लन्डन दूतावासमा सेना दिवस

लन्डन : बेलायतको लन्डनस्थित नेपाली दूतावासमा एक विशेष समारोहबीच नेपाली सेना दिवस मनाइएको छ । कार्यक्रममा बेलायत सरकार, बेलायती सेना, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि र सैन्य सहचारीहरू एवं बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिसमेतको सहभागिता थियो।
बेलायती सेनाका लेफ्टिनेन्ट जर्नेल रिचार्ड वार्डलले नेपाली सेनाले अन्तर्राष्ट्रिय स्तरमै गौरव गर्न लायक भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गरे। बेलायत तथा नेपालबीचको २ सय वर्ष लामो मैत्री सम्बन्धको केन्द्रमा रहेको २ देशका सेनाबीचको निकट सम्बन्ध तथा सहकार्य आगामी दिनमा थप सुदृढ बन्दै जाने विश्वास उनले व्यक्त गरे।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली सेनाले देशभित्र मात्र नभई संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमार्फत विश्वशान्तिका लागि खेल्दै आएको भूमिकामाथि नेपाललाई गौरव रहेको बताए। शान्ति मिसनमा सबैभन्दा ठूलो योगदान दिनेमा सेना दोस्रो स्थानमा रहेको उनले बताए। लन्डन दूतावासका सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदारले समारोहमा सहभागीहरूलाई स्वागत गरे। उनले विगतमा राजतन्त्रदेखि अहिले संघीय गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा पनि नेपाली सेना देशको शान्ति सुरक्षा र स्थायित्वका पक्षमा सधैं अडिग भएर उभिएको बताए।
नेपाली सेनाले देशमा भौतिक पूर्वाधार निर्माण, आपतविपतमा मानवीय सहायता, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनलगायतमा पनि सक्रियतापूर्वक खटिएको कर्णेल गोदारले बताए। समारोहमा नेपाली सेना दिवसको खुसीयालीमा एउटा केकसमेत काटिएको थियो। सो अवसरमा कलाकारहरू सपनकुमार राई, शर्मिला बर्देवा, सितु खरेल, बिनु गोदारलगायतले नेपाली गीतहरूमार्फत सांगीतिक मनोरञ्जन दिलाएका थिए। कार्यक्रम दूतावासकी उपनियोग प्रमुख रोशन खनालले सञ्चालन गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस !
