नेपाली उडानको गर्विलो इतिहास

नेपाली उडानको गर्विलो इतिहास

नेपालको आकाश सुन्दर छ, समृद्ध पनि। नेपाल र नेपाल भएर उड्ने जहाजहरू सुन्दर हिमालको स्पर्शमा पुग्न सक्छन्। आठ हजार मिटर उचाइका विश्वका १४ अग्ला हिमालमध्ये आठवटा नेपालमा पर्छन्। खासगरी यी सुन्दर हिमाल पर्यटकका लागि आकर्षणका केन्द्रविन्दु हुन्। विश्वकै सर्वोच्च हिमाल सगरमाथा पनि नेपालमै पर्छ। जहाजहरू सगरमाथा हुँदै उड्ने गरेका छन्। माउन्टेन फ्लाइटबाट पर्यटक यी हिमालमा रमाउँदै आएका पनि छन्। सामान्यत भदौ/असोजदेखि हुने माउन्टेन फ्लाइट माघसम्म हुने गर्छ। दैनिक दर्जनभन्दा बढी फ्लाइट चाटर्ड हुने गरेका छन्।

जहाजमा मजासँगै जोखिम पनि छ। जोखिम मोल्नेहरूका लागि जीत पनि छ। जीतभित्रको खुसी मानिसको चाहना हो। संसारमा हवाई सेवाको सुरुआत भएको दुई हजार वर्ष नाघिसकेको छ। आकाशमा चंगा उडाउने वा उडेको देख्नेदेखि सुपरसोनिक र हाइपरसोनिक उडेको देख्नेसम्मको समयमा छ हाम्रो पुस्ता। नेपालमा जहाज उड्न थालेको पनि सात दसक नाघेको छ। ७२ वर्षअघि पहिलोपटक भिन्टेज बिच एअरक्र्याफ्ट नामको जहाज काठमाडौंस्थित सानोगौचरणमा अवतरण गरेको पाइन्छ। सडकबाट भन्दा निकै कम समयमा लामो लामो दूरी पार गर्न सकिने अववसर जहाजले उपलब्ध गराएकाले पनि मानिसको यसमा आकर्षण थपिएको हो। 

नेपालमा हवाई सेवाको यात्राको शुभारम्भ भनेकै थोरै क्षेत्रफलको सानो गौचरणबाट भएको हो। डकोटा विमानबाट नेपालले सुरु गरेको हवाई सेवा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजस्तो आधुनिक एवं सुविधासम्पन्न एअरपोर्ट र एअरबस ३३० सम्म पुगेको छ। नेपाल हवाई सेवामा प्रवेश गरेदेखि हालसम्म (अर्थात् सन् १९४९ देखि २०२१ सम्म) कुन कुन वर्षमा के के उपलब्धि, घटना र दुर्घटना भए सोको लेखाजोखा यहाँ प्रस्तुत गरिएको छ :

सन् १९४९ : यो वर्ष हवाई सेवाको क्षेत्रमा नेपालको ऐतिहासिक वर्षको रूपमा मान्न सकिन्छ किनभने यही वर्ष भारतीय राजदूत श्री सरजीत सिंह महाथिया एउटा जम्मा चार सिट क्षमता र एक मात्र इन्जिन भएको भिन्टेजबिच एअरक्राफ्टबाट नेपालको गौचरणमा अवतरण गरेका थिए।

सन् १९५० : यो वर्ष हिमालयन एभियसनको डकोटा विमानले चार्टर फ्लाइटको रूपमा गौचरणबाट कलकत्ताको लागि उडान भरेको थियो।

सन् १९५५ : तत्कालिन राजा महेन्द्रबाट गौचरणको औपचारिक उद्घाटन भयो। गौचरणको नाम आफ्नो पिताको नामाकरण गर्दै त्रिभुवन विमानस्थल राखियो।

सन् १९५७ : त्रिभुवन विमानस्थलको घाँसे रनवेलाई पक्की बनाउने कार्य सम्पन्न भयो र सेवा प्रारम्भ गर्‍यो।

सन् १९५८ : शाही नेपाल वायुसेवाले आन्तरिक र अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो नियमित सेवा प्रारम्भ गर्‍यो। यसै वर्ष नेपालमा धेरै एअरपोर्ट निर्माण भए। ती हुन् : पोखरा एअरपोर्ट, सिमरा एअरपोर्ट जुलाई ४ मा बन्यो भने त्यस्तै यसै वर्षको ६ जुलाईमा विराटनगर एअरपोर्ट, भरतपुर एअरपोर्ट र भैरहवाको गौतम बुद्ध एअरपोर्ट बनेको थियो।

सन् १९५९ : तत्कालिन श्री ५ को सरकारले शाही नेपाल वायुसेवा निगमलाई सम्पूर्ण रूपमा आफ्नो अधिनमा लियो। यसै वर्ष तत्कालिन यातायातमन्त्री गणेशमान सिंहले राजविराज एअरपोर्टको उद्घाटन गरेका थिए। तर भौतिक पूर्वाधार पूर्ण नभएको र रनवेको सुरक्षाको पनि राम्रो व्यवस्था नभएको भनेर यो एअरपोर्ट बन्द गरियो।

सन् १९६० : नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको सदस्यता प्राप्त गर्‍यो। यसै वर्ष नेपालमा पहिलो हवाई दुर्घटना भयो। शाही नेपाल वायुसेवाको डगलस सी ए७ए–८०–डीएल भैरहवा एअरपोर्टमा दुर्घटना भयो र आगो लाग्यो। यो विमानमा यात्रु कोही नभए पनि चालक दलका चारजनाको निधन भयो।

सन् १९६१ : बेलायतकी महारानी एलिजाबेथ द्वितीय नेपालको पहिलो भ्रमणका लागि डकोटा विमानबाट अवतरण गरिन्। नेपालको हवाई इतिहासमा यो नै नेपालको एअरपोर्टमा भएको पहिलो चर्चित र उच्च तहको भ्रमण थियो। यसै वर्षमा नेपालगन्ज एअरपोर्टको पनि निर्माण भयो।

सन् १९६३ : भद्रपुर एअरपोर्टको स्थापना भयो।

सन् १९६४ : त्रिभुवन विमानस्थलको नाम परिवर्तन गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राखियो। लुक्लामा तेन्जिङ हिलारी विमानस्थलको स्थापना भयो।

सन् १९६६ : सुर्खेत विमानस्थलको स्थापना भयो।

सन् १९६७ : त्रिभुवन विमानस्थलमा भएको ३७५० फिटको रनवेलाई बढाएर ६,६०० फिटको बनाइयो। यसै वर्ष जर्मनको लुफ्टहान्सा विमान नेपाल आउने पहिलो जेट विमानको रूपमा नेपालमा अवतरण गर्‍यो।

सन् १९६८ : थाई इन्टरनेशनलले जेट विमानद्वारा नेपालको लागि नियमित सेवा आरम्भ गर्‍यो।

सन् १९७१ : सोलुखुम्बु जिल्लामा स्याङ्बोचे विमानस्थलको स्थापना भयो।

सन् १९७२ : नेपालको पहिलो बोइङ जहाज ७२७/१०० त्रिभुवन विमानस्थलमा आइपुग्यो। भारतीय प्राविधिकहरूले सञ्चालन गरिरहेको एअर ट्राफिक कन्ट्रोललाई नेपाली जनशक्तिले प्रतिस्थापन गरे। यसै वर्षको अक्टोबर १ तारिखमा तुम्लिङटार विमानस्थलको स्थापना भयो।

सन् १९७३ : यसै वर्षको जुन १० तारिखमा नेपालमा पहिलो हवाई अपहरण भयो। विराटनगरबाट काठमाडौंका लागि उडान भरेको शाही नेपाल वायुसेवाको डी हेभील्यान्ड क्यानडा, ट्विन अटर विमान बीपीको निर्देशनमा नेपाली कांग्रेसका तीन नेता दुर्गा सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुंगेलले झण्डै ३० लाख भारु बोकेर अपहरण गर्दै भारतको बिहारमा ल्यान्ड गराएका थिए। यो अपहरणको समयमा विमानमा भएका १८ यात्रु र तीन चालक दल कसैलाई केही भएन। यसै वर्षको सेप्टेम्बर २४ तारिखमा चौरजहारी र डोटी एअरपोर्टको स्थापना भयो।

सन् १९७५ : त्रिभुवन विमानस्थलको रनवेको लम्बाई ६६०० फिटबाट बढाएर १०,००० फिटको बनाइयो। यसै वर्ष रारा विमानस्थल जुन ताल्चा विमानस्थलको नाममा परिचित आरम्भ भयो।

सन् १९७६ : उडान सूचना केन्द्रकोे स्थापना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरियो। यसै वर्षको अक्टोबरदेखि ताप्लेजुङ, बझाङ र फाप्लुमा एअरपोर्ट बन्यो।

सन् १९७७ : नेपाल वैमानिक संसारमा परिचित भयो।

सन् १९८१ : यसै वर्षको फेब्रुअरी २८ तारिखदेखि विश्वकै अग्लो स्थानमा रहेको मनाङ एअरपोर्ट आरम्भ भयो।

सन् १९८७ : पहिलो पटक फ्रान्सको कनकोर्ड विमान नेपालमा अवतरण भयो।

सन् १९८९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण सम्पन्न भयो।

सन् १९९० : तत्कालीन राजा श्री ५ वीरेन्द्रबाट त्रिभुवन विमानस्थलमा नवनिर्मित अन्तर्राष्ट्रिय टर्मिनल भवनको उद्घाटन सम्पन्न भयो।

सन् १९९२ : यस वर्षदेखि लिइएको उदार उडड्यन नीतिले निजी क्षेत्र पनि हवाई यातायाततर्फ आकर्षित भयो। केही निजी विमान हवाई सेवामा देखिए। तिनीहरू हुन् :

नेकोन एअर : नेपालको पहिलो निजी क्षेत्रको विमान सञ्चालक कम्पनी हो। १४ सेप्टेम्बर १९९२ मा काठमाडौंमा स्थापना भएको नेकोन एअरले हउकर सिड्ली एचएस ७४८ एअरक्र्याफ्टबाट सेवा सञ्चालन गरेको थियो। सन् २००३ मा यसले उडान स्थगित गर्‍यो।

एभरेष्ट एअर : यसै वर्ष यसले पनि आन्तरिक हवाई सेवा र हेलिकप्टरबाट चार्टर सेवा आरम्भ गर्‍यो। यो कम्पनी नेपाल एअर चार्टर सर्भिसको रूपमा सुरु भयो । सन् १९९८ देखि यो कम्पनीले हवाई सेवा बन्द गर्‍यो।

नेपाल एयरवेज : यसले अभ्रो हउकर सिड्ली एचएस ७४८एस, हर्बिन वाई–१२एस, मी–८एस एन्ड एएस३५०बी एक्युरेउइल हेलिकप्टर प्रयोग गथ्र्यो। कमजोर आर्थिक अवस्था र हवाई सेवामा उदाएका दुई नयाँ कम्पनी यति एअरलाइन्स र बुद्ध एअरको कारणले यो कम्पनीले पनि सन् १९९८ देखि आफ्नो सेवा बन्द गर्‍यो।

यसै वर्ष नेपालमा दुई ठूला विमान दुर्घटना भए। जुलाई ३१ तारिखमा थाई एअरवेजको अन्तर्राष्ट्रिय (उडान संख्या–३११) को एअरबस ए३१०–३०४ ललितपुरको भट्टेडाँडामा दुर्घटना हुँदा विमानमा सवार सबै ११३ जनाको निधन भएको थियो। सोही वर्षको सेप्टेम्बर २८ तारिखमा पाकिस्तान इन्टरनेशनल एअरलाइन्स (उडान संख्या–२६८) को एअरबस ए३०० बी४–२०३ घोप्टेभीरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै १६७ जनाको निधन भएको थियो।

सन् १९९३ : नेपाल सरकारले पहिलो पटक नागरिक उड्ड्यन नीति ल्यायो। नेपालमा हेलिकप्टर चार्टर गर्न मिल्ने गरी खोलिएको यो नै पहिलो कम्पनी थियो। सन् २००१ मा यो कम्पनीले वैदेशिक लगानी पायो। बेलायतका व्यवसायी ्र

माल्कम स्मिथले ५० प्रतिशत लगानी गरे। भुटान सरकारले सन् २००५ मा यो कम्पनीले भुटानी ध्वजाबाहक ड्रुक एअरसँग साझेदारी गर्‍यो।

सन् १९९५ : त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवन र एप्रोनको विस्तार गरियो।

सन् १९९६ : यस वर्षको २३ एप्रिलमा बुद्ध एअरलाइन्सको स्थापना भयो। यो नेपाली हवाई सेवामा लामो समयसम्म रहन सफल एअरलाइन्स हो। सन् १९९८ मा गोर्खा एअरलाइन्सले दुईवटा डोर्नियर २२८ ल्यायो। सन् २००५ मा हेलिकप्टर सेवा बन्द भएपछि यिनै दुई विमानको प्रयोग गरेको थियो। सन् २००८ मा यसको सेवा बन्द भयो। सन् २०१७ मा गोर्खा एअरलाइन्सले नागरिक उड्ड्यन मन्त्रालयबाट पुन: सञ्चालन अनुमति पायो। तर हालसम्म यसको सेवा सुचारु हुन सकेको छैन।

सन् १९९७ : एअरपोर्ट सर्भिलेन्स रडार (एएसआर) र सेकेन्डरी सर्भिस रडारको जडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरियो। यसै वर्ष नेपालमा आन्तरिक उडान भर्ने गरी मनाङ एअर चार्टर सेवा दिने आरम्भ भयो। सन् २००९ मा यसको एमआई १७ हेलिकप्टर दुर्घटना भएपछि बन्द भएको यसको सेवा सन् २०१४ मा फेरि सुरु गरेको हो। यसै वर्ष फिसटेल एअर प्रा.लि. स्थापना भयो। सन् २०१८ देखि २०२० सम्म समिट हेलिकप्टर प्रा.लि.को नाममा सेवा दियो। क्याप्टेन आरपी प्रधानको पूर्ण स्वामित्वमा कस्मिक एअरको स्थापना पनि यसै वर्ष भएको थियो। यसले १ जनवरी १९९८ मा दुईवटा एमआई १७ हेलिकप्टरबाट आरम्भ गरेको हो। अगस्ट १९९८ मा यसले डोर्नियर २२८ विमान थप्यो। अक्टोबर २००४ मा यसले १०५ सिट क्षमताको फोकर १०० विमान एअरक्याप कम्पनीसँग लिजमा लियो। सन् २००५ मा पनि यस्तै दुई विमान फेरि कस्मिक एअरले लिजमा लियो। १४ अक्टोबर २००६ मा यस कम्पनीसँग भएको एक मात्र फोकर १०० विमानमा प्राविधिक समस्या आएर त्रिभुवन विमानस्थलमा ग्राउन्डेड भएपछि फेरि यसको सेवा अवरुद्ध भयो।

सन् १९९८ : सीओएससीएपी–एसए प्रोजेक्टको जडान भयो। तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा नयाँ जडान भएको रडारको उद्घाटन भयो। यसै वर्षको अगस्ट १७ तारिखदेखि यति एअरलाइन्सको सुरुआत भई हालसम्म सञ्चालनमा छ। यसै वर्ष आङ छिरिङ शेर्पाले स्काइलाइन एअरवेजको स्थापना गरे। यसले सन् १९९९ देखि सन् २००६ सम्म नेपालका दुर्गम क्षेत्रहरूमा चार्टर तथा नियमित सेवा दिएको थियो।

सन् १९९९ : सन् १९९० मा नातिनी अनन्याको नाममा रजिष्टर गरेको एअर अनन्याको सुरुआत बनवारीलाल मित्तलले एमआई १७ हेलिकप्टरमार्फत यसै वर्ष गरे। पहिला एअर अनन्याको नामबाट सेवा दिइरहेकोमा माओवादी जनयुद्धको बेलामा माओवादीहरूले जिरीमा उनको हेलिकप्टर जलाइदिए। त्यसपछि मित्तलले ज्योतिषिको सल्लाहमा एअर अनन्याको नाम परिवर्तन गरेर श्रीएअरलाइन्स राखेका हुन्। सन् २००१ मा सांग्रिला एअर र कर्णाली एअर आंशिक रूपमा विलय भएर नेकोन एअर बने। सन् २००८ मा यसको सेवा बन्द हुँदा यससँग जम्मा एउटा डीएचसी–६ ट्विन अटर थियो। यसै वर्षको डिसेम्बर २४ तारिख शुक्रबारको दिन काठमाडौंबाट दिल्लीका लागि उडान भरेको इन्डियन एअरलाइन्सको एअरबस फ्लाइट नम्बर ८१४ भारतको हवाई आकाश प्रवेश गर्नेबित्तिकै पाँच जनाले अपहरण गरेका थिए।

सन् २००० : यस वर्ष माउन्टेन एअरको स्थापना भएको थियो। तर, यो सन् २००२ मा विमान लिजसम्बन्धी सम्झौता हुन नसकेपछि बन्द भयो।

सन् २००१ : तेन्जिङ हिलारी एअरपोर्टलाई थप सुलभ बनाइयो। काठमाडौंमा सिम्रिक एअरको स्थापना गरियो। यसले चार्टर फ्लाइटको सुविधा दिन्छ र यो स्वीस हेलिकप्टर सञ्चालक कम्पनी एअर जेरमेटसँग पनि आवद्ध जसले पाइलट ट्रेनिङ दिन्छ। यसै वर्ष नारायण सिंह पुनले कर्णाली एअरको स्थापना गरे।

सन् २००२ : त्रिभुवन अन्तर्राष्ट्रिय भवनको बिस्तार गरियो। एउटा नयाँ हवाई कार्गो सेवाको सुुविधा थपियो।

सन् २००३ : सीता एअरको स्थापना भयो। यसले सन् २००० मा नै अनुमति लिएर अक्टोबर २००० मा नै स्थापना भएको भए पनि तत्कालिन राजनीतिक अवस्थाले गर्दा सेवा सञ्चालन गर्न सकेको थिएन। ६ फेब्रुवरीमा एउटा डोर्नियर विमानबाट सेवा सुरु गरेको थियो।

सन् २००४ : आन्तरिक जेट विमान सेवाको सुरुआत भयो।

सन् २००५ : यस वर्ष दुईवटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्न थाले। त्यसमध्ये एउटा थियो एअर नेपाल इन्टरनेशनल जसले क्वालालम्पुर, दोहा, दुबई र बैंककमा उडान गथ्र्यो। तर २२ डिसेम्बर २००५ मा काठमाडौंमा ५३ जना यात्रुलाई अलपत्र पारेर बिना कुनै पूर्वसूचना यसको सबै उडान स्थगित गरियो। अन्तत: सन् २००७ मा यो बन्द भयो।

सन् २००६ : बंगलादेशको जिएमजी एअरलाइन्स, कोरियन एअर र एअर अरेबियाले नेपालमा सेवा दिन थाले। सेप्टेम्बर २३ मा श्री एअरको चार्टर हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटना भयो। त्यस दुर्घटनामा चालक दलका चारसहित २० जना यात्रुले ज्यान गुमाए। यही दुर्घटनामा केही उच्च पदस्थ अधिकारी गोपाल राई र हर्क गुरुङ र वातावरणविद चन्द्र गुरुङले ज्यान गुमाए। मार्चमा काठमाडौंमा हेडक्वाटर भएको अग्नि एअरले सेवा आरम्भ गर्‍यो तर सन् २०१२ मा बन्द भयोे।

सन् २००७ : एतिहाद एअरवेज, ड्रयागन एअर, ओरियन्ट थाइ र हङकङ एक्सप्रेसले नेपालमा सेवाको सुरुआत गरे। मेमा अस्ट्रियन एअरलाइन्सले भियनाबाट हुने आफ्नो उडान बन्द गर्‍यो। नेपालबाट यूरोपसम्म जाने यो एक मात्र सिधा फ्लाइट थियो। शाही नेपाल वायुसेवा निगमको नाम परिवर्तन गरी यसै वर्ष नेपाल वायुसेवा राखियो। यसै वर्ष न्यून भाडादरको फ्लाई यतिको स्थापना भयो। यो एअरलाइन्स नेपालको यति एअरलाइन्स र एअर अरेबियाको साझेदारीमा सुरु भएको हो। यसले सन् २००८ सबै सेवा बन्द गर्‍यो।

सन् २००९ : एअर ट्राफिक कन्ट्रोलको क्षेत्रमा भीएचएफ सञ्चारलाई अभिवृद्धि गर्न रिमोट कन्ट्रोल एअर ग्राउन्ड स्टेशनको नेपालगञ्जमा निर्माण गरियो। गुण एअरले बुद्ध एअरबाट लिएको बिच एअरक्राफ्टबाट सेवारम्भ गर्‍यो। तारा एअरले नियमित र चार्टर सेवा काठमाडौं र नेपालगन्जलाई केन्द्र बनायो। मकालु एअरले पनि चार्टर तथा कार्गो सेवा सुरु गर्‍यो। सँगै एअर काष्ठमण्डपले सेवा सुरु गरे पनि २६ फेब्रुवरी २०१६ मा कालिकोटको चिलखायामा दुर्घटनामा पर्‍यो। चालक दलका दुई सदस्यको मृत्यु भयो भने नौ जना घाइते भयो। सन् २०१७ मा यसको सेवा बन्द भयो।

सन् २०१० : एडीबीसँग ऋण लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई थप सुविधा सम्पन्न बनाउन नेपाल सरकार र केन्द्रिय नागरिक उड्ड्यन प्राधिकरणको बीचमा एसडीआर ४४३८८००० सम्झौता भयो।

सन् २०११ : तुम्लिङटार र सिमीकोटको रनवेलाई स्तरोन्नति गरियो। काठमाडौं र विराटनगरमा नेभिगेसन सिस्टम जडान गरियो। २५ सेप्टेम्बरमा बुद्ध एअरको बिचक्र्याफ्ट १९००डी मोडलको विमान ललितपुरमा दुर्घटना हुँदा यसमा सवार १६ यात्रु र तीनजना चालक दलका सदस्यको मृत्यु भयो। फेब्रुवरीमा गोमा एअरले पनि सेवा सुरु गर्‍यो। १३ मार्च २०१७ मा नाम परिवर्तन गर्दै समिट एअर राखेको हो।

सन् २०१२ : रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स (आरएनपी) एआर प्रोसिजर्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यान्वयनमा ल्याइयो। काठमाडौंलाई केन्द्र बनाएर तीन अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने गरी बीबी एअरलाइन्सको स्थापना भयो। यसले १३ अक्टोबर २०१२ मा क्वालालमपुरका लागि पहिलो उडान गर्‍यो। जसलाई गैरआवासीय नेपालीको समूहले प्रवद्र्धन गरेको हो। बीबी एअरले १२ एप्रिल २०१२ मा नेपालबाट सातवटा अन्तर्राष्ट्रिय गन्तव्य मलेसिया, जापान, हङकङ, सिंगापुर, थाइल्याण्ड, कतार र भारतमा उडान भर्ने अनुमति पायो। यसले केही महिनामै सेवा बन्द गर्‍यो। सन् २०१७ मा नेपाल वायुसेवा निगमसँग तीन दसक पुरानो बोइङ खरिद गर्‍यो।

सन् २०१३ : त्रिभुवन विमानस्थलमा एअर ट्राफिकको स्तरोन्नतिका लागि सीएनएस र एटीएम जडान गरियो। टर्किस एअरलाइन्सले इस्तानाबुलबाट काठमाडौंका लागि सिधा उडान सुरु गर्‍यो। युरोपियन युनियन कमिसनले युरोपको आकासमा नेपालका सम्पूर्ण विमानलाई उडानमा प्रतिबन्ध लगायो। प्रभु हेलिकप्टरको स्थापना भयो। सिम्रिक एअरलाइन्सले आन्तरिक उडान भर्ने गरी नागरिक उड्ड्यन मन्त्रालयको नियमानुसार आरम्भ गर्‍यो। यसले सन् २०२१ मा सेवा बन्द गर्‍यो।

सन् २०१४ : जापानिज सहयोगमा त्रिभुवन विमानस्थलमा टर्मिनल मोनोपोल्स सेकेन्डरी सर्भिलेन्स रडार जडान गरियो। भट्टेडाँडामा पनि एमएसएसआर नै राखियो। चौरजहारी, रुकुम र फाप्लु विमानस्थलको रनवेलाई कालो पत्रे गरियो। यति इन्भेस्टमेन्ट ग्रुप र तिब्बत एअरलाइन्सको संयुक्त लगानीमा अन्तर्राष्ट्रिय उडान भर्ने गरी हिमालयन एअरलाइन्सको स्थापना गरियो। यसले एअरबस ३२० बाट सेवा मे २०१६ बाट आरम्भ गरेको हो। वेद उप्रेती फाउन्डेसनले नेपालकै पहिलो एभिएसन संग्रहालय धनगढीमा आरम्भ गर्‍यो। क्यानेडियन बोमबार्डिएर जेट विमान प्रयोग गर्दै सौर्य एअरलाइन्सको स्थापना भयो।

सन् २०१५ : यसै वर्ष गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरियो। नयाँ आन्तरिक उडानको भवन त्रिभुवन विमानस्थलमा बनाइयो। मनमाया, थम्बारावा, रामेछाप र रारा विमानस्थलको रनवेलाई कालो पत्रे गरियो। यसै वर्षको मार्च ४ मा टर्किस एअरलाइन्सको एअरबस ए३३०–३०० टीसी–जेओसीको फ्लाइट नम्बर टीके ७२६ रनवेमा चिप्लिएर दुर्घटना भएको थियो।

सन् २०१६ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास १३ एप्रिलमा तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट भयो। विराटनगरको अग्रवाल समूहलाई सीता एअर ५५ करोडमा बिक्री गरियो। यही वर्ष हेली एभरेस्ट र अल्टिच्यूड एअरले चाटर्ड सेवा सुरु गर्‍यो।

सन् २०१७ : वेद उप्रेती फाउन्डेसनले काठमाडौंका एभियसन संग्रहालयको स्थापना गर्‍यो। सीता एअरले सिम्रिक एअरसँग दुईवटा डोर्नियर २२८ विमान खरिद गर्‍यो। श्री एअरलाइन्सले सेवा आरम्भ गर्‍यो। बुद्ध एअर र यति एअरलाइन्सपछि १५.७५ प्रतिशत बजार ओगट्दै श्री एअरलाइन्स नेपालको तेस्रो ठूलो विमान कम्पनी बन्न सफल भएको छ।

सन् २०१८ : ३१ जनवरीमा भद्रपुर एअरपोर्टमा नयाँ निर्माण भएको आरएनएभीको उद्घाटन भयो। यो निर्माण पछि अब यो एअरपोर्ट रातमा पनि सञ्चालन हुनसक्ने भएको छ। १२ मार्चमा यूएस बाङ्ला एअरलाइन्सको बोमबार्डियर ड्यास ८ क्यू४०० विमान त्रिभुवन विमानस्थलको पूर्वपट्टि दुर्घटनाग्रस्त भयो। सो दुर्घटनामा ६७ मध्ये ४७ यात्रु र चालक दलका चार जनाकै मृत्यु भयो। नेपाल वायुसेवा निगमले नेपालको वायुसेवा इतिहास कै सबैभन्दा महंगो खरिदका रूपमा दुईवटा एअर बस खरिद गर्‍यो। जसलाई २०९.६ मिलियन अमेरिकी डलरमा खरिद गरिएको थियो। 

सन् २०१९ : २७ फेब्रुअरीमा चार्टर उडानमा रहेको एअरबस हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भयो। सो दुर्घटनामा नेपालका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी र यति एअरलाइन्सका व्यवस्थापन प्रबन्धक आङछिरिङ शेर्पालगायत सातकै मृत्यु भयो।

सन् २०२० : उडान बन्द भएको एक दसकपछि नेपाल एअरलाइन्सले जापान पुन: नियमित उडान सञ्चालन गर्‍यो। त्रिभुवन विमानस्थलको रनवेको लम्बाइ बढाएर १०,९९० फिटको बनाइयो। कोभिड १९ को कारणले सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू रद्ध गरियो। कोरोना संक्रमणमा नेपालीलाई उद्धार गर्न नेपाल एअरलाइन्सले अस्ट्रेलियाको चाटर्ड फ्लाइट गरेको थियो।

सन् २०२१ : कोभिडको दोस्रो चरणले सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान रद्ध गरिए। गुण एअरलाइन्सले यति एअरलाइन्सका पाँच जहाज लियो। सन् २०२१/२२ को बजेट भाषणमा सुकेटार (ताप्लेजुङ) एअरपोर्टको नाम परिवर्तन गरेर रवीन्द्र अधिकारी एअरपोर्ट र चुहानडाँडा एअरपोर्टको नाम परिवर्तन गरेर आङछिरिङ शेर्पा नामाकरण गर्ने घोषणा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.