परिणामको प्रतीक्षा

संसद्ले प्रधानमन्त्रीलाई सानदार रूपमा विश्वासको मत दिएको छ। सरकारको घडीको सुई पनि सोमबारदेखि चल्न थालेको छ।
अब यो गठबन्धनले परिणाम देओस् भन्ने चाहने हो भने यसको स्थिरतामा जोड दिनुपर्छ। कसैले पनि शंका व्यक्त गर्न नसक्ने बनाउनुपर्छ।
त्यसका लागि कुन दल, को कहाँबाट आयो भनेर हैन कि आजको यथार्थअनुसार चल्नुपर्छ। अर्थात्, संसद्भित्र कुन दलको अंकगणित कस्तो छ ? त्यसको आधारमा मात्र आफूलाई प्रस्तुत र दाबी पेस गर्नुपर्छ।
यो प्रकारको मन बनाउन सक्यौं, सुत्र वा सिद्धान्त जे बनाउँछौं, त्यसकै सेरोफेरोमा गठबन्धन सजिलोसँग अघि बढ्छ। ‘हजुरबाको पालामा घ्यु खाएको थिएँ अहिले हात सुँघ–सुँघ’ भन्न थाल्यौं भने अप्ठ्यारो हुन्छ। त्यसले समस्या ल्याउँछ। अप्राकृतिक हुन्छ। अप्राकृतिक वा अस्वाभाविक काम भयो भने त्यसको परिणाम समस्या नै हो।
गठबन्धनका दलले यो कुरा बुझ्न जरुरी छ। विश्वासको मत दिएका सबै दललाई सरकारमा कसरी समेट्ने वा मन्त्रालयको टुंगो कसरी लगाउने भन्नेमा गठबन्धन दलबीच समझदारी आवश्यक छ। त्यसका लागि सैद्धान्तिक सहमति गर्नुपर्छ।
त्यसो हुन सके कुन मन्त्रालय कुन दलले लिने भन्ने विषय अघि बढ्छ। मन्त्रालय भागबन्डाको विषय गाह्रो छ। किनभने, दल धेरै छन्, मन्त्रालय थोरै छन्। अब मन्त्रालयहरू लामो समय नेतृत्वविहीन राख्नु हुँदैन। समयको दबाबलाई पनि हामीले ध्यान दिनुपर्छ।
विश्वासको मत दिएका सबै दल सरकारमा सहभागी हुन चाहेका छन्। केही दलका विषयमा प्रधानमन्त्रीले नै टुंगो लगाउनुहोला। मन्त्रालय भागबन्डाबारे गठबन्धनका नेताहरूबीच छलफल सुरु भएको छ। दलभित्र पनि छलफल चलिरहेका छन्।
पार्टी–पार्टीबीच पनि छलफल हुन्छन्। सबै दलमा मन्त्री बन्न चाहने आकांक्षी धेरै छन्। त्यसकारण मन्त्रिपरिषद् विस्तारले अरू केही दिन लिन सक्छ।
कांग्रेसमा पनि आकांक्षी धेरै छन्। तर, सबैले दाबी गर्न थाल्यौं भने असुहाउँदो हुन्छ। कांग्रेसका तर्फबाट जो जानुहुन्छ, अर्थ मन्त्रालयको नेतृत्व लिनुहुन्छ। यसमा प्रस्ट छ। जसले सरकारको नेतृत्व गर्नुहुन्छ उहाँले सिंगो पार्टीलाई प्रतिनिधित्व गर्नुहुन्छ। एक जना सांसद र पार्टी कार्यकर्ताका रूपमा सुझाव दिने ठाउँमा म रहन्छु।
परिणाम दिन, नयाँ ढंगले काम गर्न, हामी नै सरकारमा सहभागी हुनैपर्छ भन्ने छैन। तर, सांसद वा पार्टीको कार्यकर्ता भएर पनि प्रधानमन्त्रीलाई सहयोग गर्न सक्छौं। मैले मेरो दलका नेताले गरेका निर्णयलाई मान्नुपर्छ। सहयोग गर्नुपर्छ। पार्टी सभापतिजी सबैसँग छलफल गर्नुस्।
मैले उहाँलाई न्यायोचित ढंगले हेर्नुस् भनेको छु। कोही ४–५ पटक मन्त्री बन्ने, कोही जीवनभर अवसर नपाउने हुनु भएन। मन्त्री छनोट गर्दा सन्तुलन दृष्टिकोणले हेर्नुपर्छ।
प्रधानमन्त्री अब सुधार गर्न र परिणाम दिन तयार हुनै पर्छ। गठबन्धन जोगाउनेभन्दा पनि परिणाम दिनेतर्फ दृढ भएर प्रधानमन्त्री क्रियाशील हुन जरुरी छ।
यदि प्रधानमन्त्रीले नै परिणाम दिन चाहनु भएन भने त हाम्रो मात्रै केही लाग्दैन। १० मन्त्रालय आफैंसँग राखेर जेनतेन चलाइराख्ने हो भने पनि कसको के लाग्छ र ? मन्त्रीले मात्रै चाहेर पनि केही हुँदैन। प्रधानमन्त्रीले गति दिन र परिणाम दिन प्रण गर्न जरुरी छ। त्यसकारण परिणाम दिने विषयमा प्रधानमन्त्री नै प्रतिबद्ध हुन जरुरी छ।
पार्टी र नेताको हिसाबकिताब जनताले राख्छन्। जनताको परीक्षामा खरो उत्रन सक्यौं भने मात्रै हामी सफल हो। नभए हामी असफल हुन्छौं। देशमा ठुल्ठूला राजनीतिक परिवर्तन भए। तर, गुजाराका लागि युवाहरूले देश छोड्नुपर्ने अवस्था फेरिएन।
अर्कोतिर मुलुकको अर्थतन्त्र संकटमा छ। घरमुलीलाई आफ्नो थैली कस्तो छ भन्ने थाहा भएन भने त्यो घर कंगाल हुने बाटोमा जान्छ। यो बेला मेरो थैली कस्तो छ भन्नेबारे सरकारलाई बोध नभएको हो कि जस्तो लाग्छ। राज्यका ठूला संरचना छन्। यो सबैका बारेमा जस्तो चिन्ता हुनुपर्ने हो त्यस्तो देखिएको छैन। सामान्य जनजीवन व्यतित गर्न पनि ऋण माग्नुपर्ने हो कि भन्ने अवस्था छ। यस्तो अवस्थामा पुग्दा पनि केमा खर्च भन्ने विषयमा ध्यान दिएनौं भने अर्थतन्त्र झनै जटिल बन्दै जान्छ। यो विषयमा घरको मूली सचेत हुनुपर्यो।
प्रतिक्रिया दिनुहोस !
