मोरङका ४ निर्वाचन क्षेत्रको मतगणना सुरु
विराटनगर: प्रतिनिधि र प्रदेश सभा सदस्य पदको मतदान पश्चात मोरङमा ४ निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ ।
विराटनगर–७ स्थित आर्दश माध्यमिक विद्यालयमा निर्वाचन क्षेत्र नं. ४, ५ र ६ तथा बेलबारीस्थित भगवती मा.वि.मा क्षेत्र नं. ३ को मतगणना सुरु भएको हो । आईतबार अबेरसम्म मतपेटिका संकलनको कार्य सम्पन्न नभएपछि सोमबारबाट गणना गर्ने सहमति गरिएको थियो ।
सोमबार बिहान बसेको सर्वदलीय बैठकको सहमति बमोजिम दिउँसो २ बजेबाट गणना कार्य सुरु भएको विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार प्रारम्भिक चरणमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक दुवै तथा प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्र (क) तर्फको दुवै मतपत्र गणना सुरु भएको मोरङका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले बताए ।
हालसम्मको प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचनमा मोरङ क्षेत्र नं. ६ को प्रत्यक्षतर्फ ११८ मतसहित नेपाली कांग्रेस अग्रतामा देखिएको छ ।
हालसम्म ३०० मतगणना हुँदा एमालेले ९२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४५ र राप्रपाले २३ मत प्राप्त गरेको छ । कुल ७ लाख २५ हजार ५३५ मतदाता रहेको मोरङमा भने ६४ प्रतिशत मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस !