जलवायु असरले कृषिमा ठूलो क्षति

जलवायु असरले कृषिमा ठूलो क्षति

नेपालगन्ज  : बाँकेको नरैनापुर गाउँपालिकामा गत वर्ष ५ हजार ४ सय ५६ बिघामा लगाइएको धानबाली बेमौसमी वर्षाले नष्ट ग¥यो। २०७८ असोज ३१ देखि कात्तिक ३ सम्म परेको मुसलधारे पानीबाट काटेर खेतमै सुकाइएको धान भिज्यो। यो क्षतिबाट ५ करोड ७८ लाख रुपैयाँबराबरको धानबाली नष्ट भएको थियो। 

यता सरकारले नरैनापुरका लागि २ करोड ८ लाख रुपैयाँमात्रै पठायो। त्यो रकम वितरण गरेको दुई साता मात्र भएको छ। बैंकको खाता नम्बर नमिल्दा सबैले बुझिसकेका छैनन्। किसान मारमा पर्ने शृंखला रोकिएन। यो वर्ष समयमै वर्षा नहुँदा नरैनापुरमा १५ प्रतिशत मात्र रोपाइँ भयो। ८५ प्रतिशत धान खेत बाँझै भए। धान पाकेर भित्र्याउने बेला नआउँदै किसानलाई खाद्य संकट सुरु भइसकेको गाउँपालिकाले भनिरहेको छ। 
नरैनापुरलाई जिल्ला विपद् व्यवस्थापन समितिले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर संघीय र प्रदेश सरकारसँग राहत मागेको छ। केही दिनअघि अर्थमन्त्री जनार्दन शर्माले नरैनापुर क्षेत्रको स्थलगत अवलोकन गरेका थिए। उनले तत्कालका लागि राहतका लागि पहल गर्ने आश्वासन दिएका थिए। तर सरकारी राहत अहिलेसम्म नरैनापुर पुगिसकेको छैन। 

नरैनापुर मात्र होइन बाँकेका ८ वटै स्थानीय तहका किसान मारमा परे। जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीका अनुसार ३९ हजार ४ सय ५२ किसान यो बेमौसमी वर्षाको मारमा परे। जिल्लाभर ३८ करोड ७८ लाख ६० हजार रुपैयाँबराबर रकम राहतका लागि माग गरियो तर जिल्लालाई १० करोड रुपैयाँमात्र आयो। किसानको क्षतिलाई विश्लेषण गरेर कुल क्षतिको ३६ प्रतिशतमात्र वितरण गरिएको छ। जिल्लाका नरैनापुर, डुडुवा, नेपालगन्ज, खजुरा र जानकीमा राहत रकम वितरण गरिएको प्रशासन कार्यालय बाँकेका लेखापाल विश्वप्रसाद ढकालले बताए। 

राप्तीसोनारी, कोहलपुर र बैजनाथ गाउँपालिकाले राहत पाउने किसानको बैंक खातासहितको विवरण पेस नगरेका कारण राहत पाउन सकेका छैनन्। १ जना किसानले प्रतिकठ्ठा १ सय ९२ रुपैयाँका दरले कम्तीमा ५ सय रुपैयाँदेखि बढीमा २० हजार रुपैयाँको हाराहारीमा मात्र राहत पाएका छन्। नेपाल सरकारको धान किसानलाई राहत वितरणसम्बन्धी कार्यविधिले नै एक जना किसानलाई ५५ हजार रुपैयाँभन्दा बढी दिन नमिल्ने व्यवस्था गरेको छ। 

कृषि ज्ञान केन्द्र बाँकेका तत्कालीन प्रमुख सागर ढकाल जलवायु परिवर्तनका कारण बेमौसमी वर्षा हुँदा किसान मारमा परेको बताउँछन्। ‘जिल्लामा धान उत्पादनमा कम्तीमा पनि १० प्रतिशत त ह्रास आउने नै भयो। असोजको पहिलो सातामा भइरहेको बेमौसमी वर्षाले पनि पाकिरहेको धान बालीलाई हानि गर्छ। धेरै दिन लगातार पानी परेमा बोटमै धान उम्रिने र ढलेको धान पनि उम्रिने खतरा हुन्छ’, उनले भने, ‘अझै खतरा टरिसकेको छैन।’ नरैनापुरमा वैैकल्पिक खेती गरिरहेका किसान असोज महिनाको बेमौसमी वर्षाबाट पीडित बनेका छन्। केही किसानले आलु खेती गरेका थिए। खेतमा पानी जमेर रोपिएको आलु खेतमै कुहिएको छ। 

अन्नको भण्डार भनेर चिनिने बर्दिया जिल्ला पनि जलवायु परिवर्तनको मारबाट अछुतो हुन सकेको छैन। गत वर्षको बेमौसमी वर्षाले जिल्लाका ८ स्थानीय तहमा जिल्ला विपद् व्यवस्थापन समितिले ५७ करोड ९६ लाख ७९ हजार ६ सय ४४ रुपैयाँबराबरको राहत माग ग¥यो। ठाकुरबाबा नगरपालिकाका लागि मात्र २ करोड रुपैयाँ आयो। सो रकम वितरण पनि भइसक्यो। अन्य सात स्थानीय तहका लागि ५५ करोड ९६ लाख ७९ हजार ६ सय ४४ रुपैयाँ त निकासा नै भएको छैन। 

राजापुर क्षेत्रमा त काटेर खेतमै सुकाइएको धान कर्णाली नदीले बगाएको थियो। यो वर्ष पनि बेमौसमी वर्षाले राजापुर क्षेत्रको धान खेती डुबाएको थियो। कर्णाली नदीको भेल राजापुर नगरपालिकाका विभिन्न वडामा पसेको थियो। क्षतिको विवरण भने अझैै प्राप्त नभएको कृषि ज्ञान केन्द्र बर्दियाका योजना शाखाका सन्तोष पाठकले बताए। ‘जलवायु परिवर्तनको असर केही वर्षयता धानबालीमा परिरहेको छ। अब किसानले जलवायु अनुकूलनअनुसारको धानको प्रजाति लगाउनु पर्छ,’ उनले भने।

उनले धानबाली नष्ट हुने मात्र नभएर जलवायु परिवर्तनका कारण कीरा र रोगको प्रकोप पनि नयाँनयाँ आउन थालेको यथार्थता दर्शाए। ‘विषादी छर्कँदा पनि कीटाणु नै नमर्ने भइसके। यो पनि जलवायु परिवर्तनकै असर हो,’ उनले भने। मकै बालीमा फौजी कीराको प्रकोप छ। वार्षिक वर्षा चक्रमा हेरफेर हुने, अतिवृृष्टि, अनावृष्टि, तापक्रममा घटबढ हुने, लामो समय खडेरी पर्ने कुरा जलवायु परिवर्तनका कारण हुन्छ। यसका कारण बाली छिटो पाक्ने तर कम पौष्टिक तŒव भएका हुन्छन्। त्यसैले किसानले जलवायु अनुकूलनको कृषि प्रणालीलाई आत्मसात् गर्न कृषि विज्ञको सुझाव रहेको छ। 

कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख सकिल अहमद जिल्लाको आठवटै स्थानीय तहमा ७ हजार ४ सय ६० हेक्टरमा लगाएको धान बाढीको डुबान र कटानमा परेको बताए। जिल्लाका ८ वटै स्थानीय तहमा विस्तृत घरधुरी सर्वेक्षण भइरहेको छ। स्थानीय पालिकाको नेतृत्वमा नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीले घरधुरी सर्वेक्षण गरिरहेका छन्। सर्वेक्षणको सम्पूर्ण तथ्यांक संकलन भइसकेपछि मात्र क्षतिको पूर्ण जानकारी आउने जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताए।

बर्दिया जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा यो असोजमा एक सातासम्म परेको अविरल वर्षाबाट क्षति भएको छ। क्षतिको पूर्ण विवरण भने आइनसकेको स्थानीय तहले जनाएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.