जसपा नेता कार्कीसहित १० जनाले गरे पार्टी परित्याग
विराटनगर : जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्य युवराज कार्कीसहित १० जनाले पार्टी परित्याग गरेका छन्।
बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टी परित्यागको घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्नेमा नेता कार्कीसहित केन्द्रीय सदस्य मित्र चापागाईं, भीमबहादुर थापा, राष्ट्रिय परिषद् सदस्य खिरबहादुर भण्डारी, मञ्जु भण्डारी, रामबहादुर जाग्री, सुजन भण्डारी, महिला केन्द्रीय नेता कमला थापा र भोजपुरका जिल्ला नेता किरण विष्ट रहेका छन्।
पार्टीको कार्यशैली चित्तबुझ्दो नभएपछि पार्टी परित्याग गर्ने निर्णय गरिएको नेता कार्कीले बताए।
उनले भने, 'पार्टीमा अलोकतान्त्रिक सर्वसत्तावादी प्रवृत्ति हाबी भएको छ। पार्टी नेतृत्वले खस आर्यप्रति प्रतिशोधपूर्ण र पूर्वाग्राही व्यवहार गरेको महशुस गरेका छौं। त्यसैले सामूहिक रूपमा पार्टी छाडेका हौं।'
नेता कार्की मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका थिए। तर, त्यो क्षेत्र जसपाको भागमा नपर्ने भएपछि उनले पार्टी परित्याग गरेको जसपाका अन्य नेताहरूको तर्क छ।
प्रतिक्रिया दिनुहोस !