फौजीलाई कुन हो दसैं, कुन हो चाडतिहार

फौजीलाई कुन हो दसैं, कुन हो चाडतिहार

विराटनगर : घरघरमा वैदिक विधिपूर्वक घटस्थापनासँगै नेपालीहरुको महान चाड बडादसैं सोमबारबाट सुरु भएको छ। वर्षदिनको रमाईलो चाडको रुपमा रहेको विजयादशमीले अहिले सबैलाई छपक्कै छोइसकेको छ। नेपालीहरु दसैं लक्षित किनमेल र पूजापाठमा जुटिसकेका छन्।

दसैंमा के गर्ने? कहाँ जाने? र समय कसरी व्यतित गर्नेलगायतका योजनासमेत धेरैले बनाइसकेका छन्। कतिपय त दसैं मनाउनकै लागि आ-आफ्नो घरसमेत लागिसकेका छन्। तर, हाम्रो समाजमा केही यस्ता पात्रहरु पनि छन्, जसलाई न दसैं, न तिहार र न छठ, कुनै चाडपर्वले छुँदैन। पेसागत जिम्मेवारी बहन र दायित्व निर्वाहमा उनीहरुको हरेक चाडपर्व बित्ने गर्छ। ती हुन, शान्ति, सुरक्षा र अमनचयन बनाइराख्ने प्रमुख जिम्मेवारी पाएका राष्ट्रसेवक सुरक्षाकर्मीहरु।

‘साथीसङ्गी घरपरिवार नमान्नु है हार,

फौजीलाई कुन हो दसैं, कुन हो चाड तिहार’

हो, नेपाली लोकप्रिय गायक जगदीश समालको यो गीतले चाडपर्वमा सुरक्षाकर्मीको पीडा बयान गर्छ। दिनरात नभनी अहोरात्र ड्युटीमा खटिने सुरक्षाकर्मीहरुलाई चाडपर्व चाडपर्वजस्तो लाग्दैन। काँधमा भएको जिम्मेवारी र दायित्वले चाडपर्वमा घरपरिवार सम्झन दिँदैन। त्यस्ता भाग्यमानी सुरक्षाकर्मीहरु थोरै हुन्छन्, जसले दसैं तिहारमा घर फर्किने सौभाग्य पाउँछन्। अन्यथा अधिकांशले ड्युटीमै टीका लगाउँछन् र कार्यस्थलमै खुसी साट्दै दसैंमा रम्ने प्रयास गर्छन्। घरपरिवारको सम्झना सहकर्मीहरुसँग साट्न खोज्छन्। अनि उनीहरुसँगै भुल्ने प्रयास गर्छन्।

चाडपर्वमा विशेषगरी जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षाकर्मीहरुको भूमिका महत्वपूर्ण हुन्छ। १ नं. प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोला गायक समालले गाएको ठ्याक्कै यही गीत सम्झन्छन्। अनि भन्छन्, ‘पहिले आफूलाई मात्र हेरिन्थ्यो। अहिले सबैलाई हेर्नुपर्छ। जिम्मेवारी र दायित्वबोध भएपछि चाडपर्वको महत्व कम लाग्ने रहेछ।’ 

प्रायःजसो हरेक चाडपर्व सर्वसाधारण जनताको सुरक्षामै बित्ने गरेको उनको अनुभव छ। जनतालाई ३६५ दिन नै शान्ति, सुरक्षा प्रदान गर्नु प्रहरीको प्रमुख जिम्मेवारी भएकाले दसैं, तिहारलगायतका चाडपर्वमा कार्यभार झन थपिने गरेको उनी बताउँछन्। २०५४ सालदेखि प्रहरी सेवामा लागेका उनी अहिले दसैंमा घर परिवार सम्झदैनन्।

कार्यव्यस्तताले त्यो फुर्सद नै दिँदैन। ‘चाडपर्वमा मन कटक्क त खान्छ। तर, परिवारप्रति एक किसिमको लगाव हुन्छ, कर्मप्रति अर्को,’ उनी भन्छन, ‘परिवारभन्दा कर्मप्रतिको लगावले महत्व पाउँछ। अहिले आएर दसैं-तिहारको खासै महत्व लाग्दैन।’

कार्यालयका कर्मचारी र अन्य सहकर्मीहरुले दसैंमा एकाअर्कालाई परिवारको कमी महसुस हुन दिँदैनन्। झन अहिले प्रविधिले गर्दा परिवारका सदस्यहरुसँग भिडियो कलमार्फत् नै कुराकानी हुने भएकाले पनि अलि सहज हुने गरेको प्रहरी कर्मचारीहरु बताउँछन्। उनीहरुका अनुसार फुलपातीका दिन संयुक्तरुपमा खाना खाने तथा शुभकामना आदानप्रदान गर्ने र टीकाको दिन इच्छुक कैदीबन्दीहरुसहित संयुक्त टीका लगाएर प्रहरीहरुले दसैं मनाउने गरिन्छ।

दसैं-तिहारलगायतका चाडबाडमा सुरक्षा चुनौतीहरु बढ्ने भएकाले प्रहरीको जिम्मेवारी पनि थपिन्छ। सुरक्षा योजना कार्यान्वयनका साथै अपराध अनुसन्धानमा समेत सक्रिय रहनुपर्ने भएकाले चाडबाडमा प्रहरीलाई भ्यानभ्याइ हुन्छ। चाडबाडमा विदा कल्पनै गर्न नसकिने मोरङका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ बताउँछन्। ‘विदामा जाँदा आफ्नो कतै केही भइहाल्छ कि भन्ने चिन्ताले सताउँछ,’ उनी भन्छन्, ‘आम नागरिकले सुरक्षित रुपले चाडबाड मनाउन पाउँदा हामी आफैँ सन्तुष्ट हुन्छौं।’

चाडपर्वकै बेला चोरी डकैती र अपराधका गतिविधिहरु बढ्ने भएकाले सबै सुरक्षाकर्मीहरुको चाडबाड कार्यक्षेत्रमै बित्ने गरेको छ। जनताको सुरक्षार्थ खटिने प्रहरी जवानहरुको पीडा शब्दमा वर्णन गरिसाध्य नरहेको मोरङका डीएसपी श्रेष्ठको भनाइ छ। ‘मानिसहरु टीका र जमरा लाएर हिँडडुल गर्दा मन कटक्क खान्छ,’ उनले भने, ‘तर, अहिले त बानी परिसकेको छ। बुबाआमाले पनि छोरा राष्ट्रसेवामा छ भन्ने बुझ्नुभएको छ।’ 

प्रहरीहरु अन्य क्षेत्रका कर्मचारीहरुजस्तो भन्ने बित्तिकै बिदा पाउँदैनन्। चाडबाडमा सुरक्षा चुनौति थपिने भएकाले आकस्मिकबाहेकको अवस्था विदा पाइँदैन। सुत्केरी र किरिया विदा पनि मुश्किलले पाइन्छ। प्रहरी सेवामा भैपरी आउने विदा महिनाको ४, वर्षको १२, महिलाहरुको हकमा सुत्केरी विदा ९८, सुत्केरी स्याहार विदा १५, किरिया विदा १५, घर विदा ३० र बिरामी विदा ३० दिन पाउने व्यवस्था छ। तर, चाडबाडमा विदा पाउने अवस्था रहँदैन। ड्युटीमा खटिएका एक प्रहरी जवानले भने, ‘विदा नमाग्नु भनेर पहिले नै आदेश आइसकेको हुन्छ।’

चाडवाडमा आन्तरिक व्यवस्थापन र सेड्युल मिलाएरमात्र विदा बस्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार कार्की बताउँछन्। यद्यपि, प्रहरी नै परिवार हुनेहरुका लागि भने चाडबाड खल्लो नहुने गरेको उनको अनुभव छ।

प्रहरी जवानहरुबाट विदाको माग बढी हुने गरेको बताउँदै उनले सेड्युल मिलाएर व्यवस्थापन गरिने गरिएको उनी जिकिर गर्छन्। प्रहरी संगठनको मेरुदण्ड भनेकै तल्लो तहका जवानहरु भएकाले उनीहरुको मनोबल उच्च बनाइराख्न पनि सेड्युल मिलाएर विदा मिलाइदिने गरेको उनको भनाइ छ।

‘हामीलाई त ड्युटी गर्दागर्दै समय बितेको पत्तो हुँदैन,’ उनले भने, ‘कार्यालय प्रमुख भएकाले हामीले विदा पनि लिन मिल्दैन। प्रहरी आबद्धताभन्दा अगाडिको दसैं र अहिलेको दसैं अलि फरक भने पक्कै पनि छ।’

दसैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै मोरङमा भने प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। सर्वसाधारणलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउँदै चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले प्रदेश १ को राजधानी विराटनगरसहित मोरङमा १ हजार २९१ जना जनशक्ति परिचालन गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.