जाडोले लिँदैछ ज्यान !
शीतलहर सुरु भएपछि सिरहा, सप्तरी, धनुषा, रौतहटलगायत तराईका जिल्लामा वर्षेनी धेरै जनाको मत्यु भएको खबर आउँछन्। यसरी मत्यु हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा छन्। सहर मात्र होइन, गाउँतिर पनि अत्यधिक चिसोबाट कठ्याँग्रिएर मत्यु नै हुने गरेका घटना पनि सुनिन्छन्। जाडोबाट बच्न आगो र हिटर ताप्ने चलन छँदैछ। ताप्दै गरेको आगो अनियन्त्रित भएर आगजानी हुने खबरहरू सुनिन्छ। रातको समयमा आगो बालेर सुत्दा आगजनी भएको, निसासिएर र जलेर निधन भएका घटनाहरू पनि हरेक वर्ष भइरहेकै छन्। पछिल्लो चरणमा ग्यास गिजरले ज्यान लिएका घटना पनि आउन थालेका छन्। नुहाउने क्रममा ग्यास गिजरकै कारण घाइते हुने, बेहोस हुने र मत्यु हुने संख्यामा निकै वृद्धि भएको पाइन्छ।
सोलारमा पानी ढिला तात्ने हुन्छ। विद्युत् गिजर महंगो तथा खर्चिलो हुने रहेछ। तुलनात्मक हिसाबले ग्यास गिजर सस्तो र कम खर्चिलो छ। जडान गर्न पनि यो सजिलो छ। त्यसैले यसको प्रयोग बढि छ। गिजर मात्र होईन ग्यास हिटरको पनि प्रयोग बढ्दो छ। जाडोमा कठ्यांग्रिनु वा चिसोपानीले नुहाउँदा हुन सक्ने स्वास्थ्यका प्रतिकूल असरबाट जोगिन जरुरी हुन्छ। यसका लागि कोठा न्यानो बनाउनु तथा तातोपानीले नुहाउनु आवश्यक हुन्छ। आगो बाल्ने, कोइला÷कोल बाल्ने, हिटर चलाउने अनि नुहाउन तातोपानी प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ। कोठा तातो बनाउँदा होस् या तातोपानीले नुहाउँदा मत्यु समेत हुनसक्छ। यी मत्युका कारण तिनै मेसिन तताउनलाई बालिएको आगो हुने गरेका छन्। हावा पास हुन सकेन भने पनि यस्तो घटना हुन्छ। पहिला आगोले डढेर निधन हुने धेरै थिए। अहिले कार्बन मोनोअक्साइड पोइजन भएर मृत्युको संख्या बढ्न थालेका छन्।
कार्बन मोनोअक्साइड, कार्बन डाईअक्साइड जस्तै रंगहीन, गन्धहीन एक किसिमको ग्यास अर्थात् हावा हो। हामीले श्वास लिँदा हावाबाट अक्सिजन लिन्छौं र कार्बन डाईअक्साइड फाल्छौं। यो कार्बन डाईअक्साइडले कुनै विषाक्त पार्दैन। रसायनिक बनोटका आधारमा एउटा कार्बनसँग दुईटा अक्सिजन मिलेर कार्बनडाईअक्साइड बनेको हुन्छ। तर एउटा कार्बनसँग एउटा मात्र अक्सिजन मिलेर बनेको अवस्था चाहिँ कार्बन मोनोअक्साइड हो। कार्बन मनोअक्साइडलाई थप एउटा अक्सिजन चाहिरहेको नै हुन्छ। जबसम्म एउटा थप अक्सिजन पाएर कार्बन डाईअक्साइड बन्न पाउँदैनन्, तबसम्म कार्बन मोनोअक्साइड साह्रै सक्रिय रहन्छ। कार्बन मोनोअक्साइडको यो सक्रियता नै हाम्रा लागि घातक हुने र मत्यु समेत गराउन सक्ने हुन्छ। श्वासप्रश्वास प्रक्रियाबाट हामीले अक्सिजन लिन्छौं। यो अक्सिजन हाम्रो रगतमा भएको हेमोग्लोबिनले बोक्छ। शरीरका सम्पूर्ण अंगहरूमा पुर्याउँछन्। यो अक्सिजनभन्दा सक्रिय हुन्छ। त्यसैले अक्सिजनको सट्टा र छिटो यसलाई हेमोग्लोबिनले बोक्छ। त्यसैले अति आवश्यक रहेको अक्सिजन ब्रेन, मुटु, मृगौला जस्ता महत्त्वपूर्ण अंगमा समेत पुग्दैन।
यस अवस्थामा एकातिर अक्सिजनको कमी हुन्छ र अर्कातिर कार्बनमोनोअक्साइडले विभिन्न प्रोटिनसँग मिलेर महत्त्वपूर्ण कोष तथा तन्तुहरूलाई मार्ने काम गर्छ। त्यसैले कार्बनमोनोअक्साइड अति नै चाँडो मानिसलाई बेहोस बनाउने र मत्यु गराउने काम गर्छ। कार्बनमोनोअक्साइड ग्यास गिजरबाट मात्र निस्किने होइन। कुनै पनि इन्धन बलेर शक्ति परिर्वतन हँुदा कार्बनमोनोअक्साइड बन्न सक्छ। डिजेल वा पेट्रोल इन्जिन चलाउँदा, ग्यास इन्जिन चलाउँदा, ग्यास चुलो बाल्दा, ग्यास वा अन्य इन्धन बल्ने हिटर चलाउँदा, लालटिन बाल्दा पनि कार्बनमोनोअक्साइड बन्ने हुन्छ। चारकोल, मट्टितेल, दाउरा वा कोइला बाल्दा पनि कार्बनमोनोअक्साइड बन्ने हुन्छ। तर खुल्ला ठाउँमा वा हावाको वहाव भएको ठाउँमा यो धेरै समय रहन पाउँदैन। यस्ता ठाउँमा अक्सिजन पर्याप्त हुने भएकाले कार्बन मोनोअक्साइडले थप अक्सिजन लिएर कार्बन डाईअक्साइड बनिहाल्ने हुन्छ। त्यसैले खुल्ला ठाउँमा उत्पादन भएको कार्बन मोनोअक्साइडले मानिसलाई बेहोस बनाउन वा मत्यु गराउन सक्दैनन्।
कार्बन मोनोअक्साइड पोइजनिङ भएमा कसैकसैलाई छाति दुख्ने र बेहोस हुने पनि हुनसक्छ। कार्बन मोनोअक्साइड पोइजनिङको शंका हुनेबित्तिकै झ्यालढोका खोल्ने वा खुल्ला ठाउँमा ल्याउनु पर्छ।
जाडोमा नुहाउन ग्यास गिजर प्रयोग गर्नु नै हुँदैन भन्ने होइन। ग्यास गिजरले पानी तताउने क्रममा ग्यास बल्ने र कार्बन मोनोअक्साइड उत्पादन हुन्छ भने विचार गर्नुपर्छ। त्यसैले ग्यास गिजर भएको वाथरुममा हावाको आवतजावत हुने भेन्टिलेसन वा झ्याल हुनुपर्छ। तर विद्युत् हिटर वा सोलार पद्दतिले पानी तताउँदा यो भेन्टिलेसन वा झ्याल बन्द गरे पनि खासै फरक पर्दैन। यो सावधानी ग्यास गिजरको प्रयोगको अवस्थामा मात्रै होइन, कोठा तताउन ग्यास हिटर चलाउँदा, चारकोल वा कोइला बाल्दा पनि उत्ति नै सावधानी अपनाउनु पर्छ।
हुनत अहिले बजारमा कार्बन मोनोअक्साइड डिटेकटर नै पनि पाउँछ। जसले यसको मात्रा बढेको बताउँछ। यो डिटेकटर नलगाए पनि इन्धनहरू बालेर तातो कोठामा बसेको अवस्थामा वा ग्यास गिजर प्रयोग गरेको अवस्थामा सचेत हुनुपर्छ। यस अवस्थामा अत्याधिक टाउको दुखेमा, बान्ता आउन खोजे वा वान्ता भएमा, श्वास फेर्न गाह्रो भएमा कार्बन मोनोअक्साइड पोइजनिङ भएको शंका गर्नुपर्छ। कार्बन मोनोअक्साइड पोइजनिङ भएमा कसैकसैलाई छाति दुख्ने र बेहोस हुने पनि हुनसक्छ। कार्बन मोनोअक्साइड पोइजनिङको शंका हुनेबित्तिकै झ्यालढोका खोल्ने वा खुल्ला ठाउँमा ल्याउनु पर्छ।
यस अवस्थामा तत्कालै अक्सिजन दिनुपर्ने हुन्छ। शरीरमा कार्बन मोनोअक्साइड धेरै नै गइसकेको अवस्थामा खुल्ला ठाउँमा वा हावामा भएको अक्सिजन लिन नसक्ने हुन्छ। यस अवस्थामा तुरुन्तै उच्चचापमा सिलिन्डरबाट अक्सिजन दिनुपर्ने हुन्छ। यसो गर्दा पनि सधैं उपचार सफल हुँदैनन्। विकसित मुलुकहरूमा पनि कार्बन मोनोअक्साइड पोइजनिङका कारण मत्यु हुनेको संख्या उच्च रहने गरेको छ। त्यसैले यसको उपचारभन्दा पनि सावधानीमै ध्यान दिनु नै बुद्धिमानी हुन्छ।