरको थियो। त्यसै सिलसिलामा भोट जाने मार्गमा एउटा ठूलो शिला फेला पर्‍यो। त्यही शिलालाई भैरव मानेर आकांक्षा पूरा भएको खण्डमा काठमाडौं लगि स्थापना गर्ने भाकल उनले गरेका थिए।

फलस्वरूप उक्त शिला काठमाडौं ल्याइयो। मृगस्थलीको जंगलमा राखेर पूजा गर्न सुरु गरियो। त्यसपछि हनुमानढोका दरबारभित्र राजा प्रताप मल्लले निर्माण गर्न लगाएको विश्वरूपा अर्थात् कामकामेश्वरीको धातुको ठूलो मूर्ति यहाँ ल्याई स्थापना गरे। झन्डै १२ फुट उचाईको धातुको सहस्र हात, सहस्र शिरसहितको यो मूर्ति ढलौटका मूर्तिहरूमा विश्वकै ठूलो मानिन्छ।

गोरखनाथ मन्दिर नै चारधाम
यसै क्षेत्रमा रहेको गोरखनाथ मन्दिरको आफ्नै महत्त्व छ। चारधाम यात्रामा निस्कन नसक्ने हिन्दू धर्मावलम्बीले यो क्षेत्रको परिक्रमा गर्दा चारधाम गए जतिको पुण्य प्राप्त गर्ने मान्यता छ। शिखरशैलीको यो गोरखनाथ मन्दिर राजा जयस्थिति मल्लको पालामा निर्माण गरिएको मानिन्छ। प्रधानमन्त्री जंगबहादुरका आमाहरू रक्षाकुमारी र गणेशकुमारीबाट जीर्णोद्धार गरी मन्दिरको पूर्व, उत्तर र पश्चिममा धर्मशाला तथा सत्तलहरू बनाइएका थिए। नेपाल एकीकरणको अभियानमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहले गोरखनाथलाई दिएको महत्त्व इतिहासमा चासो राख्ने कसैबाट पनि लुकेको छैन। तर, अहिले त्यतिकै महत्त्व र प्रसिद्धि अनुसार यो मन्दिर सञ्चालन भएको पाइँदैन।

जीवजन्तुको आश्रयस्थल
पाशुपत क्षेत्र मानवलगायत अन्य विभिन्न जीवजन्तुको आश्रय पनि हो। श्लेषमान्तकको केही भागमा मृगहरू संरक्षित छन्। नेपाल प्रकृति संरक्षण कोषको सहकार्यमा यहाँ मृगवाटिका सञ्चालित छ। हाल मृगहरूको संख्या बढेर व्यवस्थापनमा समस्या परेको छ। काठमाडौंको स्वयम्भूजस्तै पाशुपत क्षेत्रमा पनि पहिलेदेखि नै बाँदरहरूको बसोबास रहँदै आएको छ।

यत्रतत्र देखिने यी बाँदर यस क्षेत्रका अभिन्न अंग हुन्। जसमा मृगलाई भन्दा यिनीहरूलाई सजिलो छ किनकि मृगजस्तो निश्चित घेरामा यिनीहरू बस्न पर्दैन। पाशुपत क्षेत्र पुग्दा सबैभन्दा पहिला दर्शन हुने यिनीहरूकै हो। बागमतीवारि र पारि दुई समूहमा पशुपतिका बाँदरहरू विभाजित छन्। विशेषज्ञहरूका अनुसार यस क्षेत्र मात्र ५० जति बाँदरका लागि उपयुक्त हुनसक्छ।

बागमती जल र पुनर्जन्मको सन्दर्भ
पाशुपत क्षेत्रको प्राकृतिक वातावरण मात्र होईन धार्मिक तथा सांस्कृतिक महत्त्वसमेत रहेको बागमती नदी पशुपतिनाथ जतिकै महत्त्व राख्ने धरोहर हो। हिन्दू जनविश्वासअनुसार अन्तिम अवस्थामा पवित्र बागमतीमा खुट्टा छोएर ब्रम्हनालमा राखेर पशुपतिनाथमा चढाइएको एक थोपा जल मुखमा पारी अन्तिम श्वास लिन सकेमा सम्पूर्ण पापबाट मोक्ष भई पुनर्जन्म लिन नपर्ने शास्त्रीय मत छ। त्यसैले बागमती ब्रम्हनाललाई मोक्षद्वारको रूपमा लिइन्छ। धार्मिक मान्यतामा बागमतीको महत्त्व र पवित्रता निकै उचाईमा रहे पनि व्यवहारमा बागमतीको अवस्था भिन्न छ। नदी भनेको मानव निर्मित नहर वा कुलो होइन। नदीको प्राकृतिक बाटो थुनछेक गर्नु वा मोड्नु हुँदैन। यसलाई ढल वा सवारीमार्ग पनि बनाउन हुँदैन। नहर वा कुलोको विज्ञान नदीमा लागू हुँदैन। काम र मामको खोजीमा काठमाडौंं आएकाहरूमा न बागमती सभ्यता, न संस्कृतिको गरिमाको बारेमा ज्ञान थियो, न त यसलाई बुझ्ने फुर्सद नै भयो।

भौतिक संरचना निर्माणको क्रममा उपत्यकाको खेतीयोग्य जमीनमा छ्यापछ्याप्ती घरहरू बन्न थालेपछि उपत्यकाको हरियाली हराउने नै भयोे। नदीहरूमा बालुवा त हराइसकेको थियो, हजारौं वर्षदेखि कञ्चन पानी बगेका नदीहरू दुर्गन्धित र विषालु घोल मिसिएका ढल छन्। बागमती नदीमा त्यही भइरहेछ। हेरौं, शास्त्रमा उल्लेख भएअनुसारको बागमतीको गरिमा कहिले फर्किने हो।

आर्यघाटको ‘भोयरिज्म’
पशुपति मन्दिरको पूर्वी किनार र बागमती नदीको पश्चिम किनारमा रहेको आर्यघाटमा हिन्दूहरूको अन्त्येष्टि गरिन्छ। आर्यघाटमा दिनहुँ बढीमा ५० वटासम्म शव अन्तिम संस्कारका लागि ल्याउने गरेको तथ्यांक छ। चिता जल्दै गरेको दृश्य बागमतीपारि टिकट काटेर घुमफिरका लागि आएका गैरहिन्दू विदेशीका लागि निकै आकर्षणको विषय हुने गरेको छ। उनीहरू बिना कुनै अवरोध आफ्नोे क्यामेरामा कुनै हिन्दूको दुःखद् क्षण कैद गर्न लागि परेका हुन्छन्। वास्तवमा शव जलाउने र जल्ने प्रक्रिया शव जलाउने संस्कार नभएकाका लागि उत्सुकताको विषय हुनु स्वाभाविकै हो। आर्यघाटमा दाउरा माथि राखिएका मानव शरीर जलाउँदै गरेका कारुणिक दृश्य होस् हेरेर रमाइलो मान्ने संस्कार पश्चिमाहरूमा पाइन्छ। वास्तवमा यही हो भोयरिजम, अर्थात् अर्काको दुःख हेरेर रमाइलो मान्ने कर्म।

वास्तवमा दाहसंस्कार खुला ठाउँमा गर्ने गरिए पनि यो नितान्त पारिवारिक र आफन्तहरूका बीचमा गरिने काम हो। तर हामी हिन्दूहरूको यो नितान्त निजी संस्कार आर्यघाटमा विदेशीहरूका लागि रमितामा परिणत भएको छ। पश्चिमी समाजमै पनि कसैको व्यक्तिगत जीवनमा अवान्छित हस्तक्षेप गर्नु सभ्यता एवं नैतिकताभन्दा परको कुरा मानिन्छ। अतिथि देवो भन्दैमा हाम्रो सबैभन्दा मार्मिक आन्तरिक क्षण विदेशीसँग बाँढ्नु कदापि आवश्यक छैन। तर दुर्भाग्य, विदेशीहरू आर्यघाटमा हाम्रो दुःखमा रोमाञ्चित भइरहँदा हामी हिन्दूलाई आफ्नोे गोप्यता हनन् भएसम्म पनि आभास हुँदैन। शुल्क लिएर प्रवेश अनुमति दिएको भरमा विदेशीलाई यस्ता संवेदनशील घटनाहरू छायांकन गर्न दिनु उचित वा अनुचित के हो ? त्यसमा स्पष्ट हुन जरुरी छ।

उपचार नभएपछि घाटे वैद्य
पाशुपत क्षेत्रमा आर्यघाटनजिकै राजा गीर्वाणयुद्ध शाहको पालादेखि नै जीवनको दोसाँधमा रहेका बिरामीहरूको सरल अन्तिम अवस्थाका लागि घाटे वैद्यको व्यवस्था छ। परम्पराको लामो निरन्तरतालाई कायम राख्दै आएका घाटे वैद्यहरू जीवनको अन्तिम अवस्थामा ब्रम्हनालमा ल्याइएकाहरूले अन्तिम सास लिने समयका बारेमा पुग नपुग सही जानकारी दिन सक्ने क्षमता राख्छन्। तर कतिपय अवस्थामा हरेक उपचारबाट हार खाएर ब्रम्हनालमा परेका बिरामीलगायत दशकौंदेखि अन्य कुनै व्यथा भएका एवं आधुनिक चिकित्सा विज्ञानबाट ठीक नभएकाहरू समेत घाटे वैद्यको उपचारबाट ठीक भएर घर फर्किएको अनेकौं उदाहरण पाइन्छ।

पाशुपत समाज 
पाशुपत क्षेत्रको सामाजिक संरचना हेर्दा वैदिक कर्मकाण्ड गर्ने राजोपाध्याय, तान्त्रिक कर्मकाण्ड गर्ने कर्माचार्यहरूले परापूर्वकालदेखि उत्तरदायित्त्व वहन गर्दै आइरहेका छन्। भण्डारीहरू मन्दिरको काम गर्ने, बिसेटहरू जग्गाको काम गर्छन्। कुसले (दर्शनधारी) हरूले पशुपतिनाथ र वरपरका मन्दिर प्रांगणमा कुचो लगाई सफासुग्घर गर्ने, प्रत्येक पूर्णिमा र कात्तिक शुक्ल चतुर्दशीका दिन हुने महास्नान महाभोगमा चढाइएको भाग लिने काम गर्दै आएका छन्। पशुपतिनाथको संस्कृतिले बाँधेका यस्ता परिवारहरूको पशुपतिनाथसँग परापूर्वकालदेखि नै गाँसिएको अटुट सम्बन्धका कारण पनि यिनीहरू पाशुपत क्षेत्रभन्दा बाहिर जान वा बस्न सक्दैनन्।

भट्ट तथा पूजारी
पशुपतिनाथमा भारतको विन्ध्याचलदेखि दक्षिणका तैलंग द्रविड ब्राम्हणहरूमात्र पूजारी हुने चलन छ। यस सम्बन्धमा अनेकौ किंवदन्ती छन्। नेपालमा शिवश्व खाने चलन नहुनु र भारतका तात्कालीन मुसलमान शासकहरूले त्यस भेकमा खासै अत्याचार नगरेकाले दक्षिण भारतका ब्राम्हणहरू चोखो भएको विश्वासमा त्यहाँबाट भट्टहरू ल्याउने चलन सुरु भएको मानिन्छ। अझ पहिले त राजा स्वर्गारोहण हुँदा सबै नेपालीलाई जुठो लाग्ने तर पशुपतिनाथको पूजा रोक्न नमिल्ने हुनाले विदेशी पूजारी राखिएको तर्क पनि सुनिने गरिन्छ।

प्रत्येक दिन बिहान मन्दिरमा भट्टहरूको प्रवेश हुनु अघिसम्म पालोबमोजिम भण्डारीहरूद्वारा पूजा गर्ने गरिन्छ। चार कवलका एक एक जना गरी चार जना भण्डारी हुन्छन्। तीमध्ये प्रत्येकले पालैपालो मूल भण्डारीको जिम्मेवारी वहन गर्ने गर्छन्। पालो पर्ने मूल भण्डारी २४ सै घण्टा मन्दिर परिसरमा बस्छन्। पशुपतिनाथको श्री सम्पत्ति यिनै मूलभण्डारीको जिम्मामा हुने गर्दछ। मन्दिरको सम्पत्ति हराए नासिएमा मूलभण्डारीले नै तिर्नुपर्ने हुन्छ। भट्टहरूले पूजा सकाएर मन्दिरबाट निस्कँदा उनीहरूको समेत शरीर परीक्षण गर्ने अधिकार भण्डारीलाई रहने गर्दछ।

आराध्यदेवको आम्दानी
पशुपतिनाथमा बिहान सबेरै पूजा सुरु हुन थालेदेखि नै भक्तजनले भेटी चढाउँछन्। पशुपतिनाथमा कति भेटी चढ्ने गर्दछ तथा उक्त रकम समाजसेवाका के कस्ता काममा वा स्वयं पाशुपत क्षेत्रकै विकासमा कसरी सदुपयोग गरिँदैछ भन्ने प्रश्न आम रूपमा उठ्ने गरेको छ। भारतका कतिपय ठूला मन्दिरहरूमा चढ्ने भेटीको सदुपयोग स्वयं उक्त मन्दिरको विकासलगायत समाज कल्याणका अनेकौं योजनाहरूमा सफलतापूर्वक लगानी गरिएका प्रशस्त उदाहरणहरू छन्। तर नेपालमा अझैसम्म पनि त्यस्तो हुन सकेको छैन। यद्यपि उहिले देशमा विपत्ति पर्दा राजा महाराजाहरूले समयसमयमा पशुपतिनाथको ढुकुटीबाट सम्पत्ति निकालेर खाँचो टार्ने गर्थे। पछिल्लोपटक चन्द्रशमसेरले दासमोचन गर्दा आवश्यक रकम लिएका थिए। वास्तवमा भेटी, चन्दा, पूजा रकम, जग्गा आदिका आयस्तालगायत अन्य सम्पूर्ण रकमको राम्रो बन्दोबस्त मिलाउँदै जाने हो। पशुपति परिसरमात्र होइन, यसबाट बागमती शुद्धीकरण, शिक्षा, संस्कृतिको प्रचारप्रसार, धार्मिक अनुष्ठान, योग तथा साधना शिविरहरू आयोजना आदि अनेक सराहनीय मात्र होइन, अनुकरणीय कामसमेत गर्न सकिनेमा विज्ञहरू एक मत छन्।

पशुपतिनाथमा प्रत्येक पूर्णिमापछि द्वितीयाका दिन मासिक रूपमा चढेको पैसा जम्मा गर्ने चलन छ। वर्षभरि जम्मा भएको पैसाबाट मंंसिर महिनामा सुन खरिद गर्ने चलन छ जसलाई मन्दिरकै पहिलो तलाको मूलढुकुटीमा राखिन्छ। १९३८ सालदेखि पशुपतिमा हुने आम्दानीको हिसाब राख्न थालिएको उल्लेख भए पनि कोषसँग २०१८ सालपछिको हिसाब छ। सन् १९७९ मा इजिप्टमा सम्पन्न विश्वसम्पदा समितिको बैठकले पाशुपत क्षेत्रलाई विश्वसम्पदामा सूचीकृत गरेको हो। यस्ता धरोहरको उचित संरक्षण सम्वद्र्धन सम्बन्धित देशले गर्ने तथा समितिका मापदण्डहरू पालन गर्न आवश्यक हुन्छ। सम्पदाको सम्मान आफैंले गरेको खण्डमा मात्र विश्वबाट यसले सम्मान पाउन सक्छ। देशको अस्तित्त्वसँग गाँसिएको यो महान् धरोहर, हिन्दू मात्रको यो महान् आस्थापुञ्जको प्रताप विश्वभर फैलिरहोस्। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्... जय नेपाल !

 तस्बिरहरू : अशोक दुलाल/दीपेन श्रेष्ठ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.