होली है, जोगिरा सररर ...

होली है, जोगिरा सररर ...

खाउपिउ मोजमज्जा गर भन्ने चार्वाकको सिद्धान्त वास्तविक अर्थमा फागुमा चरितार्थ हुन्छ । ‘ऋणम् कृत्वा घ्रितं पिवेत’ यसको मुख्य उद्देश्य हो ।

फागुलाई मदनोत्सव र वसन्तोत्सवको रूपमा मनाइने सदियौं पुरानो परम्परा छ। यसलाई सर्वश्रेष्ठ एवं सर्वोत्तम पर्व पनि भनिन्छ। सदियौंदेखि फागु पर्व मनाइँदै आएको तथ्य विभिन्न पुराणहरूमा वर्णित पाइन्छ। भविष्य पुराणमा यो उल्लेखित भएको पनि पाइन्छ। फल्गुन शालिवाहन क्यालेन्डरअनुसार वर्षको अन्तिम महिना मानिन्छ। वसन्त ऋतुमा पुरानो पातहरू र नयाँ पातहरू नयाँ पल्लवको साथ वसन्तको स्वागतमा तम्तयार भएको देखिन्छ। पौराणिक कथनअनुसार शिव क्रोधित भएर आफ्नो त्रिनेत्र खोलेर कामदेवलाई भष्मीभूत गरेपछि निज कामदेव अनंग भए।

आर्यहरूको वसन्तोत्सवको रूपमा मनाउने यो होलीको धेरै पुरानो परम्परा अद्यापि जीवित छ। यस चाडपर्वमा रंग, अबिर, गुलाल र हिलोको प्रशस्त प्रयोग हुने गर्छ। मथुरामा होलीको उत्सव मनाउने परम्परा छ।

अर्को कथनअनुसार जुन श्रीमद्भागवत गीतामा उल्लेखित छ, पुतना आफ्नो विषैला स्तनबाट श्रीकृष्णलाई दूध चुसाएर मार्न तम्सिएकी तर कृष्णले यस्तो जोडले लात हान्छन् कि पुतना मर्छिन्। यस सम्बन्धमा अर्को कथन के छ भने उसको शरीर विलिन हुन्छ तर मथुराका ग्वालवाल उसको मृत शरीरलाई जलाउँछन्। त्यसैदिनदेखि मथुरामा होलीको उत्सव मनाउने परम्परा छ। यसको उत्पत्तिको कथा जेसुकै भए पनि आदिवासीले यसलाई अग्नि पूजाको रूपमा मनाउने विश्वास छ।

आर्यहरूको वसन्तोत्सवको रूपमा मनाउने यो होलीको धेरै पुरानो परम्परा अद्यापि जीवित छ। यस चाडपर्वमा रंग, अबिर, गुलाल र हिलोको प्रशस्त प्रयोग हुने गर्छ। वास्तवमा ‘फालोन’ संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ हुन्छ– रातो अबिर, कुमकुम र सिन्दूर जसबाट यो पर्व खेलिन्छ। यो साम्प्रदायिक सद्भावको पर्व हो र यसमा जातजातिको भेद गरिँदैन। उचनिचको भेद गरिँदैन। धनी गरिबको भेद गरिँदैन। पहिलो दिन, अग्नि, अर्को दिन धूलो र तेस्रो दिन रंगोत्सवको रूपमा मनाइने परम्परा आज पनि जीवन्त छ। गाउँलेहरू होलिका दहन गरेपश्चात् बाजागाजाका साथ फागुको लोकगीत गाउँदै गाउँभरि परिक्रमा गर्छन्। यसमा अश्लील फागु लोकगीत पनि गाइन्छ। तर यसको कसैले वास्ता गर्दैन किनभने भग या योनि पूर्वाफाल्गुनी तारामण्डलको प्रकाशपुञ्ज अर्थात् फागु पूर्णिमाको दिनमा देवीको पूजाआजा पनि गरिन्छ। यहीँबाट कामोत्तेजक र अश्लील लोकगीत गाउने परम्परा प्रारम्भ भएको बुझिन्छ।

प्रारम्भकालीन मानिसहरूको आदिम प्रवृत्ति जसलाई कामवासना पनि भनिन्छ। यस कामवासनाको उद्रेक पनि हुन्छ। मानिसको कुण्ठित र दमित यौन भावनाको उत्पत्ति यस उत्सवमा भएको पाइन्छ। यसलाई प्रसिद्ध दार्शनिक फ्रायडले ‘लिबिडो’ भनेका छन्। यो चाडपर्व दुई दिनसम्म मनाइन्छ। पहिलो दिन होलिका दहन र अर्को दिन रंग अबिर खुलेर प्रयोग हुन्छ। पन्ध्रदिने परिक्रमाको आठौं दिनमा कञ्चन वनमा राम र सीताले यो होली उत्सव मनाएकाले र यो परिक्रमापश्चात् धार्मिक अनुष्ठान गर्नेहरूले विश्राम लिने भएकाले पूर्णिमाको दिनमा मधेसमा यो पर्व मनाइँदैन। यसको भोलिपल्ट यो पर्व उत्साह उमंगको साथमा सम्पूर्ण तराई मधेसमा मनाइने चलन छ। होली पर्वमा प्रार्थना पनि गर्ने परम्परा छ। जुन यस प्रकार छ :

    होलिके पूजयामी त्वां सर्व सौख्य प्रदायिनिम् 
    अर्चितासी महाभागे देहयायुधन सम्पदः 
    फाल्गुसंज्ञे नमोदेवीः नमस्तेस्तु शिशु प्रिये 
    वर्ष यावद विशुद्धयर्थ गृहाणाध्र्य मिदं मम 
    यन्मया शीतभितेन विरुद्धा चरणं कृतम् 
    तत्पातक विशुद्धयर्थ होलिके त्वं क्षमापये।

फागु वैश्य समुदायको सबैभन्दा सरस र सुन्दर चाडपर्वहरूमा पर्छ। यो पर्व सबै जातजातिमा समान रूपमा मनइने सदियौं पुरानो परम्परा हो। वैश्य समुदायमा पनि सबैभन्दा महŒवपूर्ण पर्वको रूपमा यसलाई मनाउने गरिन्छ। वैश्य समुदाय स्वाभावतः शाकाहारी हुन्छ किनभने यिनीहरू तामसी भोजनको सट्टा शाकाहारी र सादा भोजन गर्ने गर्छन्। फागु शाकाहारी र मांशाहारी दुवैका लागि एउटा रम्य एवं रमाइलो पर्व मानिन्छ। यस पर्वलाई सम्पूर्ण तराई–मधेसमा फागुआ, फागु र होली तथा होरीको रूपमा बडो उत्साह एवं उमंग साथ मनाइन्छ।

फागुमा बाल होस् वा वृद्ध, सबै समान रूपमा सहभागी हुन्छन्। यो मोज–मज्जा र मासु मदिरा प्रधान पर्व भएकाले कहिले पनि रक्सी नखाने मानिस रक्सी खानमा पनि पछाडि पर्दैन। रक्सी नखाने मानिस भाङ, गाँजा र कुसमा पिउने गर्छ किनभने नशाको अनुभव भएन भने फागुको मज्जा नै आउँदैन। नशामा एक दिन वर्षभरिमा आफ्नो सालभरिको मनोग्रन्थी, काम कुण्ठा, विषय वासना बिर्सेर वास्तविक आनन्दानुभूति गर्ने पर्व हो फागु। यो पर्व सबै तह र तप्काका मानिसका लागि मनोरञ्जनको साधन हो। वर्षभरिका दुःख, दर्द, वेदना र व्यथा बिर्सेर मानिस दिल खोलेर आनन्दको अनुभूति गर्न चाहन्छन्।

तसर्थ यस्तो गीतको गेडा दोहोर्‍याउँदै रसपान गर्नका लागि व्यग्र हुन्छन्। गीतको गेंडालाई यसरी अग्रसारित एवं अभिव्यक्त गरिन्छ, ‘बुरा न मानो होली है... अर्थात् यसमा मनको बह स्वच्छन्दतापूर्वक व्यक्त गरिन्छ। वर्षभरिको कुण्ठाग्रस्त मनलाई बहकिने र व्यक्त गर्ने खालको यो पर्व तरुणतरुणीका लागि सबैभन्दा मनोरञ्जन प्रदान मौका प्रदान गर्छ। यो पर्वलाई वैश्य समुदायका तरुणतरुणीहरू भेलेन्टाइन डेका रूपमा मनाउने गर्छन्। काम भावनाको विसर्जन संयमपूर्वक गर्ने सुअवसर हो। अश्लील गीत गाएर होस् कि अश्लील भागभंगीमा प्रदर्शन गरेर होस् वा कामवासनामा लिप्त भएर होस्, यस पर्वलाई लोकप्रिय पर्वको रूपमा मनाइन्छ। मनोग्रन्थीलाई मलजल नदिएर यसलाई खुलमखुल्ला छुट दिइन्छ।

तराई–मधेसमा बसोबास गर्ने वैश्य समुदायका मानिसहरू फागुको एक दिन पूर्व ब्रह्मबेलामा नै सम्मत जलाउने परम्परा सदियौंदेखि आजसम्म जीवन्त छ। सम्मत जलाउनेको प्रतीकात्मक अर्थ के छ भने आपसी मनोगत भावनालाई छुट दिइने, आपसी मतभेदलाई बिर्सिने, झैंझगडा जालझेलको पर्दाफास गर्ने, मतभेदलाई बिर्सिने, पारस्परिक ईष्र्या द्वेषलाई परित्याग गरेर प्रेमको प्रेमिल धारमा संलग्न हुने काम हुन्छ। यसरी बिहानदेखि बेलुकासम्म रंग अबिर एकआपसमा खेल्ने, मुखमा अबिर दल्ने र शरीरभरिमा रंगको होली खेल्ने गरिन्छ। यो प्रेम, स्नेह, सौहाद्र्र, सौजन्यले समन्वित सन्देश आफ्नो समुदाय, समाज र देशमा सम्प्रेषित गर्ने, मासु र मदिराको अत्यधिक सेवन गर्ने र एकआपसमा आनन्द मनाउने काम गर्छन्। हरियो र रातो रंगको प्रयोग पिचकारीबाट गरिन्छ। साली र भाउजूको संवेदनशील अंगमा रंगको पिचकारीको प्रहार गरेर मोजमज्जाको आनन्दानुभूति गर्ने काम पनि यस दिन हुन्छ। वास्तवमा यस पर्वको प्रारम्भ वसन्तपञ्चमीदेखि नै रंग र अबिरको प्रयोग गरेर गरिन्छ। यसै दिनदेखि फागुगीतको सरस स्वर लहरीले ग्रामीण जीवनमा सरसता घोल्ने गरिन्छ।

सम्मत जलाएको ठाउँबाट खरानी शरीरमा दलेर रंग अबिरबाट सम्पूर्ण शरीर सरोबरी पारेर होरी लोकगीत गाउँदै सम्पूर्ण गाउँको परिक्रमा गर्ने क्रममा घरघरमा गएर रंग अबिर खेल्ने गरिन्छ। ठूलाठालुको दलानमा गएर होरी लोकगीत गाउँदै झाल, डम्फु र ढोलकको तालमा लोकगीत गाउँदै बिहानदेखि बेलुकासम्म यो पर्व मनाइने परम्परा आज पनि छ। होरी लोकगीतको गबैया (गायक)हरू आआफ्नो टोलीमा रंग अबिर खेल्दै लोकगीत गाउँदै हिँडेपछि थकान पनि महसुस गर्दैनन्।

गाउँभरिको कुडा कर्कट, झारपात, सडेगलेका फोहोर, पुरानो झुपडी, काम नलाग्ने काठ, दाउरा सबै एक गाउँमा जम्मा गरेर जलाइन्छ। यसले गर्दा गाउँको पर्यावरण स्वच्छ र सफा हुन्छ। माछा, मासु, मदिराको साथसाथै मालपुवा, दम, अनेक किसिमका मिष्ठान्नको मधुर भोजन गरेर यो पर्व मनाइन्छ। यो पर्व वास्तवमा वैश्य समुदायका लागि दसैंभन्दा कम हुँदैन। खानपिन र मोजमज्जाको यस पर्वलाई मनाउन मानिस मन फुकालेर खर्च गर्न पनि पछाडि पर्दैनन्। ऋण लिएर पनि यो पर्व मनाइन्छ।

खाउपिउ मोजमज्जा गर भन्ने चार्वाकको सिद्धान्त वास्तविक अर्थमा फागुमा चरितार्थ हुन्छ। ‘ऋणम् कृत्वा घ्रितं पिवेत’ यसको मुख्य उद्देश्य हो। यस पर्वमा गाइने लोकप्रिय लोकगीतका केही प्रथम पंक्तिहरू ः यमुना तट श्याम खेले होली, 

जनकपुर रंग महल होली, शिव मठ पर शोभे लाल धजा, नकबेसर कागाले भागा सैंया अभागा नजाना आदि। यस गीतबाट के प्रस्ट हुन्छ भने यो होली पर्व धेरै लोकप्रिय पर्वको रूपमा सम्पूर्ण तराई मधेसमा मनाइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.